27th February | 2021 | Saturday | 2:53:31 PM

सेलिब्रेटी निर्देशक ऋषि लामिछाने

  POSTED ON : फाल्गुन ८, २०७७ (१०:१३ AM)

सेलिब्रेटी निर्देशक ऋषि लामिछाने

‘ऋषि थुप्रै राष्ट्रिय तथा अन्तर्राष्ट्रिय अवार्डबाट सम्मानित पनि हुनुभयो । ऋषिले अहिलेसम्म एकदर्जन बढी चलचित्र निर्देशन गरिसक्नुभएको छ ।’

आजभन्दा दुईदशक अघिको मात्रै कुरागर्ने हो भने नेपाली चलचित्र हेर्न निकै मुस्किल थियो, सबैका घरमा टिभी थिएनन्, हलसम्म पुग्नु पथ्र्यो । युट्युबमा हेर्न नेपालमा अहिले जसरी इन्टरनेटको पहुँच थिएन । सर्वसाधारणले चलचित्रका हिरो, हिरोइनलाई हेर्न पाए ठूलो उद्देश्य प्राप्त गरेजस्तो लाग्थ्यो । अझ हिरो, हिरोइन बन्न पाए त भन्ने आम युवाहरूको चाहना हुन्थ्यो । 

यस्तै चाहाना आजभन्दा तीस वर्षअघि नै ऋषि लामिछानेमा पनि थियो । चलचित्रको पर्दामा हिरोले गरेका क्रियाकलाप र हिरोलाई गरिने वाही वाहीका कारण उहाँलाई पनि हिरो बन्न चाहना निकै थियो । त्यसैले अब हिरो बन्नुपर्छ भनेर ऋषिले आफूलाई अभिनयको यात्रातर्फ ढाल्न थाल्नुभयो । विसं २०४७ सालमा उहाँले ‘भित्तामा कुदिएका कथाहरू’ नामक नाटकमा अभिनय गर्नुभयो । त्यो बेला उहाँ १६ वर्षको हुनुहुन्थ्यो । त्यसपछि उहाँलाई अभिनयको राम्रो ज्ञान हुँदै गयो र चलचित्रको नायक नै बन्छुभन्ने विश्वास बढेर आएको बताउनु हुन्छ । ‘मैले युवाभएर काम गरेको नाटक भित्तामा कुदिएका कथाहरू भए पनि बालकलाकार भएर पनि २०३८ सालमा नाटकमा काम गर्ने मौका पाएको थिए । तर बुझ्ने भएपछि काम गरेको भनेको २०४७ सालमै हो’, ऋषिले भन्नुभयो । ‘त्यो नाटकमा काम गरिसकेपछि मलाई अभिनयमा केही गर्नुपर्छ भन्ने थप हौसला मिल्यो ।’ ऋषिलाई त्यसपछि थुप्रै नाटकमा काम गर्ने मौका मिल्यो, उहाँले त्यसपछि झण्डै ६ वर्षसम्म १८ वटा भिडियो फिल्म, टेलिसिरियलमा प्रमुख पात्र (हिरो) भएरै काम गर्नुभयो । ऋषिले चलचित्रको नायक बन्नका लागि शारिरीक रूपमा पनि हट्टाकट्टा हुनुपर्ने भएकाले आफू नायकभन्दा अन्य काममा जोडिँदै गएको बताउनु हुन्छ । उहाँले भन्नुभयो, ‘त्यो समयमा चलचित्रमा हिरो बन्नका लागी हेर्दा पनि हट्टाकट्टा हुनुपथ्र्यो, मसँग त्यो विशेषता छ जस्तो लाग्न छाड्यो र विस्तारै चलचित्र निर्देशन सिक्नतर्फ लागेँ । किनकी मैले त्यति काम गर्दा बुझेको थिएँ कि, निर्देशकिय पाटो त सबैभन्दा महŒवपूर्ण र ठूलो जिम्मेवारी बहन गर्नुपर्ने काम रहेछ ।’ त्यसपछि ऋषिलाई २०५३ सालमा चलचित्र ‘साथी’मा मुख्य सहायक निर्देशक भएर काम गर्ने मौका मिल्यो । र आजसम्म आउँदा उहाँले २२ वटा चलचित्रमा मुख्य सहायक निर्देशक भएर काम गरिसक्नुभएको छ । 

