3rd December | 2020 | Thursday | 3:55:20 AM

रामचन्द्र र जुनुको तिहार गीत

  POSTED ON : कार्तिक १७, २०७७ (१०:३७ AM)

रामचन्द्र र जुनुको तिहार गीत

काठमाडौं । लोकप्रिय गायक रामचन्द्र काफ्ले र गायिका जुनु रिजाल काफ्लेको स्वरमा रहेको नयाँ तिहार गीत सार्वजनिक गरिएको छ । विशेषगरी तिहार पर्वलाई लक्षित गरी निर्माण गरिएको ‘यो तिहारमा’ बोलको गीत तथा गीतको भिडियो गायक रामचन्द्रकै लगानीमा निर्माण गरिएको छ । भिडियो गायक स्वयंको युट्युब च्यानलबाट सार्वजनिक गरिएको छ ।

गीतमा रामकुमार बगरको शब्द रहेको छ भने संगीत रामचन्द्र काफ्लेकै छ । नेपसिने फिल्म स्टुडियोले निर्माण गरेको भिडियोमा पल्पसा डंगोल, वसन्त अधिकारी, सुधीर श्रेष्ठ, चक्र बम, गरिमा श्रेष्ठ, रुविना अधिकारी, अस्मिता पन्तलगायतको अभिनय छ । विधान कार्कीले निर्देशन गरेको उक्त भिडियो उत्सव दाहालको टिमले खिचेको हो । श्याम लामाको मेकअप रहेको भिडियो विकास दाहालले सम्पादन गर्नुभएको छ । 

गायक रामचन्द्रले यस वर्षको तिहारमा बाहिर देउसी भैलो खेल्ने माहौल नरहेकाले घरमै परिवारसँग रमाइलो गर्न आग्रह गर्नुभयो । ‘यो वर्ष कोरोना भाइरसका कारण हामी बाहिर निस्किने अवस्था रहेन त्यसैले आफ्नो परिवारका सदस्यहरूमात्र घरमै रमाइलो गर्नुपर्ने अवस्था छ । गीतमार्फत त्यही सन्देश दिएका छौं’, गायक रामचन्द्रले भन्नुभयो । ‘गीत तथा भिडियो निर्माणमा कुनै कम गरेका छैनौं, बाँकी दर्शक तथा स्रोताको जिम्मामा छ ।’

भिडियोका निर्देशक विधान कार्कीले पनि नेपसिने को प्रोडक्सनमा बन्ने भिडियोहरू केही फरक हुने बताउनु हुन्छ । पछिल्लो समय लगानीकर्ताले व्यावसाहिक भिडियो खोज्ने भएकाले त्यस्ता कुराहरूलाई मध्यनजर गर्दै भिडियो मेकिङमा आफ्नो कम्पनीले ध्यान दिएको बताउनुभयो । गायक रामचन्द्रको नयाँ युट्युबमा अपलोड गरिएको यस गीतलाई चारदिनमा ५० हजार पटक हेरिएको छ ।


Views: 451

सम्बन्धित सामग्री:

रमेशको नन्दासँग बिहे पक्का

: मंसिर १७, २०७७ (९:०९ AM)

कृष्ण–लीलाको सुटिङ सुरु

: मंसिर १६, २०७७ (८:४८ AM)