मलाई धेरै दिनदेखि यो प्रश्नले माथा गरम गराई रहेको छ । आफू सरकारमा बस्ने मुलुक चलाउने शासनशक्ति हुकुम हातमा लिने जनताको जिम्मा नलिने, जनताले जनताकै लागि आपदविपदमा र भोकमा खाना खुवाउँदा
‘जनताबाट जनतालाई खाना खुवाउँदा सरकारलाई लाज भयो खुलामन्चमा खाना खुवाउन पाइँदैन रोक’ भनेर सरकारले मेयरमार्फत रोक्न लाउँदा ढाकिने लाज एकजना छोरीले फेसबुकमा लेखेको देखेँ ‘स्तनको लाज छोप्न पेटिकोट उठाए जस्तो गरी’ सरकारको लाज ढाकिन्छ ?
पटक–पटक अदालतले यो सरकारलाई आदेशबाट सचेत गराइरहेकै छ निःशुल्क उपचार गराऊ, अदालतको आदेश पनि नमानेर कानुनको धज्जी उडाउने सत्तामा बसेर मुलुक डुबाउने गर्दा कुन चाहि यश छ र लाज ढाकिन्छ सरकार ? जनताले दिएकै हुन् पाँच वर्ष चलाउन तर चलाउन आफू नसक्ने अनि दोष अरूलाई लगाउने ? यो कुन लाज बचाउन सरकार ?
नेपालमा शासन गर्ने छिमेकीको शरण पर्ने, मुलुकको राष्ट्रियता र अस्मिता दुष्मनको पाउमा भक्ति स्वरूप बिसाउने ? होइन भने सीमाबारे के कुरा ग¥यौँ ? अहिलेसम्म के जनतालाई जानकारी दिनु पर्दैन ? रअ प्रमुख पनि आए सेनाध्यक्ष आइरहेका छन् । हामी र हाम्रो सार्वभौम राष्ट्रमा । यही सेनाध्यक्ष होइन नेपालको जमिन मिचेको छैन भारतको आफ्नै जमिनमा सडक बनाएको हो भन्ने ? कि अर्को कोही हो ? मान्छे आएर जाने, कुरा चाहिँ पछि गरौँला भन्ने ? के हो नियत नक्कली चुनावी राष्ट्रवादीको ?
कि फेरि आउने चुनावलाई नक्शा बनायौँ, कुरा चलायौँ, भनेर फेरि ढाँट्ने मसला बनाउन साँचेको ? नत्र खोइ त नक्शाको कुरा ? कागज बनाएर थपक्क बसेर, सरक्क मिचाहाले छाडिदिन्छ ? कि आउने चुनावको बेलालाई भनसुन गरिराखेका छौ, फेरि नक्कली राष्ट्रवादको नाराले प्रभुको क्रिपामा चुनाव जित्न ? होइन भने लाहुरे मायाको चाउरे पिरती किन चलिराको छ यहाँ ? देखादेखी ।
भित्रभित्र लिपित्त, बाहिर बाहिर जनतासँग चिप्लित्त यस्ता तिम्रा रामतोरिया तरकारी कुरा अब जनता खानेवाला छैनन् । जब मुलुकको सवाल उठ्छ अनि पार्टीभित्रको कचिंगल निकालेर राष्ट्रिय सवाल छायामा पार्ने ? तिम्रा आन्तरिक कुरा अन्तरमै गर तर राष्ट्रिय सवालका कुरा छायामा पार्नलाई यी जालप्रपञ्च नरच फट्याइँ धेरै भइसक्यो । अब तिमीहरूको यस्ता षड्यन्त्र नबुझ्ने जनता धेरै छैनन्, बहुसंख्यकले बुझ्छन् अबत । तिम्रो लाज कहाँ छ ? जब छिमेकी आउँछन् जान्छन् अनि घरभित्रका चिच्याउन थाल्छन्, यसको अर्थ के मुलुक हाम्रो हुकुमी तालुक अरूको ?
सरकारलाई कुनै अधिकार छैन । सरकारमा बसेर संविधान र कानुन मिच्ने सरकार किमार्थ जनताको हुन सक्दैन हेक्का राखे हुन्छ । जनताको मौनतालाई समर्थन सम्झनु मूर्खता हो । भुसको आगो कति खेर राँको हुन्छ भन्न कोही सक्तैन यो पनि नबिर्सौं । आन्तरिक किचलोले र महŒवाकांक्षाले मुलुको समग्र उन्नतिमा भाँजा नहालौँ नेकपाको कुरा नेकपाभित्रै निम्ट्याऊँ, बाहिर नचिच्याऊँ, यतिखेरको कोरोनाको रापमा अरू धेरै ताप नथपौँ अति नै जलेर राँको लाग्यो भने त्यही राप र तापमा सरकार मात्र होइन पार्टी र पद्धति पनि जलेर सखाप हुनेछ । त्यसैले गम्भीरतापूर्वक राप, ताप र सखापलाई ख्याल गरौँ । बेलैमा चेतना भया ।
सुरेशकुमार भट्ट
पूर्वउपाध्यक्ष
प्रजातान्त्रिक विचार समाज ।
Views: 448