सिरुबारीमा आनी विमर्श : गिरिजाप्रसाददेखि ओलीसम्म

युवराज पौडेल   POSTED ON : कार्तिक ६, २०७८ (१:४४ PM)

सिरुबारीमा आनी विमर्श : गिरिजाप्रसाददेखि ओलीसम्म

आफूले जीवनमा पहिलोपटक एउटा प्रसिद्ध बौद्ध भिक्षुणीलाई भेट्ने धेरै पहिलेदेखि सपना साकार पारिरहेको थिएँ । मलाई उहाँको ’फूलको आँखामा ....’ गीत उहाँकै मुखारबिन्दुबाट सुन्नु थियो । उहाँको ’फूलको आँखा’ मा किताबका केही सन्दर्भहरु कोट्याउनु थियो । उहाँको गहिरो जोवनदर्शनका पवित्र वचन उहाँबाटै सुन्ने इच्छाले मन विगतदेखि नै लालायित भइरहेको थियो । ‘जहाँ इच्छा त्यहाँ उपाय’ भने झैं प्रसिद्ध बौद्ध अनुयायी र प्रतिभाशाली कलाकारलाई आफ्नै जिल्ला र आफ्नै भूमिमा भेटेर कुरा गर्ने सौभाग्य मिलिरहेको थियो, जसलाई मैले कुनै पनि मूल्यमा गुमाउन चाहँदैनथेँ । त्यसैले म दैनन्दिनका सबै कामलाई ‘पेन्डिङ’मा राखेर डहरे र बेझाङको उकालो चढिरहेको थिएँ ।  

आनी छोइङ डोल्मा नेपालको पहिलो पर्यटकीय गाउँमा सिरुबारीको दुई दिने बसाइँमा आउनुभएको थियो । उहाँ सिरुबारीमा सञ्चालित ५ दिने बौद्ध कांग्युर पाठ वाचनको उद्घाटनका क्रममा स्याङ्जा आउनुभएको थियो । म यो अवसरलाई राम्रोसँग उपयोग गर्न चाहन्थेँ । आनी भेट्ने यात्रामा मलाई पत्रकार महासङ्घ स्याङ्जाकी उपाध्यक्ष भवानी अधिकारीले साथ दिनुभएको थियो । सिरुबारीमा आनी पुग्नुभन्दा अगाडि नै अधिकारी र म उहाँको स्वागतमा पुगिसकेका थियौं । केही क्षणको पर्खाइपछि यातायात व्यवसायी समिति गण्डकीका उपाध्यक्ष विज्ञान श्रेष्ठले आफ्नो गाडीमा आनीलाई लिएर सिरुबारी गेटमा आउनुभयो । आनीलाई ल्याउने सबै व्यवस्था सिरुबारी होमस्टेकी युवा अभियन्ता तथा नवयुवा क्लबकी सचिव उर्मिला गुरुङले मिलाउनुभएको भन्ने कुरा आनीले बताएपछि थाहा भयो ।  

ग्रामीण पर्यटनका पिताका रूपमा चिनिने होमस्टेका नायक रुद्रमान गुरुङको आनी छोइङ डोल्मालाई सिरुबारी ल्याउने ठुलो इच्छा रहेछ । आनीको समय, रुद्रमान बुबाको बुढ्याईँ तथा रोगको कारण सो सपना अधुरै रहेको र बुबाको देहावसानपछि बुबाको सो सपना साकार पार्नका लागि र आनीलाई सिरुबारीकव् भूमिमा टेकाउनका लागि गुरुङकी बुहारी उर्मिला गुरुङले धेरै प्रयत्न गर्नुभएको रहेछ । स्वर्गीय बुबाको आत्माको शान्तिका लागि पनि उहाँले एक असल बुहारीको भूमिका निर्वाह गर्नुभएको कुराले हामीलाई खुसी लाग्यो । आनीसमेत उर्मिलाको सक्रियता र सामाजिक गतिविधि देखेर प्रभावित हुनुभएको कुरा आनीले पटक पटक उर्मिलालाई बधाइ दिइरहेको सन्दर्भबाट स्पष्ट भइरहेको थियो। हामी पनि उहाँको सक्रियता र आतिथ्यको न्यानो संसारमा त्यसै त्यसै त्यसै पुलकित भइरहेका थियौं । 

