15th August | 2020 | Saturday | 5:05:47 AM

बेपत्ताका परिवारको पीडा ‘सुनको पहाड’

  POSTED ON : आश्विन ९, २०७६ (४:३० PM)

बेपत्ताका परिवारको पीडा ‘सुनको पहाड’

काठमाडौँ (हिटा) । आख्यानकार विष्णु भण्डारीको दोस्रो उपन्यास ‘सुनको पहाड’ सार्वजनिक भएको छ । राजधानीमा मंगलबार आयोजित एक कार्यक्रममा नेकपा नेता राम कार्की, लेखक डा. अर्चना थापा र अधिवक्ता एकराज भण्डारीले उपन्यास संयुक्तरूपमा सार्वजनिक गरे । 

कार्यक्रममा नेता कार्कीले भण्डारीको उपन्यासले जनयुद्धका क्रममा बेपत्ता योद्धाका परिवारजनले भोग्नुपरेको पीडा सशक्तरूपमा प्रस्तुत गरेको बताए । उनले उपन्यासको भाषाशैली खारिएको र बलियो पक्षका रूपमा रहेको बताए । घटनाको प्रस्तुति रोचक तरिकाले गरिएकोले उपन्यास पढूँ पढूँ लाग्ने खालको रहेको उनको भनाइ थियो । 

लेखक डा. थापाले बेवास्तामा परिरहेको जनयुद्धको अभिघातको जटिल पक्षलाई लेखकले मिहिन ढंगले उतारेको बताइन् । समकालीन नेपाली समाजको यथार्थलाई स्वैरकल्पना, दन्त्यकथा र यथार्थको मिश्रणबाट प्रष्ट्याउन उपन्यास सफल भएको बताइन् । बहुल नायक प्रस्तत गर्नु, कथाको प्रस्तुतीकरण महिलाको कोणबाट गर्नु, स्वैरकल्पनाको सही र उपयुक्त रूपमा प्रस्तुत गर्नु उपन्यासको सबल पक्षका रूपमा रहेको उनको भनाइ थियो । उनले भनिन्, ‘उपन्यासमा पात्रलाई प्रस्तुत गर्ने परम्परागत शैली भंग गरेर नयाँ शैली निर्माणमा जोड दिइएको छ । परम्परागतरूपमा त्याग र समर्पणको यात्रामा पुरुष पात्र नै देखिने गरेको तर लेखक महिलालाई अघि सारेर सामाजिक न्याय र समानताको पक्षमा उभिएका छन् । 

उनले लेखनशैली र कथ्य दुवै हिसाबले पुस्तक बलियो रहेको उनको भनाइ थियो । 

बेपत्ता पारिएका विपिन भण्डारीका बाबु अधिवक्ता एकराज भण्डारीले उपन्यासमा आफूलाई धेरै ठाउँमा पाएको बताए । उनले भने, ‘यसका पात्रहरूमा मैले आफूलाई पाएँ । छोरा र उसका साथीहरूलाई पाएँ र छोरालाई बेपत्ता पार्ने व्यक्तिहरूको सादृश्य वर्णन पाएँ ।’ उनले लेखकले परिकल्पना गरेजस्तो बेपत्ताका परिवारको पीडा बुझेर आत्म आलोचना गर्ने पात्र अझै पनि समाजमा पैदा नभइसकेकोले उपन्यास अध्ययनले त्यसतर्फ झक्झक्याउनेमा विश्वास व्यक्त गरे । पुस्तक फिनिक्स बुक्सले प्रकाशन गरेको हो । 


Views: 124