4th August | 2020 | Tuesday | 7:54:48 AM

पोखरामा तीन दिने चलचित्र पत्रकारिता कार्यशाला

गोपिकृष्ण चापागाईं   POSTED ON : भदौ २०, २०७६ (३:५२ PM)

पोखरामा तीन दिने चलचित्र पत्रकारिता कार्यशाला

पोखरा । चलचित्र पत्रकारितालाई संगठित र मर्यादित बनाउने उद्देश्यका साथ पोखरामा तीन दिने चलचित्र पत्रकारिता कार्यशाला चलिरहेको छ । बुधबार गण्डकी प्रदेशका उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री विकास लम्सालले कार्यशाला उद्घाटन गरेका थिए ।

नेपाली फिल्मको दोस्रो ठूलो बजार मानिने पोखरामा चलचित्र पत्रकारिता गर्दै आएका पत्रकारहरूको साझा संस्था चलचित्र पत्रकार संघ, नेपालको आयोजनामा तीन दिने ‘चलचित्र पत्रकारिता कार्यशाला’ सुरु गरिएको हो । कार्यशाला शुक्रबार सकिनेछ । चलचित्र पत्रकार संघले पोखरा शाखा र चलचित्र विकास बोर्डको सहकार्यमा यो कार्यशाला आयोजना गरेको हो । 

कार्यशालाको उद्घाटन समारोहमा नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य रामकृष्ण ज्ञवाली र कास्की अध्यक्ष दीपेन्द्र श्रेष्ठ, फिल्म निर्देशक धनश्याम लामिछाने, नेपाल पर्यटन बोर्ड गण्डकी प्रदेशका प्रबन्धक सूर्य थपलिया, चलचित्र पत्रकार संघका कास्की संस्थापक अध्यक्ष श्रीराम सिग्देललगायत व्यक्तित्वको उपस्थिति थियो । 

कार्यक्रममा बोल्दै मन्त्री विकास लम्सालले ‘पर्यटन वर्ष २०२०’ लाई ‘चलचित्र पत्रकारिता कार्यशाला’ले सहायक भूमिका खेल्नेमा विश्वास व्यक्त गरे । फिल्ममार्फत् देशको पर्यटन प्रवद्र्धनमा ठूलो भूमिका रहेको उल्लेख गर्दै उनले भने, ‘पर्यटनलाई टेवा पु¥याउन कार्यशाला तथा गोष्ठीको ठूलो भूमिका रहन्छ । त्यसैले हामी यस्ता कार्यहरू पोखरमा होस् भन्ने चाहन्छौं ।’

कार्यशालामा सहभागी हुन राजधानीबाट ८० जना र चितवनलगायत शाखाबाट १० बढी फिल्म पत्रकार पोखरामा भेला भएका छन् । कार्यशालाको दोस्रो दिन वरिष्ठ पत्रकार राजेन्द्र दाहालले पत्रकारिताको आचारसंहितालगायत विषयमा प्रशिक्षण दिए । नेपाली पत्रकारितामा पछिल्लो समय देखिएको समस्या र आचारसंहिता पालना गर्दाका राम्रो पक्ष र नगर्दा हुने दण्डका विषयमा पत्रकार दाहालले प्रकाश पारेका थिए । दशकअघि प्रेस काउन्सिलको अध्यक्ष र विभिन्न राष्ट्रिय मिडियामा काम गरिसकेका दाहालले चलचित्र पत्रकारिताका कुरा भन्दा बढी पत्रकारिताको आचारसंहिताका विषयमा प्रशिक्षण दिएका थिए ।

यस्तै सोही दिन कान्तिपुर, बीबीसी, न्यूवर्क टाइम्सलगायत मिडियामा काम गरेका रजनिश भण्डारीले डिजिटल मल्टिमिडिया पत्रकारिताको विषयमा प्रशिक्षण दिएका थिए । भण्डारीले नेपाली बजारमा मोबाइल जर्नालिजम (मोजो)को बजार तथा पत्रकारितामा मल्टिमिडियाको प्रयोग बारे प्रशिक्षण दिए ।

चलचित्र पत्रकार संघ, नेपालका केन्द्रीय अध्यक्ष सन्दीप सापकोटाले चलचित्र पत्रकारहरूको क्षमता अभिवृद्धि गर्नुपर्ने चलचित्र पत्रकार संघको दायित्व भएकोले कार्यशालाको आयोजना गरिएको बताए ।

अन्तिम दिन मिडियासम्बन्धी कानुन, चलचित्र, समीक्षा, डिजिटल पत्रकारिता, चलचित्र पत्रकारिता, पर्यटन, फोटो तथा मल्टिमिडियासम्बन्धी दक्षताको ज्ञान सिकाइनेछ । कार्यशालाको क्रममा चलचित्र पत्रकारलाई पोखराका विभिन्न रमणीय स्थान पनि अवलोकन गराइनेछ । अनुप सुवेदीले फिल्म समीक्षाको प्रशिक्षण तीन घण्टा दिनेछन् । सूर्य थपलियाले पर्यट तथा चलचित्रको विषयमा, नारायण अमृतले चलचित्र पत्रकारिताको हिजो र आजको अवस्थाबारे प्रशिक्षण दिएका थिए भने कृष्ण भट्टराईले समाचार भर्सेस गसिपको विषयमा र सुशील पौडेलले आत्मसमीक्षाको विषयमा प्रशिक्षण दिने तालिका छ । काठमाडौंलगायत विभिन्न ठाउँबाट पोखरा पुगेका पत्रकार तथा कार्यशालामा सहभागी जनाएका शुक्रबार राति काठमाडौं फर्किने बताइएको छ ।


Views: 544