27th February | 2021 | Saturday | 3:17:27 PM

गीतसंगीत मानव जीवनको सभ्यता र संस्कृतिको आधार हो : कीर्तिमानी संगीतकार सन्तोष श्रेष्ठ

  POSTED ON : फाल्गुन ८, २०७७ (१०:१० AM)

गीतसंगीत मानव जीवनको सभ्यता र संस्कृतिको आधार हो : कीर्तिमानी संगीतकार सन्तोष श्रेष्ठ

नेपाली सुगम संगीतको क्षेत्रमा पछिल्लो पुस्तामा सशक्त संगीतकारको नाम हो सन्तोष श्रेष्ठ । उहाँले संगीत भर्नुभएका धेरै गीतहरू श्रोता÷दर्शकको मन मष्तिकमा राज गर्न सफल छन् । गीतहरूमा जति राम्रा धुन भर्न खप्पिस हुनुहुन्छ सन्तोष कर्णप्रिय स्वरका पनि त्यतिकै धनी हुनुहुन्छ । गायनमा भन्दा पनि संगीतबाटै चर्चाको शिखरमा उक्लिन सफल उहाँको परिचय अब कीर्तिमानी संगीतकारको रूपमा रहेको छ । डा. डीआर उपाध्यायको शब्द ‘माया को सागरमा’ भन्ने गीतमा सन्तोषले गरेको संगीतले गिनिज बुक अफ वल्र्ड रेकर्ड कायम गरेको हो । नेपाली संगीतकर्मीले पनि विश्वव्यापी काम गर्न सक्छन् भन्ने तथ्यलाई संगीतकार सन्तोष श्रेष्ठले प्रमाणित गर्नुभएको छ । विश्व संगीतको इतिहासमा पहिलोपटक १२ अन्तर्राष्ट्रिय भाषामा संगीत गरेबापत विश्वकै प्रतिष्ठित संस्था गिनिज बुक अफ वल्र्ड रेकर्डले संगीतकार श्रेष्ठलाई विश्व कीर्तिमानी संगीतकारको प्रमाणपत्र प्रदान गरेको हो । नेपाली, हिन्दी, चाइनिज, जापानी, अंग्र्रेजी, रसियन, कोरिन, फ्रेन्च, स्पेन, इटालियन, जर्मन र थाई गरी १२ भाषामा गीत रेकर्डिङ गरिएको थियो । विगत बीस वर्षदेखि निरन्तर सांगीतिक क्षेत्रमा क्रियाशील श्रेष्ठले झण्डै ८ सयभन्दा बढी गीतमा संगीत भर्नुभएको छ भने एकल संगीतमा ३६ गीति एल्बम प्रकाशित छन् ।

दाङ स्थायी घर भई काठमाडौंलाई कर्मथलो बनाएर आफ्ना सिर्जना पस्किरहनुभएका सन्तोषको ‘तिमीले पराई ठानेपछि पराई हुन के भयो र ?’, ‘आउँछु भनी निष्ठुरीले भर किन पार्नु’, ‘तिमीले भुल्न सके पनि मैले भुल्न सकिनँ भो,’ ‘तिम्रो दिलमा चोट लाग्दा मेरो दिलमा दुख्छ’, ‘किन आउँछ तिम्रो याद एकान्तमा यति धेरै’, ‘तिमीले हाँसो लुटी लाग्यौ रुँदै रुँदै बाँचेकी छु’, ‘तिमीलाई सञ्चो छैन भन्ने खबर पाएँ मैले’, ‘परेलीको वर्षात्ले छातीभित्र पहिरो गयो’, ‘तिम्रै यादमा भित्रभित्रै जलीजली बाँचेकी छु,’ ‘स्वार्थी छ दुनियाँ’, ‘सन्तानको शिर उठाउन’ ‘बेदनाको भेल’, ‘पुरानो घाउ’लगायत सयौं गीत लोकप्रिय रहेका छन् । आधुनिक, स्वदेश, लोक तथा फिल्मी गीतहरूमा संगीत भर्नुभएको छ सन्तोषले । संगीत अनुशासन, संस्कार र जीवन हो भन्ने सन्तोषसँग हिमालय टाइम्सको हिँडदा हिँडदैका लागि कृष्ण भुसालले गर्नुभएको कुराकानीको संक्षिप्त अंशः–

पछिल्लो समय केमा व्यस्त हुनुहुन्छ ?

संगीत सिर्जनामै व्यस्त छु ।

सन्तोष श्रेष्ठ को हो ?

संगीतको विद्यार्थी हो । जसले प्रत्येक दिन नयाँ–नयाँ सांगीतिक आविष्कारका लागि साधना गरिरहन्छ ।

जीवन के हो ? गीतसंगीतलाई कसरी परिभाषित गर्नुहुन्छ ?

