15th August | 2020 | Saturday | 7:58:15 PM

नीरफूलको बदनामी गीतमा रेखा

हिमालय टाइम्स   POSTED ON : फाल्गुन ४, २०७६ (४:१३ PM)

नीरफूलको बदनामी गीतमा रेखा

काठमाडौं । प्रणय उत्सवको अवसर पारेर चलचित्र ‘नीरफूल’मा समावेश ‘तिमी बदनामी...’ बोलको गीत सार्वजनिक गरिएको छ । गीतमा कुनै एक डाण्स बारमा अभिनेत्री रेखा थापाले गीत गाएको दृष्य यसमा प्रस्तुत गरिएको छ । 

नायिकासँगै गायिकाको परिचय बनाएकी रेखा थापाले यो चलचित्रमा बार सिंगरकै भूमिका निर्वाह गरेकी हुन् । जसमा चलचित्रकी अभिनेत्री शान्ति वाइवा भूकम्पपछि जीवन यापनका लागि डाण्सबारमा काम गर्न बाध्य भएको दृष्यहरूबाट बुझिन्छ । यो गीतको संगीत अर्जुन पोखरेलले गरेका हुन् । दुर्गा खरेलले गाएको यो गीतलाई चलचित्र निर्देशक फूलमान बल आफैंले लेखेका हुन् ।

यो गीतले चलचित्रको कथाको एउटा पाटो बोकेको देखिन्छ । आइटम गीतभन्दा फिल्मको पात्रको संघर्ष र उनीमाथि हुने हिंसा दर्शाउने गीत भएको निर्देशक वलले जानकारी गराएका छन् ।

फिल्मको पटकथा सचिन घिमिरे र निर्देशक बल स्वयंले लेखेका हुन् भने सचिन एसोसिएट निर्देशकको रूपमा पनि छन् । फिल्मको निर्माणमा ‘सहकार्यको मोडल’ अपनाइएको निर्देशक वलले जनाए । फ्रेण्ड्स अफ नेपाल–म्यान्मार फ्रेण्डसिप काउन्शिलसितको सहकार्यमा सेलो प्रोडक्शनले निर्माण गरेको फिल्मको कार्यकारी निर्माता भने दुबईकी सोनाम डोमा हुन् । निर्माताको रूपमा बेलायतबाट दीपक श्रेष्ठ, कतारबाट माया केसी, इजरायलबाट चन्द्रमाया तामाङ, जापानबाट उदय लामा, अमेरिकाबाट रोज लामा, इन्द्र तामाङ, कोरियाबाट दिनेश लम्तरी मगर र नेपालबाट अजितमान तामाङ, दिजेश श्रेष्ठ, तेन्जिन सोनाम लामा, गणेश थापा, अशोक थापा, विके श्रेष्ठ लगायत छन् । 

प्रमोद कार्कीको छायांकन, अर्जुन पोखरेल र चन्द्रकुमार दोङको संगीत रहेको फिल्मको सम्पादन निमेष श्रेष्ठ र वितरक गोविन्द शाही र मनोज राठी छन् । चलचित्र नीरफूल आउँदो फागुन ३० मा प्रदर्शन हुँदैछ ।


Views: 117