31st October | 2020 | Saturday | 4:31:16 AM

सालैजोका ‘किङ’ खड्ग गर्बुजा

धु्रवसागर शर्मा   POSTED ON : आश्विन १२, २०७७ (९:०४ AM)

सालैजोका ‘किङ’ खड्ग गर्बुजा

म्याग्दी । ‘ढुंगाको काप फोरेर पनि उम्रन्छ पीपल, सिर्जना शक्ति संसारमा कहिल्यै हुँदैन विफल’ नेपालका राष्ट्र कवि माधवप्रसाद घिमिरेको माथिको कवितांशलाई सत्यसावित गरिदिनु भएको छ म्याग्दीको दुर्गम गाउँ मराङमा जन्मिनु भएका खड्ग गर्बुजाले ।

सालैजोका ‘किङ’को उपनामलेसमेत देश–विदेशमा चर्चित बनेका गर्बुजाको वर्तमान जति सुखद् र सम्पन्न छ, उहाँको बाल्यकाल त्योभन्दा दुःखद् र निस्सार थियो । १६ वर्षको उमेरमा बेलायती सेनामा भर्तीका लागि गल्लाको छनोटमा परिसकेका बेला घाँस काट्न जाँदा भीरबाट लडेर मेरुदण्ड भाँच्चिएका उहाँलाई सारा जीवन अन्धकारमय हुने भयो भनेर पर्नु पीर परेको थियो । तर, संघर्षका पहाडहरू छिचोल्दै वर्तमानको मैदानमा रमाइरहेका गर्बुजाले हिम्मत हार्नुभएको छ । उहाँ कसिला बन्दै रसिलो सांगीतिक फाँटमा मौलाउन पुगे ।

०४६ सालमा राजधानी छिरेका ०४७ सालमा रेडियो नेपालबाट स्वर परीक्षा उत्तीर्ण गरेर औपचारिक सांगीतिक यात्रा आरम्भ गर्नुभएका गर्बुजा नेपालको पश्चिमी क्षेत्रमा प्रसिद्ध बनेको सालैजोको भण्डार मानिनुहुन्छ । 

०४७ सालदेखि अहिलेसम्म ९ सयभन्दा बढी गीत रेकर्ड गरिसक्नु भएका गर्बुजाले आफूले सिर्जना गरेका, तर रेकर्ड नभएका पनि २०÷२५ वटा गीत रहेको बताउनुभयो । हराइसकेको माउरी बाजालाई चर्चामा ल्याउने श्रेय पनि खड्गलाई नै जान्छ । ०५४ देखि रेडियो नेपालको सांगीतिक शाखाका जागिरे खड्ग शब्द–लय संकलन, गायनसँगै बाँसुरी, मादल, माउरी बाजा बजाउनु हुन्छ । आफ्नै पेशागत धर्म अर्थात् गीतसंगीतमै व्यस्त रहने गरेको गर्बुजाले बताउनुभयो ।


Views: 67

सम्बन्धित सामग्री:

प्रिन्सको ‘ट्राफिक हाम्रै साथी’

: कार्तिक ६, २०७७ (२:१० PM)