भोलिपल्ट बिहान हामीले स्वर्गीय बुबा रुद्रमान गुरुङकै घरमा आनीसँग भलाकुसारी ग¥यौं । जीवन, जगत, मृत्यु र प्रकृतिका विविध विषयमा आनीसँग जिज्ञासा राख्यौं । विमर्श ग¥यौं । उहाँले शालीन तरिकाले हाम्रा सबै जिज्ञाशा मेटाइरहनुभएको थियो। उहाँका बुद्ध वाणी साँच्चिकै महान् थिए । जीवनको क्षणिकतालाई उहाँले सरल तरिकाले व्याख्या गरिराख्नुभएको थियो । गीताको कर्मयोगलाई सहज तरिकाले बताइरहनुभएको थियो । आफ्नो भाग्य आफ्नै कर्मले निर्माण गर्नका लागि हामीलाई प्रेरित गरिहनु भएको थियो। भौतिक जीवनका जटिलताका बिचमा जीवनलाई सकारात्मक बनाउन सकिने उपायहरु बताई रहनुभएको थियो । मानव जीवनलाई खालि भोगमा मात्र खेर नफाली लोक कल्याणमा समर्पित गर्दै जीवनलाई सार्थक बनाउनुपर्ने पाठ पढाइरहनुभएको थियो । साँच्चै उहाँसँग बसेर उहाँका दिव्य वचन श्रवण गरिरहँदा वातावरणमै अचम्मको आभा प्रकट भइरहेको अनभूति भइरहेको थियो । 

भेटमा उर्मिला भाउजुले गिरीजाप्रसादले आनीको गीत धेरै मन पराउनुहुन्थ्यो भन्ने कुराको सन्दर्भका बारेमा आनीसँग जिज्ञाशा राख्नुभयो । आनीले भन्नुभयो, ‘गिरीजाप्रसादले मलाई धेरै माया गर्नुहुन्थ्यो । उहाँले मलाई अचानक खोजिराख्नुभएको रहेछ । स्व. आङ छिरिङ शेर्पाले मलाई फोन गरेर प्रधानमन्त्री कोइरालाले हजुरलाई भेट्न खोज्नुभएको छ भन्नुभयो । मलाई गिरिजाप्रसादले किन भेट्न खोज्नुभयो भन्ने कुराले म छक्क परेकी थिएँ, किनकि मलाई राजनीतिमा चासो थिएन । त्यसपछि एक दिन गिरिजाप्रसादले बोलाएर भेट्न गएपछि उहाँले तपाईँको गीत राम्रो रहेछ भन्नुभयो । उहाँलाई तनाव भएको बेलामा यो गीत सुन्न कसैले ’एडभाइस’ गरेको रहेछ । अनि अलिकति तनाव भएको बेलामा गिरिजाप्रसादले आनीको त्यो ’फूलको आँखामा...’ गीत राति सुनेर सुत्न थाल्नुभएको रहेछ । त्यो गीत सुनेपछि उहाँलाई राति मिठो निद्रा लागेको रहेछ । पहिलो पटक नै त्यो गीतले उहाँलाई धेरै रिफ्रेस भएछ र राति राम्रो निद्रा पनि लागेछ । उहाँले भन्नुभयो, ’गीत सुनेर सुत्दा निद्रा लाग्यो भन्नुभयो । भोलिपल्ट उठ्दा एकदम फरक मुड भयो रे । त्यसैले धन्यवाद दिन बोलाउनुभएको रहेछ ।’

कुराकानीका क्रममा गिरिजाप्रसादले आनीलाई तपाईँलाई के चाहिन्छ भन्नोस् भन्नुभएछ । उत्तरमा आनीले ’मलाई केही चाहिँदैन’ भन्नुभएछ । अनि हिँड्ने बेलामा ढोकामा पुगेपछि पुनः फर्केर आनीले नेपालमा किड्नी ट्रान्सप्लान्टको व्यवस्था गराउनुप¥यो भनेर प्रधानमन्त्री गिरिजाप्रसादलाई भन्नुभएछ । गिरिजाप्रसादले ’हुन्छ, म प्रयास गर्छु’ भन्नुभएछ । त्यसपछि दुवै जना विदा हुनुभएछ । त्यसको सात महिनापछि गिरिजाप्रसादले आनीलाई फोन गर्नुभएछ र भन्नुभएछ ’आनीजी तपाईँको वचन पूरा गरेको छु । नेपालमा नै किड्नी ट्रान्सप्लान्ट हुने व्यवस्था मिलाएको छु ।’ यसबाट आनी निकै खुसी हुनुभएछ । वीर अस्पताल र टिचिङमा किड्नी ट्रान्सप्लान्ट सेवा सुरु भएकोमा आनीले गिरिजाप्रसादलाई भनेको कुरा पूरा गर्न सक्ने मानिसका रुपमा हेर्नुभएको रहेछ । आनीले भन्नुभयो, ’गिरिजाप्रसाद कोइराला ’टावरिङ पर्सनालिटी’ हुनुहुन्थ्यो । उहाँमा भनेको कुरा पूरा गर्ने दृढता थियो ।’ 

