15th August | 2020 | Saturday | 5:30:22 AM

दमारमा प्रकाश र कमलाको दोहोरी

गोपीकृष्ण चापागाईं   POSTED ON : आश्विन २७, २०७६ (१०:१७ AM)

दमारमा प्रकाश र कमलाको दोहोरी

नवलपुर । सामाजिक सञ्जालमा प्रत्यक्ष दोहोरी गाएरै चर्चामा आएकी धादिङकी कमला घिमिरे नवलपुरमा पुग्दा हजारौंको उपस्थिति रहृयो । ठाउँको ठाउँ प्रत्यक्ष दोहोरी फर्काउन सक्ने उनको कलाले गर्दा पछिल्लो समय देशभित्रका थुप्रै स्टेज चढ्ने अवसर पाएकी कमलाको पूर्वी नवलपरासीको मध्यविन्दु नगरपालिका ११, द्वारदहदमारमा सम्पन्न तेस्रो दमार सांस्कृतिक महोत्सव पाँचौं स्टेज हो । 

यसभन्दा अघि उनी धादिङ, गोरखा, चितवनलगायतका जिल्लामा गीत गाउनकै लागि पुगिसकेकी छन् । वडा दशैँ तथा शुभदीपावलीको अवसरमा शनिबार सम्पन्न उक्त महोत्सवमा महोत्सवमा स्थानीयतहका राजनीतिज्ञ, कलाकार तथा राष्ट्रियस्तरका ख्याति प्राप्त कलाकाको उपस्थिति थियो ।

कमलासँगै पछिल्लो समयका चर्चित तथा लोकप्रिय गायक प्रकाश सपूत, गायिका प्रीति आले, दीपक खड्का र अमृत सापकोटाले पनि दोहोरी गाएका थिए । दमार खुला मैदानमा दिउँसो १ बजे प्रमुख अतिथि नेपाली कांग्रेसका नेता तथा समाजसेवी विष्णु कार्कीले उद्घाटन गरेको कार्यक्रम राति ८ बजेसम्म चलेको थियो ।

गायक प्रकाश सपूतको गलबन्दी गीत प्रत्यक्ष सुन्न पनि हजारौं दर्शक उत्सुक थिए । जब पहिलो टुक्कास्वरूप ‘गलबन्दी च्यातियो तिम्ले तानेर...’ गाउँन सुरु गरे हुटिङको गडगडा रोकिएन । प्रकाशले करिब एकघण्टा लगातार आफ्नो लोकप्रिय गीत गाएका थिए । उनले सुरुवातमा वैदेशिक रोजगारीमा गएका युवालाई केन्द्रित गरी गाएका आफ्ना दुई गीत ‘चरर बरर’ र ‘बोलमाया’ गाएका थिए । त्यसपछि उनले अन्य नचाउने गीत गाए । 

सामाजिक सञ्जालबाट चर्चामा आएकी बाल गायिका कमला नेपाली ढाकाको चोलीमा सजिएर दोहोरी गाउँदा दर्शकै खुवै मच्चिएका थिए । ११ वर्षीया कमलाले प्रकाशसँग पनि लामै दोहोरी गाइन् । यस्तै गायक अमृत सापकोटा र कमलाले समसामयिक विषयमा दोहोरी गाएका थिए । गायिका प्रीति आलेले पनि आफ्नो चर्चित गीत ‘फुल्यो बामरी’, ‘दोहोरी ब्याटल’ लगायत गीत गाएकी थिइन् । 

उनले प्रकाशसँग गाएका अन्य चर्चित गीत पनि प्रस्तुत गरिन् । राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान धादिङ अध्यक्ष गायिका कमला थापाले पनि आफ्नो प्रस्तुति दिएकी थिइन् । स्थानीय कलाकार डान्सर गुमी घर्तीमगर, श्वेता मल्ल, डी स्टार डान्सिङ ग्रुपले पनि प्रस्तुति दिएको थियो ।

गायक प्रकाशले स्टेजबाटै नवलपुरसँगको माया निकै नजिकको भएको सुनाए । ‘म नेपालभित्रको धेरै स्टेज कार्यक्रममा पुगेको छु, तर नवलपुरमा धेरैपटक आउने मौका मिलेको छ । यो सबै तपाईंहरूको मायाले हो’, प्रकाशले स्टेजबाट दर्शकतर्फ हेर्दै भने, ‘यसरी आगामी दिनमा मायाको अपेक्षा गरेको छु ।’ प्रकाशलाई आइतबार सम्पन्न दुम्किबासको डाँडाझोरको सांस्कृतिक कार्यक्रममको निमन्त्रणामा पनि पुगेका थिए ।

जनज्योति युवा क्लबको आयोजनामा सम्पन्न तेस्रो दमार सांस्कृतिक महोत्सव २०७६ मा करिब पाँच हजार दर्शकको उपस्थिति थियो । आफूहरूले विगत वर्षमा जस्तै यसवर्ष पनि एकदिने महोत्सव भव्यताका साथ सम्पन्न गरेको क्लबका अध्यक्ष धनु सोमैले बताए । 


Views: 289