29th November | 2020 | Sunday | 3:44:47 PM

गीत सुन्न सकिने मोबाइल एप

  POSTED ON : कार्तिक ५, २०७७ (७:५७ AM)

गीत सुन्न सकिने मोबाइल एप

काठमाडौं । म्युजिक नेपालले एनसेल र न्यू आइटी भेन्चरको सहकार्यमा नेपाली गीतसंगितका पारखीका लागि विश्वस्तरीय एप ल्याएको छ । एण्ड्रोइड र आइओएस दुवैथरि मोबाइल फोनमा चलाउन सकिने यस एपको हाइपरलिंक एन्ड्रोइड र आइओएस रहेको छ । 

यस एपमार्फत प्रयोगकर्ताले लोकदोहोरी, आधुनिक, पप, नेपाली फिल्म, भाषाभाषीलगायत कुनै पनि विधामा अहिलेका चर्चित, लोकप्रिय गीतहरूमात्र नभई पुराना सदाबहार नेपाली गीतहरू पनि चौबीसै घण्टा सुन्न सक्नेछन् । त्यतिमात्र नभई आफ्नो रुचि अनुसारका गीतहरू छान्न, सूची बनाउन र संग्रहित गर्न सकिनेछ । विश्वका अरू थुप्रै मुलुकका कलाकारले व्यावसायिक रूपमा उठाइरहेको फाइदा अब म्युजिक नेपालको माध्यमबाट एनसेलमार्फत नेपाली श्रष्टा कलाकारले पनि उठाउन सक्ने भएको हुनाले यसलाई एउटा महŒवपूर्ण उपलब्धि मान्न सकिने म्युजिक नेपालले जनाएको छ । दशैँ, तिहार तथा छठ पर्वको उपलक्ष्यमा एक महिनासम्म निःशुल्क गरिएको यस एप एनसेलका वर्तमान अवस्थामा भएका करिब १ करोड ६३ लाख ग्राहकका लागि उपलब्ध गराइएको छ । यस एपले नेपाली मोबाइल प्रयोगकर्तालाई पनि संगीत सुन्ने नयाँ र सुखद् अनुभवसँग परिचित गराउनेछ । 

एप डाउनलोड गर्दा कुनै शुल्क लाग्ने छैन । तर डेटाको शुल्क भने प्रयोगकर्ताको योजना अनुसारको लाग्न सक्नेछ । एप प्रयोग गरेको पहिलो ३० दिन कुनै शुल्क लाग्दैन । त्यसपछि प्रतिदिन तीन रुपैयाँ, प्रतिहप्ता १५ रुपैयाँ वा प्रतिमहिना ५० (करबाहेक)मा असीमित संगीत सुन्न सकिनेछ ।


Views: 80