17th April | 2021 | Saturday | 10:43:55 PM

आफ्ना जोक्स आफैं सुनाउँछन् राजेश

  POSTED ON : फाल्गुन २२, २०७७ (९:५२ AM)

आफ्ना जोक्स आफैं सुनाउँछन् राजेश

काठमाडौं । अहिलेको पोखराको फेवाताल कसरी बनेको तपाइँलाई थाहा छ ? आजभन्दा धेरै वर्षअगाडि राजेश हमाल फिल्मको सुटिङ गर्नेक्रममा त्यो ठाउँमा नाँच्नेक्रममा मज्जाले उफ्रिएका थिए रे, त्यो ठाउँ खाल्डो भएको अहिले पानी जमेर त्यस्तो भएको छ । यो जोक्स तपाइँले पक्कै सुनेको हुनुपर्छ । अझ अभिनेता राजेश हमालसँग नजिक हुनुहुन्छ भने त राजेशले नै सुनाएको पनि हुन सक्छ । नेपाली फिल्म क्षेत्रमा केही संस्थाबाट महानायकको दर्जा पाइसक्नु भएका राजेश निकै रोमान्टिक हुनुहुन्छ । सयौं फिल्ममा काम गर्नु भएका राजेश छायांकनको क्रममा अन्य कलाकारसँग खासै घुलमिल हुन्नन् भन्ने अन्य कलाकर्मीबाटै सुनिन्छ तर राजेश निकै रमाइलो पनि हुनुहुन्छ । 

आजभोलिका पछिल्लो अन्तर्वार्ता हेर्ने हो भने अधिकांश प्रश्नमा राजेशले हासिमजाक गरेकै देखिन्छ । विशेषतः व्यक्तिगत प्रश्नमा राजेशले ठट्टा गरेरै उत्तर दिनुहुन्छ । अब हिजो (शुक्रबार) को कुरा गरौं, गायक टंक बुढाथोकी र .... को स्वरमा रहेको नयाँ गीत ‘साथी’ को सार्वजनिक कार्यक्रममा राजेश हमाल उपस्थित हुनुहुन्थ्यो । राजेशको पनि अभिनय रहेको उक्त गीत कालिञ्चोकमा छायांकन गरिएको थियो । राजेशले सञ्चारकर्मीहरूसँग कुरागर्ने क्रममा आफ्नो नाममा बनेका केही जोक्स सुनाउनुभयो । ‘तपाइँलाई आफ्नो नाममा बनेका थुप्रै जोक्समध्ये सबैभन्दा राम्रो लाग्ने कुन जोक्स हो ?’ भन्ने प्रश्नमा राजेशले आफ्नो जोक्स यसरी सुनाउनुभयो । ‘तपाइँहरूलाई थाहा होला, मेरो घर काठमाडौंमा भारतीय राजदूतावास र ब्रिटिश राजदूतावासको बीचमा छ । दुई दूतावास किन मेरा छेउमा आएभन्दा उनीहरूलाई पनि त सुरक्षा चाहियो नि होइन ?’

राजेश हमालका नाममा अहिले सामाजिक सञ्जालमा थुप्रै जोक्स भेटिन्छन् । थुप्रै फेसबुक पेज नै बनेका छन् । राजेशले आफ्नो नाममा बनेका जोक्सबाट मनोरञ्जन लिने बताउनु हुन्छ । उहाँले आफूले समय–समयमा आफ्नो नाममा बनेका जोक्स पढ्ने तथा हेर्ने गरेको बताउनुहुन्छ । राजेशका अनुसार आफ्नो नामका जोक्स फेसबुकको ‘इन्बक्स’मा धेरैले पठाउने पनि गर्छन् ।

अभिनेता राजेशलाई विशेषगरी युट्युबरले एकप्रश्न गर्न कहिल्यै छुटाउँदैनन्, तपाइँ बाबा कहिले बन्ने ? विवाह गरिसकेपछि अहिलेसम्म राजेशले जति पनि अन्तर्वार्ता दिनुभएको छ उहाँले आफूले बच्चा पाउने विषयलाई ठट्टामै सकाइदिनुभएको छ । ‘तपाइँ अब बाबा कहिले बन्ने ?’ भन्ने सञ्चारकर्मीको प्रश्नमा राजेशले ठट्टा गर्दै भन्नुहुन्छ, ‘अझै हनिमुनमै छु अहिले नै के भन्नु भएको ।’ आफूले उत्तर दिन नचाहने प्रश्नमा राजेशले माहौल रमाइलो बनाइदिनुहुन्छ । राजेशले कुनै पनि प्रश्न सामना गर्न डराउनु हुन्न तर ‘इग्नोर’ गर्न चाहने प्रश्नका उत्तर ठट्टामै सकाइदिनुहुन्छ । 

अभिनेता राजेशले अन्तर्वार्ताको क्रममा आफ्नो अर्को जोक्स पनि सुनाउन चाहानुभयो । ‘साथी’ गीतको छायांकनको क्रममा कालिञ्चोकका मन्दिरहरूमा राखिएका त्रिशूलको विषयमा हाँस्दै सुनाउनुभयो, ‘मलाई त्यहाँ एकजना साथीले भन्नुभएको थियो, त्यहाँ मन्दिरमा राखिएको त्रिशूल मैले चाउमिन खाँदा प्रयोग गर्ने त्रिशूल हो रे ।’ यस्ता जोक्स सामाजिक सञ्जालमा निकै हिट छन् । 

पछिल्लो समयको कुरा गर्ने हो भने अभिनेता राजेशले एकपछि अर्को म्युजिक भिडियोमा काम गरिरहनु भएको छ । चलचित्रमा कमै काम गर्नु भएका राजेशले कोरोना कहरपछि दर्जनबढी म्युजिक भिडियोमा काम गरिसक्नु भएको छ । गएको बिहीबारमात्रै एक म्युजिक भिडियोको छायांकनमा व्यस्त राजेश आइतबारपछि एक छायांकनका लागि बाहिर जाने तयारीमा हुनुहुन्छ । राजेशका अनुसार छिट्टै एक चलचित्रमा काम गर्दै हुनुहुन्छ । त्यो चलचित्रको काम सकिएपछि आफैंले चलचित्र निर्देशन गर्ने तयारीमा रहेको बताउनुभयो । 

प्रस्तुतिः गोपिकृष्ण चापागाईं


Views: 74