3rd December | 2020 | Thursday | 3:26:48 AM

व्यङ्ग्य : ऊ जोईटिङ्ग्रे होइन नारीवादी

सार्थक शर्मा   POSTED ON : कार्तिक ९, २०७७ (९:०८ AM)

व्यङ्ग्य : ऊ जोईटिङ्ग्रे होइन नारीवादी

श्रीमती भन्दा सखारै उठेर किचेन सेवामा आधा घण्टा विताउनु उसको जोईटिङ्ग्रे आदत हो र ? न ३ बर्षकी छोरी अनि उसको छोरीकी मामुलाई विहानको चिया ओछ्यानमै पुर्याउनु उसको जोईटिंग्रे आदत हो । यो त उसको कर्तव्य हो नी, बाबा छोरी निदाएपछि आधारातसम्म मोबाइलमा लम्पट श्रीमतीलाई विहान उठ्न कठिन हुने कुरा बुझेर त्यही अनुरुपको व्यवहार गर्नु एउटा असल श्रीमान उपाधि सासुमाले भिराइदिए देखिनै ऊ मख्ख छ । आधा घण्टामा आफ्ना विहानका काम सकेर कलेज पढाउन धाउनु उसको जिम्मेवारी नै हो नी । तीन ठाउँका ५ ओटा कक्षा सकाएर बजारका रहलपहल तरकारी बोकेर लखतरान शरीर कोठा भित्र पस्दा असिरल्ल ओछ्यान मिलाउनु, छोरीले राति आची शु गरेका थाङ्ना बाथरुम तिर हुत्याउनु बेलामौकामा धोइपखाली गर्नु उसको जोईटिङ्ग्रे आदत हो र ? आखिर छोरी प्रतिको बावुको पनि जिम्मेवारी हुन्छ नै । कुनै दिन कथमकदाचित ५, १० मिनेट छिटो कोठा आइपुगि हाले, “आज त चाँडै आउनु भएछ, मैले त केही गर्न भ्याकी पनि छैन, नानी पनि म सँगसँगै उठिहाली“ भन्दै उसकी पियारीले भन्दा किचेनमा पसेर खाना पकाउनु के उसको कमजोरी हो र ? आखिर बेलुका सधैँ खाना पकाउने आदत छदै त छ उसको । त्यतिमात्र कहाँ हो र दिनहुँका श्रीमतीका टिकटकका अभिनय हेर्दिनु बेलाबखत त जानी नजानी अभिनय गरिदिन पाउँदा ऊ झन् मख्ख छ ।

ऊ जोईटिङ्ग्रे हुँदै होइन, न स्त्री लम्पट नै हो, कसले भन्छ उसलाई जोईटिङ्ग्रे ? उसलाई जोईटिङ्ग्रे भन्नेहरु परिवर्तन विरोधी हुन् भन्ने उसको बुझाइ छ । त्यसो भन्नेहरु महिला अधिकारका बाधक हुन् भन्न सम्म भ्याउँछ उसले । हुन पनि हो परिवर्तन यसै कहाँ होला र  । उसले सधैँ भन्ने गर्छ, म  नारी उत्थान तथा समान अधिकारका लागि पढेलेखेको व्यक्ति हूँ ।  नारी अधिकारका लागि २, ४ ओटा लेख लेखेको छु । महिला अधिकारका लागि बोलेको छु । गाउँमा महिला उत्थानका लागि कतिवटा संघसंस्थामा सामेल भएको थिए । अहिले पनि महिला हिंसाका विरुद्ध शहरका आन्दोलनमा होमिएको छु । समाज परिवर्तन र रुपान्तरणका लागि अनवरत घरबाटै परिवर्तन गर्न दत्तचित्तले जुटेको छु । आदि प्रायः उसँगको भेटमा सविस्तार उसले पोख्ने गरेका कथाहरु हुन् ।

एक्ली आमाको एक्लो छोरो, एक्ली आमालाई गाउँमै थन्क्याएर बाँकी पढाइ अनि जागिरका लागि शहर पसेको उसले आफ्नो कर्तव्य भुलेको छैन । नेपाली समाजको ग्रामीण परिवेश कहाँ भुलेको छ र, क्षणक्षणमा संझि रहेको हुन्छु, भन्छ । बेलाबेला आमालाई फोन गर्छ रे पटक पटक घर आओ भनेर आमाले बोलाइ रहँदा कहिले काँही आमा भेट्न जान्छु पनि भन्छ । आमाले मलिन स्वरमा किन बाबु बुहारी, नातिनी नलिइ आइस् ? “ भन्दा बुहारी आउन मानिनन् भन्न नसकेर बुहारीको नभएको अफिस छुट्टी भएन भनेर ठाँटिदिएको सुनाउँछ । अचेल फोनमा आमाले “कहिले आउँछौ तिमेरु ?  आमाको सधैँको त्यही भनाइले फोन गरिरहन हिम्मत गर्न नसकेको बताउँछ । उनलाई “फोन गरन आमालाई“ भन्दा “तिम्री आमाले फोन उठाउनु परो नी“ भन्छिन् रे । हुन पनि हो भन्ठानेर आफैँ चुप हुनु शिवाय के नै गर्न सक्छर ऊ महिलावादी न परो । अलि खरो गरि उनलाई जवाफ फर्काउन नसक्ने त हूँ नी कहाँ म स्त्री लम्पट हूँ र भन्छ ।  उनकी आमाले छोरीसँग साँझपख दिनहुँ भिडियो कल गर्दा बेलुकाको किचेनको जिम्मेवारी सम्माल्दै ऊ सम्झन्छ आखिर गल्ति त मेरै आमाको त हो बुहारीले फोन गरेको समयमा फोन नउठाई दिने ।

