नेपाली संस्कृतिमा आधुनिकताको प्रभाव

✍️ बिबुशा खनाल   POSTED ON : श्रावण २५, २०७८ (६:२३ AM)

नेपाली संस्कृतिमा आधुनिकताको प्रभाव

हाम्रा हजुरबुबा हजुरआमाले पहिले हामी मुलाको गुन्द्रुक खान्थ्यौँ, काँचो चना पाए काँचो चना पनि चपाउने गथ्र्यौं, सलाद त तिमीहरूले भन्ने गर्छौं तर हामीले सलाद नभनी काँक्रो, गाँजर र मुलालाई नुनखुर्सानीसँग चोबेर खाने गथ्र्यौंभन्दा पहिलेका जमानाका मानिसहरू अनपढ, केही पनि नजानेका भन्ने कुरा दिमागमा सुरुमै सोच्छौं । तर वास्तविकता हेर्ने हो भने पहिलेको जमानाको संस्कृतिमा आफ्नोपन थियो जसले एउटा नेपाली भएको नेपालीपन झल्काउने गथ्र्यो । अहिले हामीलाई चना पकाउँदा त्यसमा मिसाइने आलुमात्र फ्राई गरे पुग्छ । 

सलाद भनेर गाँजर र काँक्रो मिसाएमात्र पनि सलाद खास हुन्छ किनकि ‘मुला’ हामी सबै मुखैले मिसाइदिए पुग्छ । अझ गुन्द्रुक पकाउँदा पानीमात्र उमाले पुग्छ किनभने हाम्रो जिब्रोमा झुण्डिएको त्यहीँ सडेको ‘मुला’ मिसाइदिए गुन्द्रुकको झोल काइदा साथ बन्छ । हाम्रो जिब्रो- जिब्रोमा झुण्डिएको छ ‘मुला’ । हामी खान्छौं ‘मुला’, बोल्छौं ‘मुला’ र हामीलाई ‘मुला’ प्रिय छ । बोलीमा ‘मुला’ ले नुन-खुर्सानी मिलाइदिएको छ । ‘ओई मुला ! यता आइज ।’ ‘मुला ! बढी हुँदो रहेछ ।’ 

नातागोता तथा सोल्टीसाइनोमा हामी सबैले ‘पिएचडी’ गरिसकेका छौं । कसैसँग रिस उठ्दा हामी उसको ‘बाउको बिहे’ देखाइदिन्छौं कति भाग्यमानी ऊ । हामीलाई सालो भिनाजुको सम्बन्ध कस्तो हुन्छ मतलब छैन तर कसलाई सालो भनिन्छ त्यसका बारेमा अज्ञात छौं । हामी विद्वानहरू ‘सालो’ मा भएको ‘लो’ को ओकार मिल्काइदिन्छौं र त्यसको साटो एकार थप्छौं अनि कैयौंलाई श्रीमतीको भाइ बनाइदिन्छौं । मुखैमा झुण्डिएको छ हाम्रो ‘सा’ खोजेको ।

गाँजाको सर्को र सोमरसको घुट्की निल्दै झ्याप भएर हिँड्नेहरू आज हाम्रा गुरु बन्दैछन्, ट्यापे गुरुहरू । धौम्यजस्ता गुरूहरूको वास्ता छैन हामीलाई । चुरोटबाट निस्केको धुँवाको मुस्लो उडाउँदै हिँड्ने ट्यापेहरूको अनुसरण गर्दैछौं हामी । हामी उनीहरूका अनुयायी बन्छौं । दनदनी दन्केको श्रीमान्को चितामा हाम फाल्ने पतिव्रता सतीहरू आज पति फेर्दै हिँड्छन् । उहिले उहिले ७÷८ वर्षकै उमेरमा बिहे हुन्थ्यो रे चेलीहरूको । १९औं शताब्दीमा आजसम्म आइपुग्दा बालविवाह ८९ प्रतिशतले हटिसक्यो । यो परम्परा हाम्रो पालामा भने घुमेर आएछ । अचेल हामी बिहेपश्चात गर्नुपर्ने काम ५÷६ वर्षका बालिकामाथि बिहेअघि नै गर्छौं ।

कसले भन्छ, यहाँ हामीले नेपाली संस्कृति बिर्सियौं भनेर ? समयानुसार हाम्रा रीतिरिवाजमा पनि परिमार्जन भएको मात्र हो । सारीचोलो लगाउने सीताहरू अचेल अर्धनग्न छेक्ने टालो बेरेर ‘शीला’ बन्दैछन् । वेदका श्लोक वाचन गर्छौं, तिनलाई नौलो ढंगले प्रस्तुत गर्छौं, परिमार्जित जीवन दर्शन पछ्याउँछौं । डेड अक्कलभन्दा शून्य अक्कल नै उत्तम हुन्छ । म चाहन्छु कि त हाम्रो संस्कृति र परम्परा नै त्यागेर पश्चिमी नभई नयाँ पहिचान दिइयोस् । नत्र भैलो र रोदीमा गीतार तथा ड्रम बजाएर रमिता नदेखाइयोस् । निर्णय हामी आफैं गरौं । अब रामका दूतलाई हनुमानको नाम कायमै राखेर मन्दिरमा गई पूजा गर्नेकी, ‘सुपरम्यान’ जस्तै ‘हनुम्यान’ भनेर ‘ट्वीटर, इन्स्टाग्राम’ जस्ता सामाजिक सञ्जालतिर फलो गर्ने ?

समयानुसार आफूमा नयाँ-नयाँ परिवर्तन ल्याउन जरुरी छ तर परिवर्तन भन्दैमा विकृति ल्याउनु हुँदैन । जसरी हाम्रा पुर्खाहरूले हाम्रो लागि संस्कृति बचाएर राखेका थिए त्यसरी नै हामीले हामीपछिका पुस्तालाई आफ्नो संस्कृतिको बारेमा बुझाउन अत्यन्त नै जरुरी छ । त्यसैले हामीले आफ्नो संस्कृतिलाई सधैं माया गर्नुपर्छ । 


Top