13th August | 2020 | Thursday | 8:59:02 AM

लोकगीत चोरी भए प्रतिष्ठानमा जान सकिने

हिमालय टाइम्स   POSTED ON : असार २६, २०७७ (९:१६ AM)

लोकगीत चोरी भए प्रतिष्ठानमा जान सकिने

काठमाडौंं । विगत लामो समयदेखि नेपाली लोकदोहोरी गीत तथा कलाकारहरूको हकहितका लागि काम गर्दै आएको राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठानले लोक गीत चोरी भएमा न्याय खोजीदिने भएको छ । प्रतिलिपि रजिष्ट्रार कार्यालयसँगको समन्वयनमा प्रतिष्ठानले गीत चोरीको उजुरीलाई हेर्ने भएको हो ।

बिहीबार बसेको प्रतिष्ठान र प्रतिलिपि रजिष्ट्रार कार्यालयको बैठकबाट लोकगीत चोरी भएमा प्रतिष्ठानमै उजुरी गर्न सकिने र प्रतिष्ठानले रजिष्ट्रार कार्यालयसँग सहजीकरण गरिदिने निर्णय भएको प्रतिष्ठानका केन्द्रीय सदस्य पिएन सापकोटाले जानकारी दिनुभयो । ‘अब गीत चोरी भयो भने प्रतिष्ठानमा सिधै उजुरी गर्न सकिनेछ । त्यसै उजुरी बमोजिम कानुनी प्रक्रिया अगाडि बढ्नेछ,’ सापकोटाले भन्नुभयो । 

विभिन्न कलाकारले आफ्ना गीतका शब्द, भाका चोरी भएको भन्दै सामाजिक सञ्जालमा दुखेसो पोख्ने गरेको पाइएको थियो । गीत चोरी भई बजारमा आउँदा पनि आफूहरूको कुरा सुनिदिने कुनै संस्था नभएको र भएका संस्थाले न्याय नदिएको गुनासो थुप्रै कलाकारले गर्दै आउनुभएको थियो । यसअघि विभिन्न चर्चित तथा लोकप्रिय लोकगीत चोरीका विषयमा धेरै विवाद भएका थिए । कतिपय विवाद सेलाएका छन् भने कतिपयले आपसी समझदारीमा विवाद सल्ट्याउनु भएको छ ।

प्रतिलिपि रजिष्ट्रारकी अध्यक्ष विष्णुदेखि भट्टराई फुयाँललाई भेट्न प्रतिष्ठानका वर्तमान अध्यक्ष रमेश बिजी, पूर्वअध्यक्षद्वय दुर्गा रायमाझी, चन्द्र शर्मा, प्रतिष्ठानका उपमहासचिव तथा रोयल्टी संकलन समाजका अध्यक्ष शिव हमाल र प्रतिष्ठान केन्द्रीय सदस्य पिएन सापकोटा पुग्नुभएको थियो ।

सापकोटाले कुनै प्रदेश या जिल्लाका कलाकारले सामाजिक सञ्जालमा अथवा कुनै ठाउँमा आफ्नो गीत चोरी भयो भनेर गुनासो गर्नुभन्दा सिधै प्रतिष्ठान वा रजिष्ट्रार कार्यालयमा गई उजुरी दिएमा दोषीलाई कडा कारबाही हुने जानकारी दिनुभयो । उहाँले कलाकारलाई सांगीतिक क्षेत्रबाट निराश नहुन आग्रह गर्नुभएको छ । 

विशेषगरी पछिल्लो समय पुराना लोकगीतका शब्द तथा लय चोरी भएको गुनासो धेरै सुन्ने गरिएको छ । पुराना शैलीका गीतलाई केही परिवर्तन गरी नयाँ ढंगबाट प्रस्तुती गरी सार्वजनिक गरिएको गुनासो पटकपटक आएकाले प्रतिष्ठानले यो कलम चालेको बुझ्न सकिन्छ । केही समयअघिको अत्यधिक चर्चित गीत गायक प्रकाश सपुतको गलबन्दीमा एक पुरानो तिहार गीतबाट लय चोरीयो भन्ने विवादपछि दुई पक्षबीचको समझदारीमा टुगिंएको थियो ।

यसैबीचको तीज गीत दुर्गेश थापाको बिच्च बिच्चमा २ को शब्द चोरीको आरोप लागिरहेको छ । नेपाली लोकगीतको क्षेत्रमा गीतको शब्द चोरी हुँदा कलाकारले नै प्रतिलिपि अधिकार रजिष्ट्रारमा गई उजुरी नगरेको पाइएको छ । नेपाली चलचित्र तथा आधुनिक गीतको क्षेत्रमा गीत चोरीको विवाद चलिरहन्छन् । 


Views: 53