17th April | 2021 | Saturday | 11:20:48 PM

गीतको ट्रेन्ड बदलिएको छ : सीताराम पोख्रेल, गायक

  POSTED ON : फाल्गुन २२, २०७७ (९:४८ AM)

गीतको ट्रेन्ड बदलिएको छ : सीताराम पोख्रेल, गायक

नेपाली गायन क्षेत्रमा आफ्नो छुट्टै पहिचान बनाउनुभएका गायक हुनुहुन्छ–सीताराम पोखरेल । गायन सँगसँगै गीत लेखनमा पनि आफूलाई प्रस्तुत गर्दै आउनुभएका सीताराम गायकमात्रै नभएर राम्रो गीतकारका रूपमा समेत चिरपरिचत हुनुहुन्छ नेपाली गीत संगीतको फाँटमा । नेपाल आयल निगममा लामो समयसम्म जागिरे जीवन बिताउनुभका सीताराम जागिर सँगसँगै गीतसंगीतको क्षेत्रमा पनि आफ्नै पहिचान बनाउन सफल हुनुहुन्छ । उहाँका ‘खोजी हेरिनौ’, ‘विनाकारण’, ‘स्पार्क’, ‘अक्टोबर ४’, ‘सम्मान’, ‘सम्मान २’, ‘अल्कोहलिक लभ’लगायत एल्बम श्रोता÷दर्शकमाझ आइसकेका छन् । 

२०४४ सालदेखि औपचारिक रूपमा गीतसंगीतको क्षेत्रमा आउनुभएका उहाँका आजसम्म आउँदा थुप्रै गीत श्रोता÷दर्शकमाझ लोकप्रिय छन् । २०४४ सालमा आफैंले लेखेको गीत ‘सजाइदियौ जिन्दगी नै मेरो’ रेकर्ड गरेर औपचारिक रूपमा यो क्षेत्रमा आउनुभएका सीतारामसँग हिमालय टाइम्सको हिँडदा हिँड्दैका लागि कृष्ण भुसालले गर्नुभएको कुराकानीको संक्षिप्त अंशः–

कहिलेदेखि आउनुभयो यो क्षेत्रमा ?

सानैदेखि गीत गाउँथे । २०३४÷०३५ सालतिर विराटनगरको पहिलो सांगीतिक ब्याण्ड ‘द टाइरोज ग्रुप’ खोलेपछि यसैको माध्यमबाट आएको हुँ ।

कसका लागि गाउनुहुन्छ गीत ?

म स्वयं आफ्नै अनि मुख्यतः दर्शक-श्रोताहरूका लागि पस्किन्छु, जो गीतसंगीतमा रम्न चाहन्छन् । 

कस्ता गीत गाउन बढी रुचाउनुहुन्छ ?

म आधुनिक गीत गाउन अलि बढी मनपराउँछु । पप गीतहरू पनि गाउन मन लाग्छ ।

जीवन र गीत के हो ?

जीवन आँसु र हाँसोको संगम हो । दुःख र सुखको साथी हो । यसको सारथी नै गीत हो जस्तो लाग्छ मलाई ।

गीतको आत्म के हो ?

गीतको आत्म शब्द हो । स्वर र संगीतले त्यसलाई मासु भरिएको शरीरको राम्रो रूप दिन्छन् ।

अचेल आत्म भएका गीत कम पाइन्छ भन्छन् नि ?

हो, अचेल आत्म भएका गीत पाउन अलि कठिनै छ । संगीत र स्वरले त्यसलाई छेकेका छन् । तर, आत्म भएका गीत यदाकदा सुन्न नपाइने भन्ने होइन, पाइन्छ ।

नेपाली गीतसंगीतको अहिलेको अवस्था कस्तो पाउनुहुन्छ ?

राम्रै छ । सधैं एउटै स्थानमा रहृयो भने हाम्रो देशजस्तै हुन्छ । गीतसंगीतको विकास राम्रै भइरहेको छ । नयाँ–नयाँ प्रयोगले विस्तारै अन्तर्राष्ट्रियकरण हुँदैछ । यो सुखद् पक्ष हो ।

यहाँलाई मनपर्ने गीत ?

