15th August | 2020 | Saturday | 8:07:58 PM

प्रियंका आयुष्मानले गरे कानुनी बिहे

हिमालय टाइम्स   POSTED ON : फाल्गुन १६, २०७६ (१०:५२ AM)

प्रियंका आयुष्मानले गरे कानुनी बिहे

काठमाडौं । दुई वर्षदेखि प्रेममा रहेको अभिनेत्री प्रियंका कार्की र अभिनेता आयुष्मान देशराज जोशीले बिहे गरेका छन् । उनीहरूले बिहीबार जिल्ला अदालत काठमाडौं पुगेर कागजी बिहे गरेका हुन् । 

अदालतमा एकअर्कालाई माला लगाएर उनीहरू कानुनी रूपमा श्रीमान् श्रीमती बनेका हुन् । प्रियंकाको जन्मदिनको अवसर पारेर यो जोडीले विवाह गरेको बताइएको छ । अदालतमा उनीहरूका निकट परिवारका सदस्यहरूको मात्र उपस्थिति रहेको थियो । 

प्रियंकाले आयुष्मानसँगको तस्वीर फेसबुकमा पोष्ट गर्दै आफूहरूले कानुन अनुसार विवाह गरेको जानकारी दिएकी छन् । उनले ‘मिष्टर एण्ड मिसेस’ भनेर लेखेकी छन् । आज (शुक्रबार) भने उनीहरूले बूढानीलकण्ठमा रहेको होटल पार्क भेन्यूमा हिन्दू परम्परा अनुसार विवाह गर्दैछन् । 

गतवर्ष नै इन्गेजमेन्ट गरिसकेका उनीहरूको केही दिनयता होटल पार्क भेन्यूमा विवाहअघिका विभिन्न कार्यक्रम भइरहेका छन् । यो जोडीले आफ्नो मेहेन्दी र संगीत समारोहका तस्वीर र भिडियो सामाजिक सञ्जालमा बाक्लै साझेदार गरिरहेका छन् । प्रियंकाले हातमा मेहेन्दीले आयुष्मानको नाम लेखाएकी छन् भने आयुष्मानको हातमा प्रियंकाको नाम लेखिएको छ । 

चलचित्र ‘कथा काठमाण्डू’को सेटबाट उनीहरूबीच प्रेम अंकुराएको थियो । प्रेम सम्बन्धमा रहेको खबर बाहिर आएपछि कहिल्यै लुकाएनन् । प्रायः सार्वजनिक कार्यक्रममा उनीहरू एकअर्कासँगै पुग्ने गरेका थिए । यो जोडीले ‘चंगा चेट’ र ‘प्रेम दिवस’ नामक फिल्ममा सँगै काम गरिसकेको छ । उनीहरूले फिल्ममा एकअर्कालाई सिफारिश गर्ने गरेको चर्चा छ ।

पछिल्लो समय भने प्रियंकाले अभिनय गरेका चलचित्र हलमा छैनन् । प्रियंकालाई मुख्य भूमिकाका लागि चलचित्रको अफर लगभग आउन छाडेको बुझिएको छ । राम्रा ब्यानरबाट अफर नआउने र अफर आउने नयाँ ब्यानरलाई प्रियंकाले अस्विकार गर्दै आएकी छन् । 

बिहेपछि प्रियंकाको चलचित्रको यात्रा अगाडि बढ्ने सम्भावना कम देखिएको छ । बिहेअघि नै चलचित्रको यात्रामा आरोलो लागेकी प्रियंका बिहेपछि झन् उकालो लाग्छिन् भन्न सकिँदैन । 


Views: 99