30th September | 2020 | Wednesday | 4:57:52 AM

अब आउने छैनन् बहिनीको इङ्गेजमेन्टमा

हिमालय टाइम्स   POSTED ON : फाल्गुन २, २०७६ (११:३१ AM)

अब आउने छैनन् बहिनीको इङ्गेजमेन्टमा

काठमाडौं । नायिका महिमा सिलवाल एउटा कार्यक्रममा भाग लिन गत मंगलबार दुबई जान विमानस्थल पुगिन् । तर, विमानस्थलबाटै फर्किनु प¥यो । कारण थियो उनले दुबई जान श्रम स्वीकृति लिएकी थिइनन् ।

भाइ सञ्जयका अनुसार उनी दुई दिनमै नेपाल फर्किएर शुक्रबार चितवनस्थित घरमा कान्छी बहिनीको इङ्गेजमेन्टमा सहभागी हुने कार्यक्रम थियो । दुखद् कुरो, न त उनी दुबई नै गइन् न त बहिनीको इङ्गेजमेन्टमा नै सहभागी हुन पाउने भइन् । बुधबार बेलुकी सवारी दुर्घटनामा परी महिमाले सदाका लागि संसार छोडेकी छन् ।

‘दुवै दिदी घरमा आउने बाटो कुरेर बसेको थिएँ तर मेरो दिदीहरू त कहिलै नआउने गरी संसार छोडेर जानुभएछ’ सञ्जयले भक्कानिँदै फोनमा बोले, ‘मलाई सारै माया गर्ने दुवै दिदी बहिनीले सँगै संसार छोडेर गएपछि अब कसको माया पाउँला र ?’ 

महिमा र शर्मिला दुवै दिदीबहिनी शुक्रबार हुने कान्छी बहिनी सविताको इङ्गेजमेन्टमा सहभागी हुन काठमाडौंबाट चितवनको भरतपुर महानगरपालिका–१२ स्थित घर जाँदै थिए । धादिङको गजुरी गाउँपालिका–२ चाम्बासमा महिमाले चलाएको स्कुटी र बस ठोक्किँदा दिदी बहिनीले संसार छोडे ।

बुधबार बिहानमात्रै दुवै दिदी बहिनीले घर नआउने खबर पठाएको सञ्जयले सुनाए । ‘बिहान फोन गरेर घर आउँदैनौ भनेका थिए तर, दिउँसो त स्कुटीमा आउँदैछौ भन्ने खबर गरे’ सञ्जयले भने, ‘दिदी दुबई गएको भए र काठमाडौंबाट पनि नआएको भए सायद यस्तो अकल्पनीय घट्ना हुन्थेन होला ।’ महिमाले गजुरी पुगेको खबर बुबालाई फोनमा सुनाएकी थिइन् । त्यसको करिब ५ मिनेटमै दुर्घटना भयो । बुबा लीलाबहादुरसँग भएको त्यही कुरा नै घरपरिवारसँग भएको महिमाको अन्तिम बोली बन्यो ।

२०५९ सालमै जन्मदिने आमा गुमाएपछि घरको जेठी छोरी महिमाले तीन भाइ बहिनीलाई आमाको मायाको कमी हुन दिएकी थिइनन् । भाइबुहारी पनि अष्ट्रेलिया भएकाले कान्छी बहिनीको बिहेपश्चात् घरमा बुबा र भाइमात्र हुने हुँदा महिमाले अधिकांश समय गाउँमै बस्ने आश्वासन भाइ सञ्जयलाई दिएकी थिइन् ।

‘सानैमा आमा गुमाउँदा एक पटक टुहुरो भइएको थियो अब दुवै दिदीसँगै गुमाउँदा थप टुहुरो भइयो’, जेठो दिदीको शव अन्तिम सस्कारका लागि देवघाट लगेर कान्छो दिदी शर्मिलाको शव कुरेर बसेका सञ्जयले भक्कानिँदै फोनमा भने । बुधबार साँझ पौने ६ बजेतिर महिमाले चलाएको बा९८प ७०५८ नम्बरको स्कुटीलाई भैरहवाबाट काठमाडौं आइरहेको लु२ख १३५ नम्बरको बसले ठक्कर दिएको थियो ।

गम्भीर घाइते महिमाको गजुरी स्वास्थ्य केन्द्रमा र शर्मिलाको उपचारका क्रममा ट्रमा सेन्टर काठमाडौंमा निधन भएको हो । प्रहरीअनुसार घुम्ती क्रस गर्ने क्रममा स्कुटी र बस एकआपसमा ठोक्किएको बताइएको छ । प्रहरीले बस र चालकलाई नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको जनाएको छ ।

कारबाही सिनेमाबाट नेपाली रजतपटमा डेब्यु गरेकी महिमाले सिनेमाका अलावा म्युजिक भिडियोमा समेत अभिनय गर्दै आएकी छन् । 


Views: 146

सम्बन्धित सामग्री:

ओस्करमा नेपाली फिल्मको आहृवान

: आश्विन १३, २०७७ (८:३० AM)

सफल चलचित्र निर्देशक दिवाकर

: आश्विन १३, २०७७ (८:२८ AM)