31st October | 2020 | Saturday | 5:04:05 AM

अमेरिकाको थिएटरमा अभिनय गर्दैै ओमराज

  POSTED ON : आश्विन १२, २०७७ (९:०२ AM)

अमेरिकाको थिएटरमा अभिनय गर्दैै ओमराज

काठमाडौं । नेपाली युवा ओमराज राउतले अमेरिकाको अफ ब्रोडवे थिएटरमा क्वारेन्टिनमा जीवन बचाउने १० तरिका नामको नाटकमा अभिनय गर्ने हुनुभएको छ । फ्रिगिड न्यू योर्क थिएटर महोत्सवमा आफ्नो एकल नाटकसमेत मञ्चन गरिसक्नुभएका राउतले अल्फा एनवाइसी थिएटर कम्पनीको अनलाइन प्रोडक्सनमा काम गर्न लाग्नुभएको हो । 

डोन जोलिडिसको नाटक क्वारेन्टिनमा जीवन बचाउने १० तरिकामा एलिस क्यामारोटाको निर्देशन छ । राउतले विगत ६ वर्षदेखि न्यूयोर्कमा नाटकसम्बन्धी अध्ययन र अभिनय गर्दै आउनुभएको छ । यो नाटकमा घरमा लामो समय विताइरहेकालाई क्वारेन्टिनमा जीवन बचाउने तरिकाबारे समाधान दिने राउतले बताउनुभयो । यो कमेडी नाटकमा कलाकारहरूले अनलाइनबाट अभिनय गर्ने जनाइएको छ । यो लचकदार कमेडीबाट घरमा बसिरहेकाले मनोरञ्जन लिनसक्ने उहाँको अपेक्षा छ ।

नाटक घरैबाट हेर्न सकिनेछ । तर त्यसका लागि अनलाइनबाट टिकट लिनुपर्नेछ । नाटकमा राउतसहित दुई दर्जनबढी अमेरिकन कलाकारहरूले अभिनय गर्नेछन् । राउतले न्यूयोर्कको ब्रोडवे शोमा यसअगाडि पनि अभिनय गरिसक्नुभएको छ ।

न्यूयोर्कमा अभिनय विषयमै अध्ययन गरिरहेका उहाँले कलेजमा मात्र नभई कलेजबाहिरका थिएटरहरूमा पनि अभिनय गर्दै आउनुभएको छ । सिटी कलेज अफ न्यूयोर्कमा अध्ययनरत उहाँले नेपालमा अभिनय र पब्लिक स्पिकिङमा डिप्लोमा गर्नुभएको छ । उहाँले गतवर्ष एलिस क्यामारोटाको अभिनय रहेको लाइसिसट्राटा नामको युद्धविरोधी कमेडीमा प्रहरी र एकजना बुढो व्यक्तिको भूमिका निभाउनुभएको थियो ।

लाइसिसट्राटा नाटक एरिस्टोफानिसले लेखेको ग्रिक कमेडी थियो, जुन झण्डै २४ सय वर्षअगाडि एथेन्समा प्रदर्शन गरिएको बताइन्छ । त्यसअगाडि उहाँले न्यूयोर्कको म्यारियन एन्डरसन थिएटरमा किङ लियर नाटकमा नाइट र एड्गरको भूमिकामा अभिनय गर्नुभएको थियो । त्यस्तै आवर लेडी अफ १२१ स्ट्रिट नामको नाटकमा पनि उहाँले गेलको भूमिकामा अभिनय गर्नुभएको थियो । यो नाटक ट्राइबेका पर्फमिङ आर्ट सेन्टर न्यूयोर्कमा मञ्चन भएको थियो ।

बिएमसिसी थिएटर हलमा मिडसमर्स नाइट ड्रिममा अभिनय गर्नु भएका उहाँले भारतको अन्तर्राष्ट्रिय कलकत्ता थिएटर महोत्सवमा अनाइट विथ माओ नाटकमा पनि अभिनय गर्नुभएको थियो । उहाँले उक्त महोत्सवमा वेष्ट प्ले अवार्डसमेत प्राप्त गर्नुभएको थियो । त्यसअगाडि उहाँले नेपालमा कथा देश नामको नाटकमा पनि अभिनय गर्नुभएको थियो । 


Views: 244

सम्बन्धित सामग्री:

प्रिन्सको ‘ट्राफिक हाम्रै साथी’

: कार्तिक ६, २०७७ (२:१० PM)