जीवन सत्यको खोजी हो । मेरो परिभाषामा गीतसंगीत मानव जीवनको सभ्यता र संस्कृतिको आधार हो । जहाँ संस्कार, अनुशासन र साधना जोडिएका हुन्छन् ।

तपाईं कसका लागि गीतसंगीत सिर्जना गर्नुहुन्छ ?

म पहिला केवल मेरै लागि सिर्जना गर्दछु । जब रेकर्डिङ भएर बाहिर जान्छ अनि समग्र प्राणीहरूका लागि बन्दछ ।

कहिलेदेखि यो क्षेत्रमा हुनुहुन्छ ? 

औपचारिक रूपमा दुई दशकदेखि निरन्तर यो क्षेत्रमा छु ।

तपाईंको सिर्जनाको आधार के हो ?

म रमाइरहेको प्रकृति र संस्कृति अनि भाषिक र सांगीतिक साधनानै मेरो सिर्जनात्मक आधार हुन् ।

अहिलेको नेपाली गीतसंगीतको अवस्था कस्तो पाउनुहुन्छ ?

नयाँ कलाकारहरूले नयाँ सिर्जना पस्किरहनु भएको छ । नेपाली मौलिकतासँगसँगै संगीत साधनाको गहिराई र उचाइको अध्ययनको अभाव देखिन्छ ।

राम्रो गीत, युवती र रक्सीमध्ये कुनलाई रोज्नु हुन्छ ?

मेरो जीवनको लक्ष्य राम्रो गीत नै हो ।

यहाँले सिर्जना गरेको संगीतले गिनिज बुकअर्फ वल्र्ड रेकर्ड राख्नसमेत सफल भएको छ, नेपाली गीतसंगीतलाई विश्व गीतसंगीतको दाँजोमा कहाँनेर पाउनुहुन्छ ?

हो, तपाईंले भने जस्तै मैले संगीत गरेको डा. डीआर उपाध्यायको शब्द रहेको गीतले गिनिज बुक अफ वल्र्ड रकेर्डमा दर्ता हुने अवसर पाएको छ । 

विश्व संगीतको मानचित्रमा नेपाली संगीतको छुट्टै र विशिष्ट परिचय छ । तर, यसलाई विश्वव्यापी बनाउन हामीमा विषयगत अध्ययनको अभाव भएको म पाउँछु ।

गीतको आत्मा केलाई मान्नुहुन्छ ?

गीतको आत्मा संगीत हो । शब्द, संगीत र स्वरको त्रिवेणीले सुन्दर सुनिन्छ ।

तपाईंलाई आफ्ना सिर्जना श्रोतामाझ पु-याएपछि कस्तो महसुस हुन्छ ?

म कुन स्तरको सिर्जना गरिरहेको छु भन्ने कुरा श्रोतामाझ पुगेपछि महसुस गर्छु ।

बजारमा राम्रा गीतकार र गीतभन्दा ‘झुर’ले बजार तताइरहेको देख्दा कत्तिको झोंक चल्छ ?

गीत संगीतको स्तर व्यक्तिको चेतनाको स्तरमा निर्भर गर्दछ । गीतसंगीतमा मनोरञ्जनसँगसँगै जीवन, समाज र राष्ट्र जोडिएको हुनुपर्छ ।

गीत संगीतका क्षेत्रमा रहेका गुटउपगुटहरूलाई तपाईं कुन रूपमा लिनुहुन्छ ?

कुनै पनि स्रष्टाले सिर्जनात्मक उचाइ प्राप्त गर्न नसकेपछि गुट–उपगुटहरूको टेकसोमा उभिन विवस हुन्छ ।

अवार्ड प्राप्त गरिरहेका गीतसंगीतका बारेमा तपाईंको धारणा के छ ?

तपाईंले संगीतमा जीवन समर्पण गरेर तयार गरेको गीतसंगीतले प्राप्त गरेको अवार्ड तपाईंलाई नै ग्लानी महसुस नहोस् ।

अन्त्यमा, सिर्जना या कृति के हो ?

मलाई राष्ट्रिय दैनिक हिमालय टाइम्समा हिँडदा हिँडदै यो छोटो र विशेष कुराकानीमा आफ्नो विचार प्रस्तुत गर्ने अवसर दिनुभएकोमा हार्दिक धन्यवाद । सिर्जना वा कृति म बाँचेको सिर्जनात्मक जीवनको र युगको जीवन्त दस्तावेज हो ।


Views: 207

सम्बन्धित सामग्री:

अनानिकीलाई कलाकारको साथ

: फाल्गुन १४, २०७७ (८:४१ AM)