कविता : उनी

बिबुशा खनाल   POSTED ON : कार्तिक २६, २०७८ (२:५७ PM)

कविता : उनी

हरेक जिम्मेवारी आफ्नो पीठमा बोकी हिँड्दछिन् उनी,

नयाँ बिहानीको एकमात्र आशाकी किरण हुन् उनी,

आफ्नो जन्मघर छोडेर पराईको घरलाई आफ्नो मानेर सम्हाल्दै हिँड्दछिन् उनी,

जतिसुकै मन दुखेपनि सहेर बस्ने गर्दछिन् उनी ।


छोरी हुँदा हरेक पीडामा आफ्नी आमासँग आँसु झार्ने उनी,

आज बुहारी भएपछि हरेक पीडालाई आफ्नो शक्ति बनाएर बाँचिरहेकी छन्, 

कहिलेकाहीँ आफूले नगरेका गल्तीको दोषी ठहरिँदा चुपचाप लागेर बस्दछिन् उनी,

सधैँ भरिएको पेट लिएर होइन कहिलेकाहीँ गालीको आवाज सुनेर मात्र सुत्ने गर्दछिन् उनी ।


आफ्नो इच्छा र चाहना मनमै राखेर अरुको इच्छा र चाहनामा रमाउने गर्दछिन् उनी,

अरु दिन लक्ष्मीको रुप मानिने महिनाको चार दिन अपवित्र बनेर छुट्टै बस्न विवशछिन् उनी,

आफुले देखेका हरेक सपना तोडेर, सन्तानको सपना जोड्ने बाटो देखाउँछिन् उनी,

अगाडि बढ्दा उत्ताउली भन्छन् की भन्ने डरले डराई–डराई हरेक कदम बिस्तारै चाल्ने गर्दछिन् उनी ।


सबैलाई आफ्नोपनको परिभाषा बुझाउन लागि पर्दछिन् उनी,

रिसको होइन मायाको बाटो हिँड्नु पर्छ भनेर सिकाउने गर्दछिन् उनी,

जतिसुकै चोट परे पनि अरू सामु सधैँ मुस्कान देखाएर हिँड्दछिन् उनी,

बुझ्नेको लागि देवता र नबुझ्नेको लागि राक्षस सरह भएर बाँचिरहेकी छन् उनी ।।

  

                                                

                                                     – कक्षा : ११

                                                      – हेराल्ड कलेज


Top