अभिमत : स्वार्थ सिद्धिका लागि राजनीति ?

✍️ सुभाष न्यौपाने   POSTED ON : श्रावण ६, २०७८ (७:०९ AM)

अभिमत : स्वार्थ सिद्धिका लागि राजनीति ?

नेपाली जनभानवनाले के चाइरहेको छ भनेर सरकार सञ्चालन गर्ने दल र ती दलका नेताले बुझ्ने कोसिस किन गर्दैनन् । नेपालीमा एउटा भनाइ छ ‘नेपाल सतीले सरापेको देश’ । त्यो सावित हुँदैछ । व्यवस्था फेरिए पनि नेताहरूको कार्यशैली, सोच र क्षमतामा परिवर्तन नआएकै करण देश डुब्न लाग्यो भन्ने आभाष भएको छ ।

नेपाल कम्युनिष्ट पार्टी माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड त्यसैगरी नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपाल, जनता समाजवादीका अध्यक्ष महन्त ठाकुर एक शक्तिशाली नेताका रूपमा रहेका थिए र गनिन्थे पनि । आज आएर उनीहरू आफ्नै पार्टीका आफ्नै मित्रद्वारा ठगिए वञ्चित भए । भोलिका दिनमा यी नेताहरूको भविष्य के होला अहिले नै सहजै अनुमान त लाउन नसकिएला तर जनताले दिएको मतको कदर कुन हिसाबले गरे त्यो कल्पना विलख बन्धनमा परेको छ । त्यो आफ्नो ठाउँमा जायज वा नाजायज जे छ । उनीहरू कता कहिले मिल्ने त कहिले कता नमिल्ने गरिरहेको देखिन्छन् । 

कुन हिसाबले कुन आधारमा केका लागि मेल र केका लागि बेमेलको क्रियाकलाप भइरहन्छ ? यो जनताले बुझेकै विषय पदकै लागि हो । माओवादीका अध्यक्ष दाहालले गत निर्वाचनअगाडि नै आफू पनि प्रधानमन्त्री बन्ने हिसाबले एमालेका अध्यक्ष ओलीसँग पद पाउने आशले साँठगाँठ गरे तर ओलीले प्रधानमन्त्री त के उल्टै उनलाई भाइको स्थिति बनाए गवार बनाएर राखिदिए । पार्टीभित्रै अन्तरसंघर्ष त फैलाए तर सफल भएनन् । अन्ततः प्रधानमन्त्री ओलीको संसद विघटनलाई लिएर प्रचण्ड आन्दोलनमा होमिए । 

उनको आन्दोलनले सार्थकता त पायो त्यसमा वरिष्ठ नेता माधव नेपाल पनि सहभागी भए । उनीहरू राजनीतिक रूपमा भन्दा पनि न्यायिक रूपमा सफल भए । धेरै वर्ष एउटै पार्टीमा मिलेर नेपाल–ओलीले काम गरे, मिलेर योजना बनाए तर आफ्नै पार्टीको आन्तरिक कलहले एकले अर्कोका उछित्तो खन्छन् । खै त पार्टीको चाहिँ चिन्ता ? एक व्यक्तिले त्यही पार्टीमा रहेको त्यही पार्टीको व्यक्तिको उछितो काढेर गालीगलोज गर्दा के देश र जनताभन्दा माथि होइन्छ ?

यसबाट के थाहा हुन्छभन्दा राजनीतिमा के–के हुन्छ, कसले कसरी चलाउँछ भन्दा पनि आफ्नो स्वार्थ सिद्धिका लागि मनलाग्दो तवरले राजनीति गरिरहेको हामीले आभाष गरिरहेका छौँ । जसपाका अध्यक्ष महन्त ठाकुर, राजेन्द्र महतोलगायत राजनीतिक दलहरूले आफ्नो स्वार्थ सिद्ध हुने भए जे गर्न पनि तयार भएको अवस्था यिनीहरूमा देखियो । आफ्नो स्वार्थ पूर्ति गर्ने उद्देश्यले यस्ता गतिविधि नेपाली राजनीतिमा बलियो गरी जरा गाडेर बसेका छन् । 

सम्पूर्ण राजनीतिक दलहरूले आफ्नो स्वार्थभन्दा पनि देश र देश विकासको भलाइका लागि केही गरेमा आर्थिक वृद्धि हुन्छ । अब पनि यी भएका राजनीतिक दलमा चेतनाको स्तर वृद्धि भएन भने सिरियाको विष्फोट क्षेत्रजस्तै हुनेछ नेपाल । हिमाल, पहाड र तराई जहाँबाट राजनीति गरे पनि जनताको भलाइका लागि काम गरौँ । सभ्य र सचेत नागरिक बनौँ ।

हाल- कागेश्वरी मनोहरा-६ 

मूलपानी, काठमाडौं । 


Top