3rd December | 2020 | Thursday | 4:12:10 AM

‘प्रेम प्रस्ताव धेरै आउँछन्’

हिमालय टाइम्स   POSTED ON : मंसिर ६, २०७७ (३:४२ PM)

‘प्रेम प्रस्ताव धेरै आउँछन्’

नेपाली म्युजिक भिडियोको क्षेत्रमा तीन वर्षअघिदेखि संघर्षरत मोडल सञ्चिता शाही अझै पनि लोकप्रिय तथा चर्चित बन्न संघर्ष गरिरहनुभएको छ । झण्डै तीन सयवटा म्युजिक भिडियोमा मोडलिङ गरिसक्नु भएकी सञ्चितालाई अझै धेरै दर्शकले यही गीतको मोडल हुन् भनेर ठ्म्याउन सक्दैनन् अर्थात् उहाँले मोडलिङ गरेका गीत निकै हिट भएका छैनन् । 

आफूले काम गरिरहँदा कुनै गीत हिट हुने र कुनै नहुने तर आफ्नोतर्फबाट सधैं राम्रो काम गरिरहेको सञ्चिता बताउनुहुन्छ । ‘हिट हुने÷नहुने पछिको कुरा हो, तर गीतमा मोडलिङ गर्नेक्रममा पूर्णरूपमा आफ्नो तर्फबाट मिहिनेत गरिन्छ’, सञ्चिताले हिमालय टाइम्ससँग भन्नुभयो, ‘सायद म अनलक्की हुँ कि सयौं भिडियोमा काम गर्दा दर्शकको मुखमा झुण्डिने गीत नहुनु ।’

यति भन्दै गर्दा सञ्चिताले अभिनय गरेका गीतहरूमध्ये केही भने दर्शकले मन पराएका छन् । उहाँले अभिनय गरेको मौसमय गुरुङको ‘अन्धोपन’ बोलको गीतलाई दर्शक तथा श्रोताले मन पराएको पाइन्छ । यस्तै तीज गीत ‘चेली’बाट पनि थप दर्शकले आफूलाई चिनेको सञ्चिता बताउनुहुन्छ । उहाँले अभिनय गरेका अधिकांश गीत ‘सेन्टिमेन्टल’ नै छन् । विशेषगरी दर्शकले एकपछि अर्को रुवाउने गीतमै रूचाएका कारण अफर त्यही किसिमको आउने सञ्चिताले बताउनुभयो ।

मोडल सञ्चिताले प्रेम प्रस्तावको प्रश्नमा पनि खुलेर उत्तर दिनुभयो । विशेषगरी ग्ल्यामर क्षेत्र त्यसमाथि अविवाहित अनि यो उमेर, प्रेम प्रस्ताव त धेरै आउँछन् होला ? हाम्रो प्रश्नमा सञ्चिता भन्नुहुन्छ, ‘प्रेम प्रस्ताव त धेरै आउँछन् । विशेषगरी यो क्षेत्रमा लागेका केटी मान्छेलाई प्रेम प्रस्ताव आउनु स्वभाविक हो । आफूले त्यसलाई कसरी लिने भन्ने कुरामा फरक पर्छ ।’ उहाँले आफूलाई प्रेम प्रस्ताव धेरै आएपछि आफू भने अझै पनि प्रेममा नपरेको र अझै करिअरलाई नै फोकस गरिरहेको बताउनुहुन्छ ।

सञ्चिताले अझै पनि यो क्षेत्रमा संघर्ष गरिरहेको र सफलता नपाएको बताउनुहुन्छ । कतिपय छोटो समयमा आएका मोडलहरूको सफलता देख्दा र बजारको हल्ला सुन्दा निर्माता तथा निर्देशकसँग नजिक हुनुपर्ने रहेछ भन्ने कुनै बेला सञ्चिताको दिमागमा आउँछ तर उहाँले सधैं सही बाटोबाट मात्र काम गर्ने अठोट लिएको बताउनुहुन्छ ।

अहिलेको समयमा कोरोना भाइरस महामारीले गर्दा धेरै काम नभएको तर समय अनुकूल मिलाएर केही भिडियोमा काम गरेको उहाँ बताउनुहुन्छ । सञ्चिताका अनुसार महामारीबीच १० वटा म्युजिक भिडियोमा काम गरिसक्नुभएको छ ।


Views: 397

सम्बन्धित सामग्री:

रमेशको नन्दासँग बिहे पक्का

: मंसिर १७, २०७७ (९:०९ AM)

कृष्ण–लीलाको सुटिङ सुरु

: मंसिर १६, २०७७ (८:४८ AM)