25th September | 2020 | Friday | 10:22:10 PM

चर्चा भए पुग्ने कलाकार

गोपिकृष्ण चापागाईं   POSTED ON : श्रावण २०, २०७७ (१:०४ AM)

चर्चा भए पुग्ने कलाकार

काठमाडौं । अनामनगरको बाजेको सेकुवा नजिकैको एक चिया पसलमा चियाको चुस्कि लिँदै गरेका एक गायकले ‘अब ब्लास्ट गर्ने हो’ भन्दै निकै उत्साहका साथमा आफ्नो टिमसँग कुरा गरेको सुनियो । गायकले कुराको टुंगो नलगाउँदै अर्का साथीले ‘जसरी हुन्छ गीत भाइरल बनाउने हो, बरु विवादमै आवस्’ भन्न समेत सुनियो । यो नेपाली गीतसंगीतमा बिकृती भित्राउनेहरुको एउटा सानो अंश मात्र हो । यहाँ सयौं यस्ता कलाकारहरु भेटिनुहुन्छ जो चर्चाका लागी जे पनि गर्न तयार छन् ।

संगीतमा साधना नहुने र छिटो बजारमा चर्चा कमाउन र देश बिदेश स्टेज कार्यक्रममा ब्यस्त हुन चाहाने गायक तथा गायिकाले गर्दा पछिल्लो समय नेपाली गीतसंगीतमा बिकृती छिरेको छ । अब अहिलेको कुरा गरौं, हरितालिका तिज पर्व नजिकिदै छ । एक महिना अघि देखी तिज बिशेष गीतहरु सार्वजनिक भइरहेका छन् भने कतिपय गीत अहिलेपनि छायांकन भइरहेका छन् । बिशेष गरी लोक तथा दोहोरी गीतका गायक तथा गायिकालाई अहिले फुर्सद छैन । उहाँहरुलाई कोरोनाको डर नै नभए जस्ता देखिन्छ । 

यसबर्ष गत बर्ष जसरी तिज गीतको संख्यामा भारी बृद्धि भने पक्कै नहुने भएको छ । बर्षेनी तिज पर्वकै लागी भनेर हजार बढी गीत सार्वजनिक हुने गरेको अनुमानित तथ्यांक छ । तर यसबर्षको आधाको हाराहारीमा गीत सार्वजनिक भइरहेका छन् । साथै यसबर्ष अग्रह कलाकारहरु भन्दा बढी नयाँ र छिटो ‘भाइरल’ हुन चाहाने कलाकारहरुको तिज गीत निकाल्न तछाडमछाड देखिन्छ ।

दशक अघि तिजको माहोल नेपाली गीतसंगीतमा छुट्टै थियो । दाजुभाईले दिदी लिन जाने कुरा, बुहानीले सासुलाई माइती जान्छु भन्ने कुरा जोड्दै संस्कृति झल्किएको हुन्थ्यो । तिजमा दर खाने कुरा गीतको शब्दमा नराख्दा खल्लो हुन्थ्यो । तर अहिलेका तिज गीतमा दरको साटो ‘वाइन र वियर’ भन्दै सार्वजनिक भइरहेको पाइन्छ । समय परिवर्तनसँगै गीतका शब्द तथा संगीतलाई परिवर्तन गर्नुपर्छ तर ज्यादा नै परिवर्तन हुँदा नेपाली मौलिकता हराएकोमा दशकअघिका कलाकारहरु चिन्तित हुनुहुन्छ । ‘हामीले तिज गीतमा आउने बिकृत नियन्त्रणकालागी पटक पटक पहल गरिरहेका हुन्छौं । त्यस्ता कलाकारलाई सम्झाएका छौं । संस्थागत तरिकाले कार्यालयमै पनि बोलाएर सम्झाउँछौं । तर यस्तो नगर्नुस् भन्ने भन्दा अन्य अधिकार हामीसँग हुँदैन ।’ राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठानका निवर्तमान अध्यक्ष बद्री पंगेनीले भन्नुभयो । ‘मेरो कार्यकालमा पनि यस्ता विकृती हटाउन पटक–पटक पहल गरिरहेका छौं ।’

प्रतिष्ठानका अहिलेका अध्यक्ष रमेश बिजीको सक्रिएता र गायक तथा सर्जक शिव हमालको संयोजकत्वमा १३ सदस्यीय कार्यदल गठन गरि तिज गीत बिकृती नियन्त्रण गर्न लाग्नुभएको छ । तर पनि दुई अर्थ लाग्ने, मौलिकता नभएका तिजगीत सार्वजनिक हुन छाडेका छैनन र सार्वजनिक भइसकेका हट्न सकेका छैनन् ।

