16th May | 2021 | Sunday | 3:29:08 AM

सुख्खायाममा डढेलो प्रकोप र वातावरण संरक्षण

पुरुषोत्तम घिमिरे   POSTED ON : बैशाख ९, २०७८ (११:५५ AM)

सुख्खायाममा डढेलो प्रकोप र वातावरण संरक्षण

प्रकृति हाम्रो प्राण हो । जबसम्म यसको संरक्षण हँुदैन तब यसले विनाशको बाटो लिन्छ । प्रकृतिको विनाश । कुन रूपमा कहा“ कसरी हुन्छ भन्ने आंकलन गर्न सकिँदैन । खाली अन्दाजमात्र गर्ने हो । विवेकशील मान्छे हामीले विवेक गुमाए प्रकृतिको विनाश हुन्छ । भोलि यसले हाम्रा सन्ततिलाई पार्ने असरप्रति कोही सजग भएको पाइँदैन । प्रकृति संरक्षणमा सबभन्दा ठूलो हात मान्छेको हुन्छ । हामीले समाचारमा सुन्ने–हेर्ने गरेका छौं । जंगल फँडानीका कारण पहिरो गएर बस्ती जोखिममा प¥यो । पहिराका कारण हजारौं घरवारविहीन बने । लाखौंको भौतिक सम्पत्ति नष्ट भयो । यो सुन्दासुन्दै, देख्दादेख्दै र जान्दाजान्दै किन हामी आफैं प्रकृति विनाशमा तल्लीन छौं ? 

हिजो के अवस्था थियो भन्ने होइन । अहिले त स्थानीय निकाय छ । स्थानीय निकायले प्रकृति संरक्षणमा ध्यान दिन किन सकेन । प्रकृति संरक्षणका लागि जति स्थानीय जनप्रतिनिधि जिम्मेवार हुन्छन् अन्य निकाय हुँदैनन् । स्थानीय जनप्रतिनिधि जिम्मेवार बन्न नसक्दा हजारांै हजार वनजंगल डढेलोले सखाप भएका छन् । वन विनाश रोक्नुपर्छ । हामी सबैले पहल नगरेसम्म विनाश कार्य रोकिँदैन । जंगलभित्र पसेर खुलमखुला रूख कटान भएका छन् । यसलाई रोक्नुपर्छ । तर, कुनै निकाय अग्रसर भएको पाइँदैन । 

बिनायोजना जताततै रूख काट्ने, बाटो बनाउने गैरकानुनी काम भइरहेका छन् । जसका कारण वर्षायाममा पहिराको जोखिम बढ्ने गरेको छ । बाटो बनाउने निहुँमा कमिसन खाने कामबाहेक केही भएको छैन । राजनीतिक संरक्षणमा यस्ता काम धमाधम भइरहेका छन् । कसले रोक्ने ? कसले छेक्ने ? एउटा रूख रोपेर हुर्काउन दशौं वर्ष लाग्छ । त्यसलाई विनाश गर्न मिनेटभरमा सकिन्छ । यसरी विनाश गर्दै जाने हो भने एक दिन सबै जंगल मरुभूमि हुन्छ ।

विदेशमा हो भने एउटा रूख काट्न संसद् बसेर त्यसले पास गर्नुपर्छ । तर, विडम्बना हाम्रोमा जसले जति मन लाग्छ रूख काट्न सक्छ राजनीतिक पावर लगाएर । अहिले कतिपय जंगली जनावरहरू बस्तीमा पसेर मान्छे मारेका समाचारहरू आइरहेका छन् । ती जंगली जनावरहरू बस्तीमा पस्नुको कारण के हो भनेर कहींकतैबाट खोजबिन गरिएन । वन मन्त्रालय छ । वनमन्त्री छन् । मन्त्रालयअन्तर्गत कर्मचारी छन् । तिनीहरूको कामचाहिँ के हो भन्ने प्रश्न खडा भएको छ । 

गोकर्णेश्वर नगरपालिकाको कुरा गर्नुपर्दा सरकारी वनहरू विभिन्न वाहनामा सफाइ भइरहेका छन् । कहीं शहीद पार्कको नाउँमा त कतै अन्य होटल व्यवसाय बसाउने नाउँमा । शहीद पार्क बन्नुपर्छ । त्यसमा विरोध होइन । शहीद पार्कको नाउँमा जंगल फँडानी भयो, त्यसको विरोध हो । शहीद पार्क बनाउन गोकर्णेश्वर नगरपालिकामा अन्त कतै खाली जग्गा थिएन र ? किन जंगल नै फँडानी गरियो भन्ने नागरिक आवाज हो । न स्थानीय सरकारले सुन्यो, न प्रदेश सरकारले सुन्यो, न त केन्द्रीय सरकारले नै सुन्न सक्यो । सबैको मिलेमतोमा जंगल फँडानी भइरहेको छ । रूख रोप्ने नाटक मञ्चन गरिन्छ । रूख रोप्ने नाउँमा लाखौं भ्रष्टाचार गरिन्छ । 

