26th September | 2020 | Saturday | 9:59:10 PM

‘ऐना झ्यालको पुतली’ बुसान फेष्टिभलमा

  POSTED ON : भदौ ३०, २०७७ (८:२४ AM)

‘ऐना झ्यालको पुतली’ बुसान फेष्टिभलमा

काठमाडौं । ‘ऐना झ्यालको पुतली’ दक्षिण कोरियाको बुसान इन्टरनेसनल फिल्म फेष्टिभलको मुख्य प्रतिस्पर्धामा छनोट भएको छ । सुजित बिडारी निर्देशित यो फिल्म सोमबार भर्चुअल प्रेसमिटसँगै बुसानले यो सालको लाइनअप सार्वजनिक गरेको हो ।  सार्वजनिक लाइनअप अनुसार ‘ऐना झ्यालको पुतली’ बुसानको सबैभन्दा ठूलो पुरस्कार राशि रहेको ‘न्यू करेन्ट सेक्सन’मा छानिएको हो । यो सेक्सनमा नेपालसँगै विभिन्न देशका १० फिल्म छनोट भएका छन् । कुनै पनि निर्देशकको पहिलो र दोस्रो फिल्ममात्र छनोट हुने प्रावधान रहेको ‘न्यू करेन्ट सेक्सन’ मा विजेता बन्ने दुई फिल्मले ३० हजार अमेरिकी डलर (नेरु ३५ लाख) प्राप्त गर्नेछन् । 

योसँगै ‘ऐना झ्यालको पुतली’ बुसानको मुख्य प्रतिस्पर्धामा छनोट हुने पहिलो नेपाली फिल्म भएको छ । यसअघि नवीन सुब्बा निर्देशित ‘गुडबाई काठमाडौं’ न्यू करेन्टपछि सर्वाधिक पुरस्कार राशि रहेको किम जेसिओके अवार्डमा छनोट भएको थियो । किम जेसिओके अवार्डमा पनि दुई फिल्मलाई नै पुरस्कृत गरिन्छ तर यसको रकम १० हजार अमेरिकी डलरमात्र रहेको छ ।

कान्स, बर्लिन, टोरन्टो, सन्डान्सपछि प्रतिष्ठित मानिने बुसानको यो २५औं संस्करण हो । कोभिड १९ को महामारीका कारण भर्चुअल रूपमा सम्पन्न हुने फेष्टिभल यो साल अक्टोबर २१ मा सुरु भएर ३० मा सकिनेछ । लेखक÷निर्देशकको रूपमा ‘ऐना झ्यालको पुतली’ फिचर फिल्मतर्फ सुजितको डेब्यु हो । सुजितले यसअघि ‘सावित्री’को लेखन तथा निर्देशन गर्नुभएको थियो जुन १४ मिनेट अवधिको लघु फिल्म थियो । 

फिल्मले पहाडी जिल्लाको गाउँमा पढ्ने १३ वर्षीया बालिका (विद्या) को शहरमा गएर पढ्ने सपनालाई विषय बनाएको छ । तर जतिचोटी उहाँ सपनाको नजिक पुग्छिन् कुनै न कुनै बाधा आइपरेर त्यो सपना भताभुंग हुन्छ । सुजितले बालिकाको पढ्ने सपनालाई ऐना जस्तो झ्यालमा अड्किएको पुतलीसँग तुलना गरेर कथानक तयार गरेको बताउनुभयो ।

‘ऐना झ्यालमा अड्किएको पुतलीले बाहिर के छ सबै देख्छ तर जति प्रयास गरे पनि निस्कन सक्दैन । हाम्रो फिल्मको मुख्य पात्रको अवस्था पनि त्यस्तै छ, ‘सुजितले भन्नुभयो, ‘उसलाई बाहिर निस्कन छ तर हरेक पटक उसको प्रयासमा केही न केही अड्चन आइरहन्छ । यसमा हामीले हाम्रो देशका महिलाको पनि प्रतिबिम्ब देख्न सक्छौं ।’ विद्या र उनको ९ वर्षको भाइ (वसन्त) बीचको बालसुलभ सम्बन्ध फिल्ममा मियोको रूपमा रहेको सुजितले बताउनुभयो । ‘दिदीले आफ्नो सपनामा विट मार्न लागेको देखेपछि उनलाई मद्धत गर्न भाइले गर्ने प्रयत्न फिल्मको महŒवपूर्ण हिस्सा हो । यो सम्बन्धमार्फत् फिल्मले पितृसत्तात्मक सोचमा पनि बदलाव आउनुपर्ने आवश्यकतालाई इंगित गरेको छ’, सुजितले भन्नुभयो । 

सवा करोड हाराहारीको बजेटमा बनेको फिल्ममा सिरु विष्ट, कञ्चन चिमरिया, दिनेश खत्री, राज थापा, विशा चामलिङ राई, उमेश श्रेष्ठ, मल्लिका श्रेष्ठ आदि कलाकारको अभिनय छ । सिरु विष्टबाहेक फिल्ममा अधिकांश नयाँ कलाकारको अभिनय छ । 

आइसफल प्रडक्सन र लोकल सिनेमाको संयुक्त व्यानरमा बनेको फिल्मलाई आकाश पौडेल, प्रवीन स्याङ्बो, सुजित बिडारी, रामकृष्ण पोखरेल र सुशान्त श्रेष्ठ मिलेर निर्माण गर्नुभएको हो । फिल्ममा अमर महर्जनको छायांकन, किरण श्रेष्ठको सम्पादन, पुष्पसंगमको संगीत, कला संग्रौलाको प्रडक्सन डिजाइन, किशोर आचार्यको साउण्ड डिजाइन र राजेन्द्र मोक्तानको कलर ग्रेडिङ छ । 

‘ऐना झ्यालको पुतली’को निर्मातामध्येका एक रामकृष्ण पोखरेलले निर्माण गर्न लागेको अर्को फिल्म ‘रिभर इन दि मिरर’ पनि बुसानकै एसियन प्रोजेक्ट मार्केटमा छानिएको छ । निर्माता पोखरेलले यो फिल्म भुटानी निर्माता÷निर्देशक टासी ग्याल्क्षेनसँगको सहकार्यमा निर्माण गर्न लाग्नुभएको हो । एसियन प्रोजेक्ट मार्केट एसियाका फिल्ममेकरका लागि प्रोड्युसिङ पार्टनर खोज्ने उत्कृष्ट प्लेटफर्म मानिने गरेको छ । 


Views: 39

सम्बन्धित सामग्री:

वन चरीलाई छेकेन माहामारीले

: आश्विन ९, २०७७ (८:४८ AM)

११ स्रष्टालाई सम्मान

: आश्विन ९, २०७७ (८:४७ AM)

एउटै कृतिमा सात कवि

: आश्विन ८, २०७७ (९:१९ AM)