6th December | 2020 | Sunday | 3:53:06 AM

अमेरिकी राष्ट्रपति ट्रम्पका ‘फेक न्यूजहरू’ र अहिलेको चुनाव

रामप्रसाद खनाल   POSTED ON : कार्तिक १६, २०७७ (१०:२२ AM)

अमेरिकी राष्ट्रपति ट्रम्पका ‘फेक न्यूजहरू’ र अहिलेको चुनाव

यसभन्दा अघिको अमेरिकी राष्ट्रपतीय निर्वाचनमा डोनाल्ड ट्रम्पले १० प्रतिशत ल्याउने र हिलारी क्लिनटनले ९० प्रतिशतसम्म मत ल्याई जित्ने सम्भावना छ भनेर जनमत सर्वेक्षण डाटा सार्वजनिक गरेकोमा ९५ प्रतिशत अमेरिकी मिडियाहरू अहिले फेरि ट्रम्पलेभन्दा जो बाइडेनले ६ देखि १२ प्रतिशतको मतान्तरले जित्ने भन्दै जनमत सर्वेक्षण डाटा सार्वजनिक गर्दा मलाई ट्रम्प वा बाइडेन जसले जिते पनि अमेरिकी मिडियाहरूले विश्वसनीयतामा फेरि अघिल्लो पल्टजस्तै नहारे हुन्थ्यो भन्ने लागेको छ । अमेरिकी पत्रकारहरू र मिडियाहरू अहिले यति वायस छन् कि यिनीहरूले दिउँसै रात पार्ने कोसिस गरिरहेका छन् । मिडियाहरू कोही डेमोक्र्याटिक पार्टीका त कोही रिपब्लिकन पार्टीका मुखपत्र बनेका छन् । 

नेपालमा होस् या यहाँ अमेरिकामा पनि, लामो समयदेखि पत्रकारिता गर्दै आएको, छापा पत्रकारितादेखि रेडियो, टेलिभिजन हुँदै अनलाइन पत्रकारितामा तीन दशकभन्दा बढी बिताएकाले होला मलाई पत्रकारिता र पत्रकारहरूले यसपटक पनि विश्वसनीयता नगुमाए हुन्थ्यो भन्ने समवेदना जागेको छ ।

अमेरिकाको अहिलेको पत्रकारिता हेर्दा हाम्रो नेपाली पत्रकारिता धेरै स्वतन्त्र रहेछ, हामीले गरेको पत्रकारिता स्तरीय रहेछ भन्ने महसुस पनि भएको छ । ९५ प्रतिशत अमेरिकी मिडियाहरू ट्रम्पका विरुद्ध प्रयोग भइरहेका देखिन्छन् । 

म आफू पत्रकारिताको विद्यार्थी पनि भएकाले होला म अलिकति नलेज राख्दछु । संसारमा मिडिया जगत् र पत्रकार जगत्सँग यसरी चुनौती दिएर फेक न्यूज भन्दै ललकार्दै आफूलाई प्रस्तुत गर्ने राष्ट्रपति ट्रम्पभन्दा बाहेक मैले अर्को कुनै यत्तिको हिम्मती र ज्याद्रो मान्छे कोही देखेको छैन । ९५ प्रतिशत अमेरिकी मिडियाहरूलाई फेक न्यूज भन्न सक्ने यिनै प्रथम र अन्तिम अमेरिकी राष्ट्रपति होलान् जस्तो लाग्दैछ । यिनको यो हिम्मतलाई भने म मान्दछु ।

मताधिकार भएकाले आपूmलाई मन परेको उम्मेदवारलाई मत दिनुस्, फेसबुकमा हामी यो र त्यो भनेर उफ्रिनुको कुनै तुक छैन नेपाली मित्रहरू । जसले चुनाव जित्छ ऊ राष्ट्रपति हुन्छ, जसले हार्छ त्यो उम्मेदवारले हार स्वीकार गर्दै बधाई दिन्छ, हात मिलाउँछन् कुरो सकिन्छ । हामीलाई बिना सितैको केको ट्यान ट्यान । 


Views: 99