वन तथा भूसंरक्षण मन्त्रालय छ । त्यसको कामचाहिँ के हो ? त्यहाँका कर्मचारी के गरेर बस्छन् ? सरकारी वनजंगल मास्दा पनि किन ती कर्मचारीको नजर त्यसतर्फ जाँदैन ? जिम्मेवार पदमा बसेका कर्मचारीले कम्तीमा आफ्नो कर्तव्य त पूरा गरून् । तलब भत्ता खाएरमात्र जागिर नपचाऊन् । सरकारले पनि जंगल फँडानी गर्न रोक लगाउनुपथ्र्यो । शहीद पार्क बनाउने नाउँमा करोडौं विनियोजन गरियो । किन शहीद पार्क अहिलेसम्म तयार भएन ? शहीद पार्क बनाउने नाउँमा हजारौं रूख काटियो । त्यसरी काटिएका रूख कहा“ गए थाहा छैन । उल्टो राज्यले ती जंगल सफाइ गर्नलाई बजेट दिएर संरक्षण गरेर राख्यो । 

पछिल्लो समयमा जग्गा प्लटिङका नाउँमा पनि रूख कटान भएका छन् । यसप्रति सम्बन्धित निकायको ध्यान जान सकेको छैन । केही वर्षअघिसम्म हरियो वन नेपालको धन भन्ने भनाइ थियो । आज आएर त्यो किताबका पानामा मात्र सीमित भएको छ । खेतीयोग्य जमिन जहाँ धान, गहुँ, मकै फल्थे आज आएर तिनै गह्रामा घरैघर झुलेका छन् । केही वर्षअघिसम्म नेपाललाई कृषिप्रधान देश भन्ने गरिन्थ्योे । आज आएर त्यो पनि कागजका पानामा सीमित भएको छ । सरकारले वार्षिक करोडांै बजेट कृषिका लागि छुट्याएको छ तर त्यो बजेट कहा“ जान्छ कसैलाई थाहा छैन । सरकारको दायित्व भनेको बजेट विनियोजन गर्नेमात्र होइन । विनियोजित बजेट सही ठाउँमा प्रयोग भएको छ कि छैन । त्यो पनि हेर्नुपर्छ ।

गोकर्णेश्वर नगरपालिकाले जग्गा खण्डीकरण गर्न रोक लगाएको छ भन्ने सुनिन्छ । त्यो रोक कहा“ लगायो त्यो चाहिँ थाहा भएन । डोजरहरू खेत पाखाहरूमा निर्धक्कसँग चलिरहेका छन् । सरकारी जग्गा भएको ठाउँमा सरकारी जग्गासमेत अधिकरण गरेर डोजर चलाएका छन् । यसो गर्दा नगरपालिकाले रोक्न पहल किन गरेन भन्ने आवाज उठिरहेको छ । गोकर्णेश्वर नगरपालिका वडा–२ र ३ मा भएका वन पाखाहरूको सफाइ गर्ने काम धमाधम भएको छ । वडाध्यक्षहरू यस विषयमा केही बोल्दैनन् । नगरले सिफारिश दिन्छ हामीले के गर्न सक्छौं र भनेर आफ्नो दायित्वबाट पर भाग्छन् ।

वार्षिक लाखौंको बजेट कौसीखेतीलाई छुट्याएको छ । गोकर्णेश्वर नगरपालिकामा भएका डाँडापाखा खेतीयोग्य जमिन सबै जग्गा प्लटिङका नाउँमा सकेका छन् । यसले केही व्यक्तिलाई फाइदा भयो होला । नगरपालिकामा करको दर बढ्यो होला तर आमजनताका लागि केही प्राप्ति भएको छैन बरु वातावरणचाहिँ बिग्रियो । यसले हाम्रो समाजमा नकारात्मक असर पारेको छ । भावी पुस्तालाई सास फेर्न पनि गाह्रो हुने अवस्था सिर्जना भएको छ । हामी भन्छौं एउटा रूख काटेर के फरक पर्छ । एउटा रूखले कति मात्र हाम्रो अक्सिजन उत्सर्जन गरेको हुन्छ र ? तर यस्तै एक–एक रूखबाटै मानिसका लागि चाहिने पर्याप्त अक्सिजन उपलब्ध भइरहेको हुन्छ । यसलाई हामीले बिर्सिनुहुँदैन ।


Views: 105