15th August | 2020 | Saturday | 7:00:31 AM

डिजिटल गाईजात्राको तयारीमा सैलेन्द्र

हिमालय टाइम्स   POSTED ON : श्रावण १५, २०७७ (९:१८ AM)

डिजिटल गाईजात्राको तयारीमा सैलेन्द्र


काठमाडौं । आउँदो साताबाट सुरु हुने यस वर्षको गाईजात्राका लागि कलाकारले तयारी गरिरहनु भएको छ । गत वर्षमा जस्तो भब्य हलमा सयौं प्रत्यक्ष दर्शकलाई मनोरञ्जन दिन भने नपाइने भएको छ । कोरोना भाइरसको माहामारीबीच भीड जम्मा गर्न नपाउने भएपछि यस वर्ष कलाकारहरूले विकल्पको रूपमा टेलिभिजन र युट्युवमार्फत गाईजात्रा प्रकाशन गर्नुहुने भएको छ । 

ब्यंग्य कविको रूपमा परिचित सैलेन्द्र सिम्खडाले यस वर्ष पनि कवितामार्फत ब्यंग्य गर्दै हुनुहुन्छ । समसामुहिक विषय वस्तुमा कवितामार्फत पेचिला कविता प्रस्तुत गर्न माहिर मानिनुहुने सैलेन्द्रले यसपटकको गाईजात्रामा पनि राजनीतिक, कलाकारिता र कोरोनासँग सम्बन्धित विषयवस्तुलाई स्थान दिने बताउनु भएको छ । 


करिश्माको उमेर नै छैन, रेखा बाइस पुगिन् अरे,

प्रियंका पन्ध्रमा लागिन् साम्राज्ञी गर्भमै छ रे ।। 


यो कविताको सानो अंश सुनाउँदै सैलेन्द्रले आउँदो गाईजात्राको ट्रेलर सुनाउनु भयो । नेपाली चलचित्रक्षेत्रमा सदाबहार नायिकाको रूपमा चिनिनुभएकी करिश्मा मानन्धर, त्यसैगरी लोकप्रिय नायिका रेखा थापा, प्रियंका कार्की, साम्राज्ञी राज्यलक्ष्मी शाह लगायतलाई ब्यंग्य गर्ने कविता तयार पारेको बताउनुभयो । 

‘गत वर्ष प्रदेश प्रदेशमा गाईजात्रा सम्पन्न गरियो तर यो वर्ष त्यो सम्भव रहेन । त्यसैले मोहन गजुरेल भाईको सक्रिएतामा डिजिटल माध्यमबाट गर्ने कुरा भएको छ’, सैलेन्द्रले भन्नुभयो । उहाँका अनुसार यही आउँदो साउन १५ गतेबाट एपिवान टेलिभिजन र गजुरियल युट्युवमार्फत गाईजात्रा हेर्न सकिनेछ ।

सैलेन्द्र थप्नुहुन्छ, ‘यस वर्ष आदरणीय नेता ज्यूहरूले पनि जवाफ फर्काउन नसक्ने गरी कविता बताएको छु । दर्शकलाई नछुटाउनु हुन आग्रह गर्दछु ।’ ०३७ सालदेखि काठमाडौंको प्रज्ञाप्रतिष्ठानमा गाईजात्रा प्रहसन गर्दै आउनु भएका सैलेन्द्रले यसपटक डिजिटल गाईजात्रा गर्ने तयारी गर्दे गर्दा केही फरक अनुभव हुने बताउनु भएको छ । 

यस वर्षको गाईजात्रामा अर्को विशेष सोको रूपमा मनोज गजुरेल, सीताराम कट्टेल र कुञ्जना घिमिरेको विशेष प्रस्तुति हेर्न पाइने भएको छ । पाइलटको रूपमा देखिने तयारीमा रहनुभएका मनोज र सीतारामले सामाजिक सञ्जालमार्फत प्रचार गरिरहनु भएको छ । सीतारामले प्रधानमन्त्री केपी शर्मा ओली र मनोजले नेता पुष्पकमल दाहालको भूमिका निभाउँदै हुनुहुन्छ । देशलाई अगाडि बढाउने विषयमा पछिल्लो समय राजनीतिक चर्काचर्किलाई प्रस्तुतिमा विशेषरूपमा हेर्न पाइने उहाँहरूको भनाइ छ । सो मा एअर होष्टेजको रूपमा कुञ्जनालाई देख्न पाइनेछ । उहाँहरूले जहाजभित्रको एक तस्वीर सामाजिक सञ्जालमा सार्वजनिक गरिसक्नुभएको छ भने दर्शकहरूबाट प्रस्तुति हेर्न उत्साहित रहेको प्रतिक्रिया आएको छ ।

यसवर्षको डिजिटल गाईजात्रामा सुवोध गौतम, सुरेन्द्र केसी, शिवहरि रिजाल, हिमेश पन्त, खड्गबहादुर पुन, पशुपति शर्मा, कृष्णमुरारी गौतम, अजुन पराजुली, भरतमणि पौडेल, टेकबहादुर कोइराला, बबिता बानियाँ, यमन श्रेष्ठ, रविना अधिकारी, उधुम चन्द्र दवाडी, पूर्ण थापा, रवि डंगोल, सुमन कार्की, सुमन कोइराला, विष्णुप्रसाद गौडेल, राजाराजेन्द्र पोखरेल, रत्नवाली शर्मा, दीपक आचार्य, सन्देश लामिछाने र अर्जुन दाहालको पनि अभिनय रहनेछ ।


Views: 32