27th January | 2021 | Wednesday | 6:06:37 PM

ओलम्पिकमा छानिएपछि गोपीचन्द्र पार्कीको घर र गाउँमा खुुशीयाली

सीताराम ओझा र प्रदीप पाठक   POSTED ON : मंसिर ९, २०७७ (८:०१ PM)

ओलम्पिकमा छानिएपछि गोपीचन्द्र पार्कीको घर र गाउँमा खुुशीयाली

धनगढी । धनगढी उपमहानगरपालिका वडा नम्बर ९ को एउटा गाउँ गौरीपुर । भारतसँग सीमा जोडिएको मोहना नदीले छुट्टाएको छ उनको गाउँको सीमा । वडा नम्बर ९ अधिकांश पहाडतिरबाट बसाई सरी आएका र राना थारु समुदायको बाक्लो उपस्थिति । त्यही वडाको एउटा गाउँ हो गौरीपुर । आधा शताब्दीभन्दा वढी भईसकेको छ यो गाउँ फडानी भएको । यही गाउँमा डोटीको दिपायल सिलगढी नगरपालिकाको धामी गाउँबाट बसाई सरी आएको पार्की परिवार पनि आएको ५३ बर्ष भईसक्यो । 

धामी गाउँमै विहेवारी गरेर ७६ बर्षीय भजन पार्की र ६६ बर्षीया मनु पार्की पनि वसाई सरे । गौरीपुर गाउँमा वस्ती थिएन । जंगलै जंगल थियो । त्यही जंगल फडानी गरेर घर खेत बनाएका थिए श्रीमान श्रीमति भजन र मनुले । ५ विगाह जग्गा बनाएका थिए पार्की परिवारले । जतोतसो खेतीपाती गर्दै जीवन धानिरहेका उनीहरुका गौरीपुर झुपडीमै ७ छोराछोरी जन्मिए । ५ छोरा र दुई छोरी । सन्तानले भरिभराउ भए उनीहरु । हुर्कदैं गए छोराछोरी । आजको दिनमा आईपुग्दा जीवनको उत्तरार्धमा पार्की दम्पतिले मानसम्मान र खुशी पाएका छन् । सबै सन्तानबाट होईन, त्यसमा उनीहरुको काईलो छोराले उनीहरुको नाम फैलाएको छ । जन्म दिएको सार्थकताका रुपमा उनीहरुलाई काईलो छोरा गोपीचन्द्र पार्कीले नाम मात्रै चम्काएको छैनन् की गाउँघरमा मानसम्मान पनि दिएका छन् । यी गोपी तिनै हुन जसले नेपालको १३ बर्षदेखि गुमेको स्वर्ण पदक फिर्ता दिलाए । आगामी बर्ष जापानामा हुने ओलम्पिकका लागि पनि नेपालको प्रतिनिधित्व गर्दैछन् । ओलम्पिक सहभागीता जनाउनका लागि उनले निकै मेहनत र परिश्रम गरेका छन् । 

ओलम्पिक खेल्नका लागि गोपी छनोट भएपछि उनका परिवार र गाउँलेहरुमा खुशीयाली छाएको छ । ३० बर्ष उमेर पुगेका उनलाई बुबा आमाले बिहेवारी गर्नका लागि धेरै ठाउँमा केटी पनि हेरे तर उनले विहेभन्दा पनि ओलम्पिक खेल्नुलाई पहिलो प्राथमिकता दिएको उनकी आमा मनुले भनिन्–‘मेरा गुरुले पनि ब्या गर्या आथिन् । म पनि अहिले अद्ैन भन्यो । माग्द गयौं । नाई भनेपछि छाडि दियौं । मनुका कुरा सुनिरहेका गोपीका बुबा भजनले थपे–‘म आफैं केही हेरेर ब्या गर्छु भन्यो । दौड पुरा नभईकन विहे गर्दैन भन्यो । हामीले त्यसो भए जे गर्छै गर भनेर भन्न पनि छाड्यौ । ’

