4th August | 2020 | Tuesday | 8:03:23 AM

क्यामेरासँग किन डराइन् सन्नी ?

हिमालय टाइम्स   POSTED ON : भदौ २८, २०७६ (१०:४९ AM)

क्यामेरासँग किन डराइन् सन्नी ?

काठमाडौं । नेपाल आएकी बलिउड अभिनेत्री सन्नी लियोनी जब बिहीबार साँझ ८ बजे कुमारी हल परिसरमा प्रवेश गरिन् । उनलाई करिब दुई सय क्यामेराले घेरे । कुमारी हलको सानो परिसरमा त्यति धेरै क्यामेरा र केही सर्वसाधारणको प्रवेश अनुमति दिनु नै आयोजकको गलत निर्णय देखिन्थ्यो ।

सन्नीलाई स्टेजसम्म पु¥याउने क्रममा सञ्चारकर्मीको भीडले रेड कार्पेटमा राखिएका केही गमला फुटे, फूलहरू ढले । चारैतिर सुरक्षाकर्मी भए तापनि सन्नीलाई स्टेजसम्म पुग्न हम्मेहम्मे प¥यो । स्टेज चढेर उनले लामो सास फेरेकी थिइन् । केहीबेर स्टेजमा चढेर भनाइ राखेसँगै सन्नीलाई फिल्म हलभित्र लगियो । तर आधा घण्टा पनि नबसी उनी हलबाट बाहिरिइन् ।

‘हलमा प्रवेश गर्दा नै सन्नी जी त्यो भीड देख्दा आत्तिनु भएको थियो । पूरा फिल्म हेरेपछि बाहिर निस्किने क्रममा पनि त्यस्तै हुन्छ भनेर उहाँ केहीबेरमै हलबाट बाहिरिनुभयो’, चलचित्रका निर्देशक सम्राट बस्नेतले सन्नी बाहिरिसकेपछि हिमालय टाइम्ससँग कुरा गर्नेक्रममा भने, ‘धेरै क्यामेरा देख्दा र त्यो भिडको बीचमा उहाँ डराउनु भयो ।’

सन्नीले स्टेज चढेर बोल्नेक्रममा आफूलाई नेपाल विश्वमै मन पर्ने देश भएको बताइन् । उनले खानेकुरामा ममः मन पर्ने पनि बताइन् । साथै नेपाली चलचित्रको हिस्सा बन्न पाएकोमा खुशी व्यक्त गरिन् । ‘पासवर्ड’मा काम गर्ने सम्झौताको समयमै नेपालमा हुने प्रिमियरमा आउनुपर्ने सहमतिमा हस्ताक्षर गरेकी थिइन् । त्यसै अनुरूप उनी दुई दिन नेपाल आएकी हुन् । 

बिहीबार उनलाई स्वागत गर्न चलचित्रका निर्देशक बस्नेतसहित कलाकार र निर्माता पुगेका थिए । फिल्मको टिमले उनलाई खादा र राष्ट्रिय झण्डा अंकित भादगाउँले टोपी लगाएर स्वागत गरेका थिए । 

फिल्म ‘पासवर्ड’को ‘नाम मेरो सन्नी’ बोलको गीतमा सन्नीले नृत्य प्रस्तुत गरेकी छन् । उनले पहिलो पटक नेपाली चलचत्रिमा काम गरेकी हुन् । अभिनेत्री सन्नीले ‘पासवर्ड’ को गीतमा नृत्य गर्न नेपाली दुई करोड बढी लिएको चर्चा छ । गीतको छायांकनका लागि उनी डान्स कोरियोग्राफर विष्णु देवालाई साथमा दिएर भारतबाट लण्डन पुगेकी थिइन् । 

अभिनेत्री सन्नीको यो तेस्रो नेपाल यात्रा हो । यसअघि उनी दुईपटक नेपालको रमणीय स्थान घुम्न र आफू ब्राण्ड एम्बसेडर रहेको कम्पनीको ब्राण्ड प्रवद्र्धन गर्न नेपाल आएकी थिइन् । उनी श्रीमान् डेनियल वेबरसँगै नेपाल आउने गरेकी छन् । यसपटक पनि उनले श्रीमान्लाई साथमा लिएर आएकी छन् । बलिउडमा उनी एडल्ट फिल्म गर्ने अभिनेत्रीको रूपमा चिनिन्छिन् ।

‘पासवर्ड’ अब दुईसाता पछाडि विदेशका १२ देशका २४ शहरमा एकसाथ प्रदर्शन हुने निश्चित भएको छ । मलेसिया, जर्मनी, पोर्चुगल, क्यानडा, दुबई, अमेरिका, अष्ट्रेलिया, कोरिया, जापान, भारतलगायत देशमा प्रदर्शन हुने बताइएको छ । सेप्टेम्बर २७ अर्थात् असोज १० फिल्मको विदेश प्रदर्शन सुरु हुनेछ । 


Views: 203