यसै क्रममा पत्रकार भवानी अधिकारीले तुइन विस्थापनमा तत्कालीन सरकारका प्रमुख केपी शर्मा ओलीलाई दिएको १ करोडको वास्तविकताका बारेमा प्रश्न गर्नुभयो । त्यसपछि आनीले यसका बारेमा स्पष्ट कुरा बताउनुभयो । उहाँले भन्नुभयो, ’तुइन विस्थापनका लागि मैले केपी ओलीलाई १ करोड दिएँ । तुइनका कारण धेरै नेपाली दाजुभाइ दिदीबहिनी मरेको देखेर मलाई धेरै पीडा भएकाले म त्यस अभियानमा सहभागी हुन खोजिरहेकी थिएँ ।’  उहाँले थप भन्नुभयो, ’मैले मात्र बनाएकी भए एउटा बनाउँथे होला तर सरकारले नै बनाएपछि त दुई सय तुइन विस्थापित गर्न सक्छ भन्ने विश्वासले तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीलाई श्रद्धा र पवित्र भावनाले १ करोड दिएँ ।’ उहाँले आफूले  ओलीसँग भन्दा पनि सरकारसँग हातेमालो गरेको र सबै काम आफूले पवित्र नियतका साथ गरेकाले यसमा आफूलाई कुनै खराब काम गरे भन्ने नलागेको बताउनुभयो । उहाँले भन्नुभयो, ’केपी ओली त्यतिसारो मूर्ख होइन । उहाँसँग मैले थोरै भए पनि सहकार्य गर्न पाएँ । सरकारले गर्न खोजेको काममा जनताले अलिकति भए पनि साथ दियो भने राम्रो हुन्छ ।’ 

उहाँले  सरकार र जनता दुवै मिलेर दायित्वबोध गरेर काम गरियो भने त्यसबाट राम्रो हुने समेत बताउनुभयो । आफूले एक करोड राम्रो कामका लागि दिएकाले त्यसबाट आफूलाई सन्तोष मिलेको बताउनुभयो । उहाँले भन्नुभयो, ’म पुण्य कर्ममा सहभागी भएँ । दुइ सय चानचुन तुइन हटाएर झोलुङ्गे पुल बनाउने योजनामा सहभागी हुन पाउनु मेरो सौभाग्य हो । आफूले दिएको पैसा कति खर्च गर्यौ भनेर सोधिरहने खालको मेरो स्वभाव छैन । कसैलाई गाली गर्ने बानी छैन । राम्रो कामका लागि दिएको हो ।’ 

अन्त्यमा उहाँले जीवन दर्शनका अनमोल वचनहरु हामीलाई पस्कनुभएको थियो । सत्कर्मका लागि विशेष पर्व नचाहिने भएकाले जुनसुकै बेला पनि मानिसले सत्कर्म गरेर जीवनलाई सार्थक बनाउनुपर्ने उहाँको सुझाव थियो ।  आफूले जस्तो कर्म गर्यो त्यस्तै फल भोग्नुपर्ने भएकाले जीवनमा असल कर्म गर्नुपर्ने उहाँको धारणा थियो । सबै धर्मको आशय राम्रो रहेकाले सकारात्मक सोचका साथ अगाडि बढ्नुपर्ने र एकले अर्कोको धर्मको सम्मान गर्नुपर्ने उहाँको सन्देश हाम्रा लागि निकै प्रेरणादायी थियो।


सम्बन्धित सामग्री:

कविता : उनी

बिबुशा खनाल : कार्तिक २६, २०७८ (२:५७ PM)
Top