त्यो घरका ५ दाजुभाईमध्ये सबैको विहे भईसकेको छ । केबल गोपीको मात्रै बाँकी छ । सबैभन्दा जेठा लक्ष्मण घरमै ट्याक्टर चलाउँछन् । माईला जगन्नाथले गाउँ नजिकै साईकल मर्मतको पसल चलाएका छन् । साईला रविन्द्र रोजगारीका लागि भारतको मुम्बई छन् । त्यसपछिका गोपी नै भए । कान्छो शिवराज पनि शसस्त्र प्रहरीमै जागीर छन् । उनी पनि खेलाडी नै हुन् । बुबा आमाले हलो जोतेरै भएको खेत लगाएर हुर्काएका हुन् सबै छोराछोरीलाई । घरमा बासका नाङला बनाएरै सबै छोराछोरीहरुलाई स्कुल पढाएका हुन् भजन र मनुले । उनीहरुले पढ्दै छोड्दै आफ्नो बाटो समाते । त्यसमा सबैभन्दा वढी समयसम्म स्कुल जाने गोपी नै हुन् । स्थानीय भवानी माविमा कक्षा ८ सम्म पढे । नाङलाहरु बनाएर गोपीका लागि किताब कापी र कपडाको जोहो गरेको भजन सम्झिन्छन् । आठमा पढ्दै गर्दा बुबाको स्थिति देखेर उनले अब आफु काम गर्ने काम खोज्न बुबालाई भने । उनका बुबा काम खोज्न धनगढी बजार आए । नचिनेको र नजानेको त्यसमा कलिलो छोरालाई के काम खोज्ने भनेर दुविधाकै बीचमा धनगढीको मुख्य बजार आएका उनका बुबाले काम पाएनन् । ‘काम गर्छु खोजिदिअ बा भन्यो म काम खोज्न बजार आए । केही काम नै नपाईए ।’ डोटेली भाषामै भजनले भने–‘नरायाले केही काम भए भनौंला भने । सिलगढीका मान्सेत मुख लई बोलेनन् ।’ 

उनी पढ्ने विद्यालय नजिकै थियो भवानी मावि तर ट्युसन पढ्न घरबाट झन्डै पाँच किलोमिटर टाढा जानुपथ्र्यो । पहिले साइकल चढेर जाने गोपी पछि पैदलै हिँड्न थाले । गोपीको ध्यान दौडमै केन्द्रित हुन्थ्यो । उनले केही साथीलाई धावक बन्ने आफ्नो योजना सुनाए, तर भारतसँग सीमा जोडिएको सुदूरपश्चिमको धनगढी स्थित त्यो सुदूर गौरीपुर गाउँमा उनको सपना कसैले बुझेनन् । चार पाँच कक्षामा पढ्दाखेरी नै उनका घरमा मेडल र सिल्डहरु भरिन थालेका थिए । स्कुल पठाएर छोराले प्रगति नै गरेछ भने बुबा आमा पनि खुशी नहुने कुरै भएन् । पछि सात आठ कक्षामा उनको पढाईले परिवारमा चिन्ता थप्यो ।सँधै तेस्रो हुने छोरो बल्लतल्ल ग्रेस नम्बर जोडेर पास भएकोे थियो ।  दौडमा भने उनी दिन प्रतिदिन अब्बल बन्दै थिए । भाले नबास्दै दौडन निस्कन्थे । कहिलेकाहीँ त राति पनि दौडने सुर चल्थ्यो गोपीचन्द्रलाई । ‘घडीमा कति बज्यो भन्ने पनि थाहा हुन्थेन् भाईलाई । कति दिन त रातिको दुई बजे नै गएर दौड्थ्यो । गोपीका जेठा दाजु लक्ष्मणले भने– ‘पछि आर्थिक अवस्थाले पढ्न नपाए पनि अहिले दौडेर देशको नाम राखेको छ । सुदुरपश्चिमको नाम राखेको छ । हामी सबैको नाम राखेको छ । आत्मैदेखि खुशी छौं । अबको ओलम्पिकमा पनि राम्रो होऔं हामी सबैको आर्शिवाद छ ।’