ऋषिले आफूले निर्देशन गरेको पहिलो चलचित्र ‘कहिँ मिलन कहिँ बिछोड’ हो जुन आजभन्दा १० वर्षअघि निर्माण भएको थियो । दशकअघिका अधिकांश नेपाली चलचित्रहरू एकै किसिमका हुन्थे । त्यो समयमा नायक राजेश हमाल, भुवन केसी, शिव श्रेष्ठ, निखिल उप्रेतीलगायत नायकहरूको निकै चर्चा थियो । त्यो समयका चलचित्रमानायक र खलनायकबीचको द्वन्द्वलाई नै विशेष प्राथमिकतामा राखिन्थ्यो । तर ऋषिले ‘कहिँ मिलन कहिँ बिछोड’बाट त्यो ट्रेन परिवर्तन गरिदिनुभयो । चलचित्रमा शारीरिक द्वन्द्वमात्र होइन मानिसिक द्वन्द्व पनि राख्न सकिन्छ र दर्शकले मन पराउछन् भन्ने उदाहरण उक्त चलचित्रमा प्रष्ट पारिदिनुभयो । उहाँलाई अहिले पनि अधिकांश चलचित्रकर्मिले ‘टे«न मेकर’ निर्देशक पनि भन्ने गरेको पाइन्छ । उक्त चलचित्रबाट ऋषि थुप्रै राष्ट्रिय तथा अन्तर्राष्ट्रिय अवार्डबाट सम्मानित हुनुभयो । ऋषिले अहिलेसम्म एकदर्जन बढी चलचित्र निर्देशन गरिसक्नुभएको छ । जसमा ‘आफ्नो मान्छे आफ्नै हुन्छ, श्रीमान् श्रीमान्, हाम्रो माया जुनीजुनीलाई, सरी ल, किस्मत २, हवल्दार सुन्तली, साथ’ लगायत छन् । यति चलचित्रमा काम गदै जाँदा उहाँले निर्देशककै विधाबाट नेपाल मोशन पिक्चर्स अवार्ड, राष्ट्रिय फिल्म अवार्ड, नेफ्टा अवार्ड, डि सिने अवार्ड, राष्ट्रिय बक्स फिल्म फेयर अवार्ड, एनइडिसी अवार्ड, नागरिक सम्मान अवार्डलगायतबाट सम्मानित भइसक्नुभएको छ ।

दर्जन चलचित्रमा निर्देशक भएर काम गर्दैगर्दा ऋषिले टेलिभिजनका सिरियलमा पनि काम गरिरहनुभएको थियो । आजभन्दा डेढदशक अघि नेपाल टेलिभिजनमा प्रसारण भएको निकै चर्चित टेलिसिरियल ‘परिचय’का निर्देशक पनि ऋषि नै हुनुहुन्छ । कतिले अहिले पनि परिचयका निर्देशक भनेर चिन्ने गर्छन् । ‘परिचय’ टेलिभिजनको इतिहासमै मेघा सिरियल बनेको सिरियल हो । यो १ सय ४१ भागसम्म प्रसारण भएको थियो । ऋषि भन्नुहुन्छ, ‘कमेडी सिरियलहरूको हकमा त्यो समयमा अन्य सिरियल त थिए तर एउटै कथामा बनेको लामो सिरियल थियो परिचय ।’ विशेषगरी टेलिसिरियल ‘परिचय’मा मुख्य भूमिकामा रहनुभएकी कलाकार सरिता लामिछानेको पनि त्यो समयमा निकै चर्चा थियो । सरिता ‘परिचय’को निर्मात्री हुनुहुन्थ्यो । ऋषि र सरिता श्रीमान् श्रीमती हुनुहुन्छ । सिरियल ‘परिचय’ एक  वर्षअघिसम्म टेलिभिजनमा प्रसारण भइरहेको थियो । अहिले  ऋषिले ‘दृष्टि’ सिरियलमा काम गरिरहनु भएको छ । यस्तै उहाँले ‘पाहुना’ सिरियल पनि आउने क्रममा रहेको जानकारी दिनुभएको छ । 

अहिले भने कोरोना कहरका कारण ऋषिले पछिल्लो वर्ष चलचित्रमा काम गर्नुभएको छैन, तर ‘होम प्रोडक्सन’मा निर्माण हुने दुई चलचित्र ‘चौतारो’ र ‘आमा जानुहोस्’को भित्री काम भइरहेको बताउनु हुन्छ । निर्देशक ऋषिलाई अहिलेसम्म निर्देशन गर्नुभएका सबैजसो चलचित्र सफल भएकाले आगामी चलचित्रमा थप चुनौती छ । त्यसैले निर्देशकीय पाटोमा मिहिनत गर्नुपर्ने उहाँको भनाई छ ।

अबको समयमा ऋषिले अन्तर्राष्ट्रियस्तरमा पुग्ने नेपाली चलचित्र बनाउनुपर्नेमा जोड दिनेपर्ने बताउनुहुन्छ । नेपाली चलचित्रले पनि अन्तर्राष्ट्रिय अवार्ड पाउनुपर्ने र त्यसका लागी नेपाली निर्देशकहरूले त्यही किसिमको मिहिनेत गर्नुपर्ने बताउनुहुन्छ । उहाँ भन्नुहुन्छ, ‘अहिले पनि कतिपय नेपाली चलचित्रले अन्तर्राष्ट्रिय अवार्ड पाइरहेका छन्, त्यो जरुरी छ, नेपाली चलचित्रलाई विश्वव्यापी बनाउनु जरुरी छ । आगामी दिनमा मैले  त्यस्ता चलचित्र बनाउने तयारीमा छु ।’ 

कतिपय पर्दा पछाडिका निर्देशकहरूको नाम सुनिएको हुँदैन तर ऋषिको नाम चलचित्रकर्मिसँग दर्शकमा पनि उत्तिकै चर्चित छ । उहाँलाई धेरैले सेलिब्रेटी निर्देशक  भन्छन् । निर्देशक ऋषि अहिले विभिन्न अवार्डमा जुरी, समयसमयमा विभन्न फिल्मी कलेजमा प्रशिक्षक हुनुहुन्छ ।

प्रस्तुतिः गोपिकृष्ण चापागाईं


Views: 34

सम्बन्धित सामग्री:

अनानिकीलाई कलाकारको साथ

: फाल्गुन १४, २०७७ (८:४१ AM)