फोन फुर्सदमा उठाउने बस्तु हो र ? गल्ति आमाकै हो । बुहारी गल्ती छैन । उनलाई पनि के थाहा मेरी आमा दिनभरी खेतमा नंग्रा खियाउँदै हुन्छिन् भन्ने । मोबाइल त के आमालाई पानी खानेसम्म फुर्सत हुन्न भनेर । पोहोर दशैंमा लगिदिएको सानो पुन्टुरे मोबाइल हराउने डरले थाङ्नामा गुट्मुटिएर सिरान मुनी हुन्छ भन्ने  । साँझ अबेर बस्तुबाख्राको थान्कोमुन्को सकेर नातिनीसँग बोल्न मन लाग्दा मोबाइल झिकिने न हो । त्यो पनि चार्ज छ भने । चार्जमा राखिदिन पनि पल्लाघरको भतिजलाई नगुहारी कहाँ होला र । आमा नातिनीसँग बोल्दा “नानी म तिम्री बुढी आमा बोलेको भन्नु हुन्छ “ यता नातिनी “बाबाको आमा“ भन्छिन् हाम्रो स्कुलिङ्, घरकी आमा बाबाकी आमा रे, अझ “एक्ली आमा“ सम्म भन्न भ्याउँछिन् छोरी । मामा घरको आमा उनको मात्र आमा रे, अर्काले मेरो आमासम्म भन्न नहुने, रुन थाल्छिन् । आखिर हाम्रै स्कुलिङ न हो । गल्ति यहाँ अवोध बालिकाको छ होला र । आफुले आफैलाई प्रश्न गर्न पुग्छ ऊ ।

अरुका झै उसका पनि चाडबाड आउँछन् । अझ उनको त माता औंशी, पिता औंशी आउनु भन्दा महिना दिन अघि नै किनमेल शुरु हुन्छ । त्यत्तिमात्र कहाँ हो र परम्परादेखि चल्दै आएको रीतिरिवाज साउने, माघे सक्रान्ति, असार र साउनको पन्ध्र, जनाई पूर्णिमा, तीज ओहोरदोहोरमै समय वित्छ । उता आमालाई कहिले आयो माघे संक्रान्ति कहिले गयो साउन पन्ध्र पत्दै हुँदैन । यता बुहारी ब्यूटिपार्लरमा गाला चिल्याउन जाँदा उता आमा गाईलाई घाँस काट्न कुन पाखो चिल्याउँदै गरेको हुनु हुन्छ । पोहोर दशैंमा बुहारीले फर्किन झोलाझाम्टा कसेपछि “शहरमा बस्न सक्नु हुन्छ भने हिड्नु हामीसँगै“ भन्दा अहिले तिमेरु जाओ भन्दै नातिनीलाई रुँदै फेरि चाँडै आउ है नानी म एक्ली आमालाई भेट्न भन्नु भएको थियो रे ।

विचरा बुहारीलाई जतिखेरै लोग्नेकी आमालाई फोन गरिरहने फुर्सत पनि कहाँ होला । दैनिक काम धन्दा, साथीसँगको च्याटिङ अझै अहिले लकडाउनदेखि शुरुभएको छ टिकटक, त्यसलाई पनि समय दिनै पर्यो । दिनको एकदुई ओटा टिकटक हालेन भने फलोअर्सले फोन नै गरेर सोध्छन् रे । ३० सेकेण्डको टिकटिकका लागि १ घण्टा मेकअप गर्नु पर्यो ।  धन्न यसपाली सरकारले कोरोना महामारीको जोखिम देखाउँदै दशैंमा बुढाबुढीको हातको टीका थाप्न शहरबाट गाउँ नजानु कोरोनाको जोखिम हुन्छ भन्दियो भन्दै ऊ फुरुंग छ । उसले एउटा गलितो निहुँ पाएको छ ।




Views: 162