बुबा आमा मात्रै होईन उनका दाईहरु पनि गोपीको व्यवहार देखेर अचम्ममा पर्थे । कक्षा कोठामा उनको लगाव पढाईभन्दा पनि दौडमा बढी थियो । त्यही भएर उनले राष्ट्रपति रनिङ सिल्ड खेले । पुरस्कार प्रमाण पत्र मेडल ल्याएका थिए । स्कुल स्तरीय, जिल्ला स्तरीय हुँदै क्षेत्रसम्म उनले लगातार एथलेटिक्समा स्वर्ण जिते । त्यसपछि गाउँमा ठूलै इज्जत मिल्यो ।  स्थानीय पत्रपत्रिका र रेडियोमा उनीसँगै गौरीपुरको नाम जोडिएर आयो । गाउँले पनि दंग परे । छरछिमेकबाट तारिफ सुनेपछि आमा–बाबु त खुसी हुने नै भए । गोपी सुदूरपश्चिम क्षेत्रको प्रतिनिधित्व गर्दै अन्तर–विद्यालय स्तरीय राष्ट्रिय प्रतियोगिता खेल्न काठमाडौं जाँदा उनमा गर्व र खेल जितेरै छाड्ने आत्मविश्वास थियो । तर, आठ खेलाडी सहभागी भएको चार सय मिटर तर्फको प्रतिस्पर्धामा उनी अन्तिम भए । पहिलो हुने खेलाडी टेलिभिजनका क्यामेरा र फोटोग्राफरबाट घेरिए, पुछारका गोपीलाई न कसैले चिन्यो न गन्यो । खेलकुदमा जित्न मात्रै जानेका गोपीले हार्नुको पीडा पहिलोपल्ट अनुभूति गरे । त्यही हारलाई उनले पाठमा बदले । जितको लक्षण हारलाई बनाएर अघि बढे । केही महिनापछि अर्को प्रतिस्पर्धा खेल्न उनी काठमाडौं गए । यस पटक उनको प्रदर्शन केही सुध्रिएको थियो । अन्य क्षेत्रबाट सिनियर खेलाडीले प्रतिस्पर्धा गरेका थिए । राम्रो प्रदर्शन पुलिस, आर्मी र एपिएफका खेलाडीले गरे । राम्रो प्रदर्शनका लागि राम्रै तयारी, सन्तुलित आहार र पर्याप्त प्रशिक्षण चाहिन्छ भन्ने गोपीले बुझे । जित–हारले युवावस्थामै गोपीलाई परिपक्व बनाउँदै थियो, तर स्वास्थ्यले एक्कासी धोका दियो–उनलाई कडाखाले जन्डिस भयो । जीवन–मरणको दोसाँधमा पुगेका गोपीलाई गाउँका धामी–झाँक्री त के भारत पञ्जाबका विशिष्ट डाक्टरको औषधीले पनि छोएन । जन्डिसकै एथलेटिक्ससँगको नाता टुट्यो । परिवारले चिकित्सककै परामर्शमा आयुर्वेदिक औषधी सेवन गरायो, जसले सोचेभन्दा चाँडो सुधार ल्यायोे । अलि निको भएपछि  गोपीले फेरि सपना देख्ने साहस गरे, ‘कुद् गोपी कुद्,’ सायद मनले यस्तै भन्यो । खेलाडी बन्ने हुटहुटीले नै उनलाई पुलिस बनायो । 

