4th August | 2020 | Tuesday | 8:17:50 AM

प्रहरीको भूमिका सरप्राइज

हिमालय टाइम्स   POSTED ON : भदौ २२, २०७६ (४:५६ PM)

प्रहरीको भूमिका सरप्राइज

काठमाडौं । नायिका वर्षा सिवाकोटीले हालसम्म प्रहरीको पोशाक लगाएकी थिइनन् । तर अहिले केही दिनयता दिनहूँ प्रहरी पोशाक लगाएर भ्यानमा हिँड्नुपरेको छ । यो अवसर उनलाई चलचित्र ‘लक्का जवान’ले जुराइदियो ।

छायांकन भइरहेको ‘लक्का जवान’मा आफू प्रहरी अफिसरको भूमिकामा छु भन्ने थाहा नभएको उनी बताउँछिन् । छायांकनस्थलमा पुगेपछि मात्र उनलाई भूमिका खुलाइएको थियो । ‘चलचित्रमा धेरै कलाकार हुनुहुन्छ कसैलाई पनि चलचित्रको स्क्रिप्टबारे जानकारी दिइएको छैन । म छायांकनस्थलमा पुगेपछि थाहा भयो कि म प्रहरी अफिसर बन्दैछु’, वर्षाले हिमालय टाइम्ससँग भनिन्, ‘एकैपटक प्रहरीको भूमिकामा छु भन्ने थाहा पाउँदा सरप्राइज लाग्यो ।’

चलचित्रमा अनुबन्धित हुने क्रममा चलचित्रमा बलियो भूमिका छ भन्नेमात्र थाहा भएको उनी बताउँछिन् । हालसम्म नगरेको भूमिका गर्दा अप्ठ्यारो महसुस भएन भन्ने हाम्रो जिज्ञासमा उनी भन्छिन्, ‘जहिले पनि यहाँ नयाँ भूमिकामा काम गर्न पाए हुन्थ्यो भन्ने त लाग्थ्यो । प्रहरी बन्न पाउनु मेरो खुशीको कुरा हो । केही दुविधा थियो छायांकनस्थलमा आफूभन्दा अग्रजबाट आएको प्रतिक्रियाले ढुक्क छु ।’

वर्षाले अन्य प्रहरी साथीसँग आफू अफिसर भएर भ्यानमा हिँड्दै गर्दा कतिपयले वास्तविक प्रहरी ठानेको सुनाइन् । उनी भन्छिन्, ‘प्रहरीको पोशाक लगाएर हिँड्दा अभिनय गर्ने फिल छुट्टै आउने रहेछ ।’ चलचित्रका अन्य कलाकारको भूमिकाका विषयमा निर्माण टिम मौन छ । 

हास्यकलाकार किरण केसी, शिवहरि पौडेल र अभिनेता दिलिप रायमाझी सहनिर्माताको रूपमा रहने यस चलचित्रमा दिलिप रायमाझी, शिवहरि पौडेल र किरण केसी स्वयमको पनि अभिनय रहनेछ । चलचित्रमा वर्षासँगै प्रियंका कार्की, सलोन बस्नेत, राजाराम पौडेल, सरोज खनाल, जयनन्द लामा, अनुसुया श्रेष्ठ पन्त सुशील पोख्रेल, रमेश केसी, सवित गुरुङ, विमला गिरी, अञ्जु मर्हजन, मनिसा श्रेष्ठ, धनिराम मुस्कान, यमन श्रेष्ठ, विनोद केसी, शिवहरि आचार्य, स्वस्तिका लामिछाने, कञ्चन सापकोटा, डोमा शेर्पा र लक्ष्मी श्रेष्ठलगायतको भूमिका रहनेछ । शिवहरि पौडेलको लेखन तथा निर्देशन रहेको चलचित्र प्रदर्शन आगामी चैत ७ गते घोषणा गरिएको छ । 


Views: 242