काठमाडौं । नेपाली चलचित्र ‘लप्पन छप्पन २’ आउँदो फागुन २७ गतेबाट नेपालीसहित चार भाषामा रिलिज हुने भएको छ । चलचित्र नेपाली, हिन्दी, तमिल र भोजपुरी भाषामा रिलिज हुन लागेको निर्माण टिमले आइतवार एक पोष्टर सार्वजनिक गर्दै जानकारी गराएको छ । चलचित्रको मुम्बईमा हिन्दी, तमिल र भोजपुरी भाषामा डब गरिने निर्देशक मुकुन्द भट्टले बताउनु भएको छ ।
उहाँले भन्नुभएको छ, ‘म केही दिनमा फिल्मको डबिङका लागि मुम्बई जाँदैछु । म पहिला त्यहाँ बसेर आएका कारण राम्रो चिनजान छ । नेपालमा फिल्म प्रदर्शन भएपछि भारतको ओटीटीमा रिलिज गर्ने तयारी छौं । यसका लागि केही कम्पनीसँग कुराकानी भइरहेको छ र उनीहरू सकारात्मक देखिएका छन् ।’ नेपाली चलचित्रलाई अन्तर्राष्ट्रियस्तरमा पु¥याउन आफूले प्रयास गरेको उहाँ बताउनुहुन्छ ।
एक्सन जनरामा निर्माण भएको चलचित्रमा सौगात मल्ल, अर्पण थापा, अनुपविक्रम शाही, शिव श्रेष्ठ, प्रकाश कुँवर, दीपक क्षेत्री, सरिता गिरी, एञ्जल श्रेष्ठ, अनिल खनाल, राजेन्द्र विष्टलगायतको अभिनय छ । खिलेन्द्रराज तिमसिनाको प्रस्तुति रहेको यो चलचित्रबाट शक्ति श्रेष्ठ, केरोलिन कोलिण्डा, सुपर गुरुङ, आना ढकाल, सिर्जना सिना, रञ्जित वन्तले अभिनयमा डेब्यु गर्दै हुनुहुन्छ ।
पुरुषोत्तम प्रधानको छायांकन रहेको चलचित्रको पटकथा र संवाद मुकुन्द भट्ट र सुनिल नेउरेले लेख्नु भएको हो भने पटकथामा अमित शर्माले सघाउनु भएको छ । सुरज अधिकारी र प्रजापति सिवाकोटी कार्यकारी निर्माता रहेको चलचित्रमा दीलिप ओकेडाको कोरियोग्राफी, हिमाल केसी र मुकुन्द भट्टले द्वन्द्व र मिलन श्रेष्ठले सम्पादन छ ।
Views: 57