कोरोनाले मच्चाएको हलचल

बिबुशा खनाल   POSTED ON : बैशाख २२, २०७८ (४:२६ PM)

कोरोनाले मच्चाएको हलचल

वि.सं. २०७६, चैत्र ११ गते यो मिति सबैलाई याद नै  होला ? नेपालमा पहिलोपटक नेपाल सरकारद्वारा देशभर लकडाउन घोषणा गरिएको दिन । सुरु सुरुमा लकडाउन हुँदा  अब कस्तो आनन्द हुने भयो न स्कुल नै जानुपर्छ, न त होमवर्क नै गर्नुपर्छ भन्ने कुराले मन एकदमै हर्षित भएको थियो । अनि पो थाहा भयो स्कुल गएर पढ्न र साथीभाइसँगको भेटको महत्व । दिनभरी घरमा बसेर मोबाइल चलाउँदा र टिभी हेर्दा नत समय वित्ने, पट्यार लाग्दो । त्यहाँ माथि कोरोना संक्रमण होला की भन्ने जोखिम त छँदै थियो ।

लकडाउन भएको लगभग दुई महिनापछि कीर्तिपुरमा अवस्थित हाम्रो “पुष्पसदन बोर्डिङ हाई स्कूल “ले पनि अनलाइन कक्षा सञ्चालन गर्यो । सुरु सुरुमा नेपालभरि नै अनलाइन कक्षा नौलो भएकोले नेपाल जस्तो देशमा पनि के अनलाइन कक्षा सञ्चालन गरिएको होला जस्तो लाग्थ्यो । तर पछि सबैले अनलाइन कक्षाबाट पढ्न पाएका छैनन्, हामीले अनलाइन कक्षा पढ्न पाउनु भनेको हाम्रो लागि एउटा ठूलो अवसर हो भन्ने कुराले एकदमै भाग्यमानी महसुस गराउँथ्यो । भाग्यमानी म र म जस्तै अनलाइन कक्षा लिन पाउने तर बिचरा एकछाक खान र लाउन नपुग्नेहरु के गर्ने ? कोरोनाले गर्दा रोजीरोटी खोसिएकाहरुले कसरी आफ्नो छोराछोरीलाई अनलाइन कक्षाको पहुँचमा पुर्याउने ? यस्तै कुराहरुले चिन्तित बनाउँथ्यो ।

काठमाडौंमा माघ महिनादेखि अधिकांश विद्यालय लाग्न सुरु भयो । हाम्रो विद्यालय पनि लाग्यो र लगभग दश महिनापछि साथीहरु लगायत शिक्षकहरूलाई पनि भेट्न पाउँदा छुट्टै खुसी महसुस भएको थियो । कोरोनाको डर त थियो नै तर पनि विद्यालयहरु केही सावधानी अपनाउँदै पहिलेको जसरी लागिरहेको थियो । समय बित्दै जाँदा पढाइको एकदमै बोझ थपिएको जस्तो अनुभव भइरहेको थियो । अरु कक्षामा भएको भए त्यस्तो चिन्ता लाग्दैन थियो तर अहिलेको अवस्थाले गर्दा कक्षा १० को विद्यार्थीहरुलाई एसईई को एकदमै चिन्ता लागिरहेको छ । म पनि एउटा कक्षा १० को विद्यार्थी भएकोले मलाई पनि मेरो परीक्षाको एकदमै चिन्ता लागिरहेको छ ।

कोरोना संक्रमण सुरु हुँदा पहिला इटालीमा मानिसहरु मरेको देख्दा कहिल्यै पनि हामी नेपालीहरूको देश नेपालमा यस्तो अवस्था नआओस् भन्ने लागिरहन्थ्यो तर अहिलेको अवस्थामा नेपालकै बाँके जिल्लामा हेर्ने हो भने कोरोनाले त्यस ठाउँको अवस्था एकदमै नाजुक छ । नेपालमा मात्र नभई कोरोनाले संसारमा क्षति पुराएको छ । अस्पतालमा  विरामीहरुलाई राख्ने ठाउँ छैन, संक्रमितको संख्या बढिरहेको छ, साथसाथै मृत्युहुनेको संख्या पनि बढिरहेको छ । कोरोनाको पूरा डोज खोप लगाएका मानिसहरुलाई पनि कोरोना पोजिटिभ देखिएको छ । मेरो घरभित्र पनि धेरै आफन्तहरुलाई कोरोना लागेको सुनेको छु । 


फैलिरहेको कोरोनालाई मानिसहरुमा अझ बढी रुपमा नफैलियोस् भनेर नेपाल सरकारद्वारा फेरि दोस्रो लकडाउन वैशाख १६ गतेदेखि सुरु गरिएको हो र आजसम्म भइरहेको छ । यो दोस्रो चरणको लकडाउन कहिले सम्मलाई हो भन्ने कुरा पनि अन्योल मै छ । अहिले बढिरहेको कोरोना एकदमै खतरा भएकोले सबै नागरिकहरू गम्भीर हुन जरुरी छ । सम्भव भएसम्म सबैजना घरभित्रै बस्नुपर्छ । सरकारले घोषणा गरेको स्वास्थ्यका मापदण्ड सबैले पूरा गरौं । हरेकले आफ्नो जिम्मेवारीलाई बोध गर्न सके मात्र हामी कोरोनाबाट बँच्न सक्छौ ।  अहिलेको अवस्थामा हामी टाढाको मान्छेबाट भन्दा पनि आफन्तबाट सुरक्षित छैनौं । त्यसकारण सबैले आफ्नो आफै एकदमै ख्याल गर्ने गरौं। खोप लगाउँदैमा सबैजना सुरक्षित छैनौं त्यसैले सबैले कोरोना एकदमै ठूलो घातक रोग हो भन्ने कुरा दिमागमा राखौँ।

“ आफ्नो ज्यान छ त संसार छ, छैन त आफन्त पनि दुश्मन बन्न पुग्छन्“ त्यसैले सुरुमा आफू सुरक्षित हुनुपर्छ र हामी सबैले कोरोनाबाट विजय हासिल गर्नुपर्छ। 

 – कक्षा १० 

 – पुष्पसदन बोर्डिङ हाई स्कूल


Top