अब यसबर्ष चर्चा मात्रै भए पुग्ने कलाकार र तिज गीतको कुरा गरौं, पाँचदिन अघि गायक कमल बिसीले ‘बोको’ नाम राखेर युट्युवमार्फत तिज गीत सार्वजनिक गर्नुभयो । जसमा ‘दोहोरी ब्याटल’ गरिएको छ अर्थात केटा र केटी पक्षको जुहारी नै चल्छ । शीषर्क हेरेर युट्युवमा ह्वात्तै भ्युज पाउने लोभ राख्नुभएका कमललाई त्यहि ‘बोको’ शिर्षकले तनाव दियो । दिनहुँ दर्जनौं फोन आउन थाले । ‘के गरेको यस्तो ? शिर्षक राम्रो भएननी’ भन्नेहरु धेरै भए । ५० हजार भ्युज नपुग्दै युट्युवको ट्रेन्डिङमा आउँदा कमल झन् खुसीले गदगद हुनुभएको थियो तर जतिपनि लोकक्षेत्रका अग्रहज कलाकार हुनुहुन्थ्यो उहाँहरुले गीतको बिरुद्धमा सामाजिक सञ्जालमा स्टाटस नै राख्न थालेपछि कमललाई थप तनाव भयो । यसै गीतकी गायिका सर्मिला रायमाझि भने अहिलेसम्म गालि खाने तिज नगाएको तर अहिलेको गीतमा अधिकांश गालि आएकाले चिन्ता लागेको बताउनु भयो । ‘अहिलेसम्म गालि नखाएको भएर होला धेरै गालि आउँदा कस्तो चिन्ता पनि लागेको छ’ सर्मिलाले भन्नुभएको छ । यस्तै यो गीतको भिडियोकी मोडल मध्येकी एक रितु तामाङले केहिदिन देखी फोन नै उठाउन बन्द गरेको बताउनु भयो । उहाँ भन्नुहुन्छ, ‘फोन उठाउनु भयो भने के भन्नेहोला, के गीत हो यस्तो भन्ने होला भनेर मैले त फोन नै उठाएकी छैन ।’

गायक कमलले गत आइतबार गीतको शिर्षक परिवर्तन गर्न बाध्य हुनुभयो । लोक दोहोरी कलाकारहरुको छाता संगठन दोहोरी प्रतिष्ठानले कार्यालयमै बोलाएर शिर्षक परिवर्तन गर्न लगायो । अहिले गीतको शिर्षक ‘तिज ब्याटल’ राखिएको छ ।

अर्का गायक दुर्गेश थापाले पनि दुईसाता अघि सार्वजनिक गरेको ‘बिच्च बिच्चमा ३’ गीतले निकै चर्चा पायो । यो गीतले सकारात्मक भन्दा  बढी नकारात्मक चर्चा बटुल्यो । बिशेष गरी गीतका शब्द भन्दा भिडियोमा पुरुषले महिलाको सारी लगाएर गरेको नृत्यको खुबै आलोचना गरियो । दुर्गेश भने आलोचनालाई साधारण तरिकाले लिएको देखियो । सामाजिक सञ्जालमा कुनै तर्क नराख्ने दुर्गेशको जसरी पनि गीत हिट गराउनु आफ्नो उद्देश्य हुन्छ । यसअघि पनि विवादमा परिरहने दुर्गेश अहिले भने स्वर सम्राट नारायण गोपालको गीत नचिन्दा निकै विवादमा  पर्नुभयो । कुनै प्रतिक्रिया नजनाउनु भएका दुर्गेश अहिले घरमै बसिरहनु भएको छ । थप चर्चाका लागी फेरी ‘आलु जस्तो गायक’ बोलको गीत सार्वजनिक गर्ने तयारीमा रहेको जानकारी गराउनु भएको छ । फेरी आउने गीतको शिर्षक देखेरे दर्शक तथा स्रोता हैरान भैसकेका छन् ।

यसरी यसबर्ष चर्चाकै लागी गीत सार्वजनिक गर्ने कलाकार अन्य पनि हुनुहुन्छ ।  यस्तो भनिरहँदा मौलिकता नभएका तिज गीत आएकै छैनन् भन्ने पक्कै होइन । बजारमा मौलिकता झल्किने तिज गीत आइरहेका पनि छन् । दोहोरी प्रतिष्ठानका पदाधिकारी समेत रहनुभएका रामजी खाँणले केहिसमय अघि एक तिज गीत युट्युवबाट डिलिट नै गर्नुप¥यो । साथीभाईको रंगैरंगमा तिजमा वियर खानुपर्छ भन्ने जस्ता शब्द राखेर तिजगीत सार्वजनिक गर्दा विवादमा तानिएको थियो । 


Views: 97

सम्बन्धित सामग्री:

वन चरीलाई छेकेन माहामारीले

: आश्विन ९, २०७७ (८:४८ AM)

११ स्रष्टालाई सम्मान

: आश्विन ९, २०७७ (८:४७ AM)

एउटै कृतिमा सात कवि

: आश्विन ८, २०७७ (९:१९ AM)