धेरै छन् । त्यसमध्ये ‘गाजलु ती ठूलाठूला आँखा...’ असाध्यै मनपर्छ ।

यहाँलाई मनपर्ने गीतकार र गायक ?

गीतकारमा डा. कृष्णहरि बराल र गायकमा प्रेमध्वज प्रधान ।

पछिल्लो समय बजारमा आएका गीत कस्ता छन् ?

अचेल आएका गीतहरू पनि राम्रै छन् । समयानुसार फड्को मारेका छन् । तर, गीतको ट्रेन्ड बदलिएको छ । मौलिक नेपाली शब्द भएका गीतले बजार पाउन थाल्यो भने खुशी लाग्छ ।

गीत गाएर पाइने र नपाइने के हो ?

पाइने आनन्द, आत्मसन्तुष्टि र चर्चा अनि नपाइने जहाँ मन लाग्यो त्यहाँ जान, जे पनि खान, जस्तोसँग पनि संगत गर्न अनि मुख्यतः जीवन धान्न सक्ने अर्थ ।

गीतसंगीतका क्षेत्रमा रहेका गुटउपगुटहरूलाई तपाइँ कुन रूपमा लिनुहुन्छ ?

म आफ्नै गतिमा निरन्तर बढिरहेको मानिस हुँ । विगत तीन दशकदेखि यी गुटउपगुटमा नलागी एउटै धारमा हिँडिरहेको छु, शुद्ध संगीतको धारमा ।

नेपाली गीतसंगीतलाई विश्व गीतसंगीतको दाँजोमा कहाँनेर पाउनुहुन्छ ?

पहिला हामीले हिन्दी गीतसंगीतलाई हटाउनु छ । विस्तारै विश्व संगीततिर लम्कन्छ नेपाली गीतसंगीत । लक्षणहरू अति नै सकारात्मक छन् । तर, सरकारी तवरबाट गीतसंगीत, कला, कलाकार कसैका लागि पनि राम्रो नीति बन्न सकेको छैन् ।

घरपरिवारबाट तपाइँको गायनलाई कत्तिको सर्पोट मिलेको छ ?

घरपरिवार, आमाबुबा, श्रीमती, छोराहरू सबैबाट पूर्ण सहयोग छ, नत्र म यो अवस्थामा पुग्नै सक्ने थिइनँ ।

अवार्ड प्राप्त गरिरहेका गीतसंगीतका बारेमा तपाइँको धारणा के छ ?

अहिले अवार्डहरू धेरै नै भएका छन् । अवार्ड पाएँ भन्दैमा गीत राम्रो छ भन्न सकिन्नँ । तर, अवार्ड आफैंमा नराम्रो हैन । यसले स्रष्टालाई प्रोत्साहन गर्छ, ऊर्जा भर्छ । यो संगीतको मञ्च हो, जहाँ पुरानाको सम्मान हुन्छ, नयाँलाई प्रोत्साहन हुन्छ ।

तपाइँ लामो समयसम्म नेपाल आयल निगममा कार्यरत रही निवृत्त हुनुभएको छ, जागिरे जीवनको अवकाशपछि अब के गर्ने योजनामा हुनुहुन्छ ?

हो, म ३० वर्षसम्म नेपाल आयल निगममा कार्यरत थिएँ । निर्देशकसम्म पुग्दा नि मैले गीतसंगीतलाई निरन्तरता दिइरहेँ । अबका दिनमा यही क्षेत्रमा रमाउँछु । पछिल्ला दिनमा यसैमा व्यस्त छु । विभिन्न अवार्ड, सुन्दरी प्रतियोगितामा निर्णायकको भूमिकामा हुन्छु । अन्य धेरै सघंसंस्थामा कार्यसमितिमा छु, सल्लाहाकार छु । त्यस्तै, समाजसेवामा पनि आफूलाई संलग्न गराउँदै आएको छु ।

गायनमा आउन लागेका नयाँ लेखकलाई कस्तो सल्लाह दिन चाहनुहुन्छ ?

गायन क्षेत्रमा आउन लागेका भाइबहिनीलाई सिकेर आउनुहोस्, निरन्तरता दिनुहोस्, हावाका भरका नआउनुहोस् भन्न चाहन्छु ।


Views: 68