०६६ सालमा सशस्त्र प्रहरी बल (एपिएफ) मा भर्ना भए । अत्तरिया स्थित वैद्यनाथ बाहिनीमा तालिम लिएर केही समयपछि उनी ड्युटीका लागि खप्तड गुल्म, अछाममा खटिए । अग्ला पहाडहरू सुन्दर थिए, तर ती पहाडभन्दा गोपीको सपना ठूलो थियो । यही बुझेर खप्तड युनिटले गोपीलाई छैटौँ राष्ट्रिय प्रतियोगिताको छनोट खेल्न कैलालीको अत्तरिया पठायो, त्यहाँ उनी जिल्ला प्रथम भए । तर, छनोट यात्रा यसभन्दा अघि बढेन । त्यसपछि उनलाई लाग्यो राम्रो खेलाडी बन्नका लागि यहाँ होइन, काठमाडौंको एपिएफ क्लबमा बसेर नियमित प्रशिक्षण गर्नुपर्छ । त्यसका लागि खप्तडबाट काठमाडौं आएर उनले सिसम ५ एसटिएफ कार्यदल गणमा तालिम लिए । ‘स्पेसल टास्क फोर्स (एसटिएफ) निकै कठिन तालिम हो । यहाँ, १८ केजी बालुवा बोकेर तीन घन्टा कुद्नुपर्छ । मलाई हरेक चुनौतीसँग लड्न सक्ने गरी आत्मविश्वासी बनाउन तालिमको ठूलो भूमिका रह्यो । पाँच हजार मिटर दौडमा एपिएफ क्लबको आन्तरिक प्रतिस्पर्धामा प्रथम भएपछि एपिएफ क्लबमा आबद्ध हुने ढोका खुल्यो । एसटिएफ बटालियनका तत्कालीन गणपति नारायणदत्त पौडेल, एथलेटिक्स प्रशिक्षक सुनिल नरसिंह राणा र एपिएफ क्लबका तत्कालीन शाखा इन्चार्ज तत्कालीन डिएसपी माधव रेग्मीले उनलाई क्लबमा ल्याउन ठूलो योगदान गरेका थिए । एपिएफ क्लबमा आएको तीन महिनामै गोपी राष्ट्रिय टोलीमा छनोट भए । तर, यसपछिको यात्रा कम चुनौतीपूर्ण थिएन । उनले दक्षिण कोरियाको ईन्चोनमा भएको १७ औँ एसियाली खेलकुदमा पाँच हजार मिटरतर्फ प्रतिस्पर्धा गरे । तर, प्रदर्शन राम्रो भएन । १२ औँ सागमा १० हजार मिटरमा प्रतिस्पर्धा गरे, त्यहाँ पनि पदक जित्न सकेनन् । भारतमा साग खेलेर फर्किएको केही महिनामै उनी जन्डिस दोहोरिएर फेरि थला परे,  नौ महिना प्रशिक्षण प्रभावित भयो । ०७२ फागुनमा बिरामी भएका गोपी ०७३ कात्तिकमा आएर बल्ल हल्का दौडन सक्ने भए । सातौँ राष्ट्रिय खेलकुदका लागि दुई महिना मात्रै प्रशिक्षण गरेका गोपीचन्द्रले प्रतियोगितामा १० हजार मिटर र पाँच हजार मिटर दौडमा स्वर्ण जिते । आठौँमा पनि यी दुवै ईभेन्टस्मा सफलता दोहो¥याए । म्याराथनमा पनि उनले राम्रै खेलिरहेका थिए । १३ औँ सागमाराष्ट्रिय टोलीका प्रशिक्षक धनीराम चौधरी र छविलाल थापाले गोपीको चाहना बुझेरै उनलाई पाँच हजार मिटरमा प्रतिस्पर्धा गराउने निर्णय लिए । घरेलु ट्रयाक, दर्शकको साथ र हौसला । गोपीले १४ वर्षदेखि पछ्याइरहेको सपना पूरा गर्ने स्वर्णिम अवसर थियो । तर, प्रतिस्पर्धी खेलाडीले सुरुदेखि नै डिस्ट्रक्टिभ गेम खेले, सबै खेलाडीको रणनीति अरूलाई थकाउनेमा केन्द्रित थियो । त्यसैले, दौड सुरुदेखि नै स्लो देखियो । गोपीलाई अघि बढ्न खोज्दा भारतीय खेलाडीले नियम संगत ब्लक पनि गरे । प्रतिस्पर्धाको अन्त्यतिर गोपी र नेपालका अर्का खेलाडी हरिकुमार रिमाल दुई भारतीय खेलाडीभन्दा झन्डै दुई पाइला पछाडी थिए । अन्तिम ल्याप्ससम्म पनि कसैले स्पिड बढाएको थिएन । दुई सय मिटर बाँकी छँदा एक भारतीय खेलाडी र नेपाली खेलाडी हरिकुमार रिमालले स्पिड बढाए, यतिवेला गोपी पछाडी नै थिए । अन्तिममा एकै पटक जित्छु भनेर उनी विश्वस्त थिए । एक सय १० मिटर बाँकी छँदा आफ्नो भएभरको ताकत लगाएका गोपीले ३० मिटर बाँकी छँदा प्रतिस्पर्धीलाई उछिने । उनले भारतीय खेलाडीभन्दा एक सेकेन्ड अघि फिनिसिङ लाईनमा आफ्नो पाईला राखे । ‘जसरी पनि स्वर्ण जित्छु भन्ने थियो । भारतीय मात्र होईन जोसुकैले पनि मलाई रोक्न सक्ने अवस्था थिएन ।’ सपनाको फिनिस लाईन पूरा गरेपछि उनले भनेका थिए, ‘राजेन्द्र भण्डारीको जीवनबाट प्रेरित भएर दौडन थालेको थिए । देशका लागि गुमेको पदक फिर्ता ल्याउने सपना पुरा पनि पुरा गरे । मेरो जीवनले पनि युटर्न लियो ।’ २०६३ सालमा राष्ट्रपति रनिङ सिल्डबाट पार्कीको दौड यात्रा शुरु भएको थियो । धनगढीका पार्की जिल्लाबाट केन्द्रसम्म पुग्दै अन्तर्राष्ट्रिय पदक जित्दा आफुले १४ बर्षसम्म मेहनत गर्नु परेको छ । यसले उनको परिवार र छिमेकलाई पनि उत्साहित बनाएको छ । ‘हामी पिछडिएको वर्गबाट माथि उठेर यहाँसम्म पुग्ला भन्ने कल्पना पनि गरेका थिएनौं । गोपीको सफलताले सपनामा देखेका चिजहरु पनि पुरा हुन्छन् भन्ने लाग्न थालेको हामी सबै गाउँलेहरुलाई ।’ स्थानीय तथा गोपीका आफन्त समेत रहेका हुकुम सिंह पार्कीले भने–‘दाजु भाउजुले आधा पटे खाई नखाई मेहनत गर्नुभएको थियो । त्यसलाई गोपीले सार्थक बनायो । टोकियो ओलम्पिकमा पनि राम्रो गरोस् भन्ने शुभकामना दिन चाहन्छौं ।’

