30th November | 2020 | Monday | 3:57:08 AM

प्रिन्सको ‘ट्राफिक हाम्रै साथी’

  POSTED ON : कार्तिक ६, २०७७ (२:१० PM)

प्रिन्सको ‘ट्राफिक हाम्रै साथी’

काठमाडौं । बाल गायक प्रिन्स सिलवालको स्वरमा रहेको नयाँ गीत ‘ट्राफिक हाम्रै साथी’ सार्वजनिक भएको छ । मुख्य अभिनय प्रिन्स सिलवालकै रहेको सन्देशमूलक गीत तथा भिडियो प्रिन्स सिलवालकै युट्युब च्यानलमा सार्वजनिक भएको हो । मंगलबार काठमाडौंमा एक कार्यक्रम आयोजना गर्दै महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रहरी वरिष्ठ उपरीक्षक भीमप्रसाद ढकालले गीत तथा भिडियो विमोचना गर्नुभयो । जनमानसमा ट्राफिक सन्देश दिन गीतले महत्वपूर्ण भूमिका खेल्ने महाशाखाका प्रमुख ढकालले कार्यक्रममा बताउनुभयो । 

प्रिन्सको पाँचौं प्रस्तुति रहेको ट्राफिक सचेतनाको विषयमा केन्द्रित गीत काठमाडौंको माइतीघर, बानेश्वर, शंखमूल, पुतलीसडकलगायत विभिन्न क्षेत्रमा छायांन गरिएको छ । गीतमा महानगरीय प्रहरी कार्यालय रानीपोखरीका प्रमुख प्रहरी नायब महानिरीक्षक विश्वराज पोखरेल तथा महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक भीमप्रसाद ढकालको सन्देश मूलक अभिनय छ । 

रमेश पाठकले निर्देशन गर्नुभएको सार्वजनिक गीतमा जेब्रा क्रसिङबाट उपयुक्त समयमा बाटो काट्न, मापसे गरेर गाडी नचलाउन, ट्राफिक बत्ती हेरेर बाटो काट्न र गाडी चलाउन तथा आकाशे पुलबाट हिँड्न अनुरोध गरिएको छ । नागरिकले ट्राफिक प्रहरीलाई आफ्नै साथी र सहयोगीका रूपमा हेर्नुपर्नेमा गीतमा जोड दिइएको छ ।

डा. हरिप्रसाद सिलवाल, प्रमिला सुवेदको शब्द रहेको गीतमा प्रेम घिमिरेको संगीत छ । नवीनबाबु गुरुङको छायांकन रहेको गीतमा गायक सिलवालसहित बालकलाकार आर्यान पौडेल, संहिता सिलवाल, उत्कृष्टा थपलिया, सम्पन्न सिलवाल, मिराज ढकाल, पार्शव भट्ट, युमिसा लामिछाने र शशि गुरुङको अभिनय छ । अतिथि कलाकारमा प्रहरी निरीक्षक दामोदर भट्ट, कृष्ण रसाल र नवीना केसी, सरिता भुजेल हुनुहुन्छ ।

ग्त वर्ष दशैँका अवसरमा गायक सिलवालले अभिनेता सरोज खनालको अभिनय रहेको श्रव्यदृष्यसहितको गीत (म्युजिक भिडियो) ‘बाबा’ बजारमा ल्याउनुभएको थियो । त्यसअघि उहाँले ‘माया लाग्छ नेपालको’, ‘दशैँ मनाउने हो’, ‘न मानामा नापिन्छ माया’ बोलको गीत बजारमा ल्याउनु भएको थियो । 


Views: 76