कविता–सक्षम नारी बन्न चाहन्छु

बिबुशा खनाल   POSTED ON : असार ५, २०७८ (३:४१ PM)

कविता–सक्षम नारी बन्न चाहन्छु

बन्नु छ मलाई एकदमै ठूलो व्यक्ति,

पूरा गर्नु छ यी मेरा आँखाले देखेका हरेक सपना,

एउटा सानो टोल, गाउँ या शहरमा मात्रै होइन,

पूरै संसारभरि राम्रो व्यक्तित्व बनेर चर्चा कमाउन चाहन्छु ।


कतै गएर एउटा बलात्कृत भएकी नारी बनेर होइन,

हिम्मत न हारी सङ्घर्ष गर्दै अगाडि बढेकी नारी बनेर चिनिन चाहन्छु ।

कसैले नराम्रो वचन बोलेर मलाई हेप्दा,

त्यस वचनको एक एक जवाफ आफ्ना राम्रा राम्रा कामबाट दिने नारी बनेर चिनिन चाहन्छु ।


समाजमा बसेर कुरा काट्ने नारी बनेर होइन,

हरेक परिस्थितिमा सबैलाई साथ दिने नारी बनेर चिनिन चाहन्छु ।

कसैले बोलाउँदा इज्जत नभएकी नारी बनेर होइन,

आफ्नो खुट्टामा उभिएर पहिचान कमाएकी बनेर चिनिन चाहन्छु ।


कसैको हेला खेपिएकी, हेपिएकी नारी बनेर होइन,

समाजमा हरेक आमा, दिदीबहिनीका लागि एउटा बर्कतको रूपमा अडिग भएर बसेकी नारी बनेर चिनिन चाहन्छु ।

राति बाटोमा हिँड्दा डरमा बाँच्ने नारी बनेर होइन,

त्यस डरलाई हटाएर निडर भएर बाँचेकी नारी बनेर चिनिन चाहन्छु ।


कानूनले नचिनिएकी नारी बनेर होइन,

नारी चिन्ने कानून लेख्ने नारी बनेर चिनिन चाहन्छु ।

जीवनमा केही पनि पिडा हुँदा रुँदै बसेकी नारी बनेर होइन,

हरेक जीवनका पिडालाई आफ्नो शक्ति बनाएर बाँचेकी नारी बनेर चिनिन चाहन्छु ।


करोडौँको भिडमा आफ्नो मुख लुकाएर बसेकी नारी बनेर होइन,

चराको पखेटा झैँ हरेक स्वतन्त्रतामा फिजिएकी नारी बनेर चिनिन चाहन्छु ।

दुश्मनको अगाडि रिस देखाएर लड्ने नारी बनेर होइन,

बस् आफ्नो मुस्कानले दुश्मनलाई पश्चाताप बनाइदिने नारी बनेर चिनिन चाहन्छु ।

–माध्यमिक तह अध्ययनरत छात्रा


Views: 554

Top