31st October | 2020 | Saturday | 4:59:30 AM

संगीतमा रुझ्न चाहने विद्या

  POSTED ON : आश्विन ११, २०७७ (१:१९ PM)

संगीतमा रुझ्न चाहने विद्या

काठमाडौँ । पछिल्लो समय आफ्नो स्वरमार्फत दर्शक तथा श्रोताको मन जित्न सफल गायिका हुनुहुन्छ विद्या तिवारी । विद्या पूर्वीय तथा पाश्चात्य दुवै गीत संगीतमा राम्रो दख्खल राख्नुहुन्छ । नेपाली गीत संगीतका श्रोता÷दर्शकबाट भर्सटाइल गायिकाको उहाँले रूपमा प्रशंसा बटुलिरहनुभएको छ । 

उहाँले नेपाल आइडल, भ्वाइस अफ नेपालमार्फत पनि आफ्नो प्रस्तुतीका कारण श्रोता दर्शकको मन जित्न सफल हुनुभएको थियो । उहाँका ‘हेल्लो हाई...’, ‘तीनपाते...’ ‘घाममा सुकाइदेऊ...’, ‘झुम्का...’, ‘भीडमा पनि...’, ‘पिच रोड...’, ‘डलर...’लगायतका दर्जनौं गीत लोकप्रिय रहेका छन् । गायनमार्फत श्रोता दर्शकको मन जित्न सफल गायिका विद्या तिवारीसँग हिमालय टाइम्सका लागि गोपिकृष्ण चापागाईंले गर्नु भएको कुराकानीको संक्षिप्त अंशः–

अहिले के गर्दै हुनुहुन्छ ?

हामी सबै विश्वव्यापी रूपमा फैलिएको कोरोना भाइरस (कोभिड–१९)को प्रत्यक्ष मारमा छौं । यसले सबै क्षेत्रलाई तहसनहस बनाएको छ । फेरि गीत संगीतका केही कामहरू भने भइरहेको छन् । म पनि आफूलाई गीतसंगीतकै कर्ममा व्यस्त राख्दै आएकी छु । यस्तै केही सामाजिक कार्यमा पनि आफूलाई संलग्न हुँदै आएकी छु । आफ्ना व्यक्तिगत कार्य, केही सामाजिक कार्यका साथै गीत संगीतका काममा आफूलाई व्यस्त बनाएकी छु भन्नुपर्ला ।

सांगीतिक यात्रा कस्तो भइरहेको छ ?

अहिलेसम्म राम्रै भइरहेको छ । राम्रै चलिरहेको छ । सबैको साथ सहयोगले थप उत्साहित छु । मन पराइदिनु भएकोमा खुशी लाग्छ ।

कहिलेदेखि गाउन थाल्नुभयो ?

मेरो घरको माहौल सांगीतिक थियो । भक्तराज आचार्य, नारायणगोपालका गीतहरू पहिलो पटक बाबाकै मुखबाट सुनेको हुँ । औपचारिक रूपमा भने आठ कक्षा पढ्दादेखि मैले गीत गाए । त्यो बेलामा ‘नेपाली तारा’को अडिसन मेरो घरबाट पाँच मिनेटअगाडिको स्कुलमा भइरहेको थियो । मेरो बाबाले मेरो गायनतर्फको लगाव देखेर फर्म भरिदिनुभएछ । सो अडिसनमा मैले ‘जहाँ छन् बुद्धका आँखा...’ गाए । मैले अलिकति गीत गाउनेबित्तिकै जजहरूले ‘लैजाऊ–लैजाऊ’ भन्दै सेलेक्ट भएको कार्ड दिनुभएको थियो । त्यो बेला पढाइ नै मेरो पहिलो प्राथमिकता थियो । त्यसैले छनोट भए पनि काठमाडौं आउन पाइनँ । मैले सानैदेखि हेटौंडामा भएका सांगीतिक प्रतियोगिता कुनै पनि छोडिनँ । सबैमा गाए र सबैको तारिफ बटुल्थे । 

संगीतसम्बन्धी अध्ययन पनि गर्नुभयो कि ?

प्लस टू सकिएपछि काठमाडौं आएँ । रेडियो थाहा सञ्चारमा काम गर्न थालेँ । रेडियो नेपालमा म्युजिक क्लास लिन थालेँ । गुरु प्रमोद प्रसाईंसँग भेट भयो । त्यहाँबाट क्लासिकल म्युजिकतिर झुकाब बढ्न थाल्यो । 

यहाँ प्रायः गीतले चर्चा पाइरहेका हुन्छन्, अनि एकपछि अर्को ट्रेन्डिङमा छन् नि ?

तपाइँले भनेजस्तै मेरो स्वरमा रहेका गीतलाई श्रोता÷दर्शकले अत्यधिक मन पराइदिनु भएको छ । तर, मलाई के लाग्छ भने गीत चल्नुमात्र सफल हुनु होइन । मलाई गीत चल्यो भन्दै आफू सफल भएजस्तो लाग्दैन । किनभने, धेरै मिहिनेत गर्न बाँकी छ । म कुनै चिज पाउँदैमा खुशी भइहाल्दिनँ । मैले यो क्षेत्रमा अझ धेरै गर्न बाँकी छ । म यतिकैमा सन्तुष्ट भएर बस्ने खालको होइन । आफूले गाएको गीत ट्रेन्डिङमा पर्दा, सबैको मुखमा झुण्डिँदा खुशी लाग्छ नै । 

तपाइँ आफूलाई कस्तो गायिका रूपमा चिनाउन चाहनुहुन्छ ?

म कुनै एउटा दायराभित्र बाँधिन चाहन्न । आफूलाई भर्सटाइल सिंगरको रूपमा चिनाउन चाहन्छु । पूर्वीय र पाश्चात्य दुवै शैलीका गीत मज्जाले गाउन सक्छु ।

आफैंले चाहिँ कस्ता गीत सुन्नुहुन्छ बढी ?

नेपाली, अंग्रेजी, हिन्दी, रक, पप, क्लासिकल सबै गीत सुन्छु । म सबै प्रकारका गीत सुन्छु । सबै प्रकारका गीत मनपर्छ ।

मनपर्ने गीत ?

नारायण गोपालले गाउनुभएको ‘गल्ती हजार हुन्छन्, यहाँ होस हराएको बेला...।’ त्यस्तै अरुणा लामाको ‘फूललाई सोधेँ...’ र माइतीघर फिल्मको ‘नमान लाज यसरी...’ पनि मेरा प्रिय गीतहरू हुन् ।

तपाइँलाई मनपर्ने गायक–गायिका ?

मलाई नारायण गोपाल, तारादेवी, अरुणा लामाहरूको गीत अत्यधिक मनपर्छ ।

गीतसंगीत सुन्ने कुनै समय छ कि ?

छैन त्यस्तो समय । म जतिबेला पनि गीत संगीत सुन्न मन पराउँछु । यात्रामा रहँदा सधंै कानमा एयरफोन घुसारेर हिँड्छु । अरू त अरू, पढिरहँदा पनि मलाई गीत बजाउनै पर्छ । म वर्षात्मा रूझेझैं संगीतमा रुझ्न चाहन्छु ।

... . .


Views: 68

सम्बन्धित सामग्री:

प्रिन्सको ‘ट्राफिक हाम्रै साथी’

: कार्तिक ६, २०७७ (२:१० PM)