अघिल्लो बर्ष सागमा स्वर्ण जितेका पार्की अबको आफ्नो लक्ष्य कीर्तिमानधारी बैकुण्ठ मानन्धरको २ घण्टा १५ मिनेटकोे समयको कीर्तिमान तोड्ने लक्ष्यमा छन् । धावक बैकुण्ठले म्याराथनमा बनाएको सो कीर्तिमान नेपाली खेलाडीले तोडोस् भन्ने चाहन्छन् । तर, अहिलेसम्म दक्षिण एसियाली खेलकुदमा यो रेकर्ड कसैले पनि तोड्न सकेका छैनन् । 

१३ औं दक्षिण एसियाली खेलकुद प्रतियोगिता सागमा नेपाललाई ऐतिहासिक गुमेको गोल्ड मेडल फिर्ता ल्याएपछि वडाको पहलमा उनलाई सम्मान गराउने कार्यक्रम तय गरिएको थियो । तर त्यो कार्यक्रम कोरोनाका कारण हुन नसकेको वडा नम्बर ९ का वडाध्यक्ष प्रेमबहादुर भण्डारीले बताए । ‘गोपी टोकियो ओलम्पिकका लागि छनोट भएका छन् । यो हामी धनगढीवासी, वडावासीहरुका लागि गौरबको कुरा हो । हामी सबैले सहयोग गर्नुपर्छ ।’ वडाध्यक्ष भण्डारीले भने– ‘गोपी यो ठाउँको गहना हो । गोपीलाई गर्न सकिने सहयोग हामी वडाको तर्फबाट गर्छौ । धनगढी उपमहानगरपालिकालाई पनि सहयोगका लागि पहल गर्छौ ।’ 

धनगढीका धावक पार्कीले नेपालगन्ज म्याराथनको छैटौं संस्करणमा विजेता बनेसँगै टोकियो ओलम्पीकमा स्थान पक्का गरेका थिए । ओलम्पिकमा एथलेटिक्स खेलाडीले भाग लिने नेपालगन्ज म्याराथन अन्तिम छनोट प्रतियोगिता रहेकोले त्यसमा विजेता हुदैं उनले यात्रा टोकियो ओलम्पिकसम्म पुगेका छन् । सागमा छोराले दौड्दा टिभिमा हेर्न पाएकी उनकी आमा मनुले नेपालगंज म्याराथुनको नतिजा गोपीले फोन गरेपछि मात्रै थाहा पाईन् । उनले ओलम्पिक यात्राको पनि आर्शिवाद दिईन् । ‘हामीलाई गोपीले दौड्यापछि धेरै निको भया छ । जस दौडेई । पुरस्कार जितेई । हमरो आर्शिवाद छ । देउताको आर्शिवाद छ । सबै नेपाली कान्सेको आर्शिवाद छ ।’ गोपीका आमाबुबा भजन र मनुले भने–‘हमलाई घरमा जसो भएपनि हातखुट चलन्ज्यास् खान लाउन पुगिजाओ, त चेला दौडेर पदक आईजाओ । त्यईपछि तेरो ब्या होईजाओ । घरमी बुहाई आईजाउ ।’




Views: 245

सम्बन्धित सामग्री:

जनताका लागि किन कोही बोल्दैनन् ?

: कार्तिक २४, २०७७ (९:२४ AM)