11th April | 2021 | Sunday | 6:14:01 PM

हामीले दर्शकमाझ के पस्किरहेका छौं त्यो महत्वपूर्ण कुरा हो : मौनता श्रेष्ठ, चलचित्र लेखक/निर्माता

  POSTED ON : चैत्र २१, २०७७ (९:५२ AM)

हामीले दर्शकमाझ के पस्किरहेका छौं त्यो महत्वपूर्ण कुरा हो : मौनता श्रेष्ठ, चलचित्र लेखक/निर्माता

नेपाली चलचित्र लेखकका रूपमा सबैभन्दा सफल चलचित्र लेखक हुनुहुन्छ मौनता श्रेष्ठ । एक सयभन्दा बढी नेपाली चलचित्र लेख्नुभएको मौनता श्रेष्ठका अहिलेसम्मका थुप्रै चलचित्र दर्शकको मनमस्तिष्कमा रहेका छन् । चलचित्र लेखनसँगै उहाँले केही चलचित्रमा अभिनय तथा निर्माण पनि गर्नुभएको छ । मौनता दुई दशकदेखि नेपाली चलचित्र क्षेत्रमा निरन्तर सक्रिय हुनुहुन्छ । काभ्रे धुलिखेलका स्थानीय बासिन्दा उहाँ चलचित्र ‘खुकुरी’ मार्फत् यो क्षेत्रमा आउनुभएको हो । मौनताले नयाँ चलचित्र ‘आँधी तुफान–२’ घोषणा गर्नुभएको छ । जुन नयाँ वर्ष २०७८ वैशाख ९ देखि छायांकनमा जाने तयारीमा रहेको छ । 

‘खुकुरी’ देखि ‘आँधी तुफान–२’ सम्म आइपुग्दा उहाँले लेखेका प्रायः सबै चलचित्र व्यावसायिकरूपमा सफल मानिएका छन् । ‘धड्कन’, ‘माया नमार’, ‘दोस्ती’, ‘खलनायक’, ‘दुई पल’, ‘अर्जुनदेव’, ‘भाइ–भाइ’ लगायत दर्जनौं सफल चलचित्र उहाँले दर्शकमाझ पस्किन सफल हुनुभएको छ । चलचित्रको स्क्रिप्टसँगै कथावस्तुको निर्माणमा सक्रिय मौनताले एमालेका तत्कालीन नेता मदन भण्डारीको मृत्युको विषयवस्तुमा लेखेको उपन्यास ‘भुसमा चिप्लिएको राजनीति’ ०५६ सालमा प्रकाशित भएको थियो । चलचित्र निर्माणको क्षेत्रमा पनि आफूलाई सक्रिय बनाउनुभएका मौनताले ‘अभिमन्यु’, ‘आँधी तुफान’, ‘भगवान सबैको’, ‘बोस’ लगायत चलचित्र निर्माण गर्नुभएको छ । कुनै समय चलचित्र लेखनमा एकछत्र राज गर्न सफल लेखक तथा निर्माता मौनता नेपाली चलचित्र क्षेत्रले ठूलै फड्को मारेको दाबी गर्नुहुन्छ । नेपाली कला क्षेत्रमा आफूलाई पूर्णरूपमा समर्पित गराई यसै क्षेत्रको श्रीवृद्धिमा तल्लीन रहनुभएका मौनतासँग हिमालय टाइम्सको हिँड्दा–हिँड्दैका लागि कृष्ण भुसालले गरेको कुराकानीको संक्षिप्त अंशः–

अहिले के गर्दै हुनुहुन्छ ?

म पूर्णरूपमा नै नेपाली चलचित्र क्षेत्रमा समर्पित भएकी व्यक्ति हुँ । चलचित्रबाहेक अन्य क्षेत्र मैले सोचिन । अहिले पनि यही क्षेत्रमै सक्रिय रहेकी छु । पछिल्लो समय हामीले नयाँ चलचित्र घोषणा गरेका छौं ‘आँधी तुफान–२’ । यतिबेला त्यही चलचित्रको तयारीमा दौडधुपमा छु । यो चलचित्र वैशाख ९ देखि छायांकनमा जाँदैछ । यसको गीतको काम भइरहेको छ यतिबेला । यस्तै मेरा अन्य केही व्यक्तिगत काम र केही सामाजिक कार्यमा नै व्यस्त छु भन्नुपर्ला । 

कस्तो चलचित्र हो ‘आँधी तुफान–२’ ?

यो चलचित्र दशकअगाडि निर्माण भएको ‘आँधी तुफान’को सिक्वेलका रूपमा निर्माण हुन लागेको हो । मदन घिमिरेको निर्देशक रहने यो चलचित्रमा आरती आचार्य, याङ्सु श्रेष्ठ, मुकुन्द थापा, ध्रुुव कोइराला, कनिज कोइराला, सञ्जय खतिवडा, पुष्कर राउत, सिवन लामा, राजाराम गौतम, गोकुल सुवेदी, पुनम गौतम, सान अधिकारी, सोनी विसी, जोया बुढाथोकी, रूपा केसी, सरोज दाहाल, विन्दिया ठकुरी, रमेश तामाङ, बालकलाकार अरुण कालिराजलगायतको अभिनय रहनेछ । 

थ्रिलर र सस्पेन्स विषयमा भरपूर नारी एक्सन समेटेर चलचित्र निर्माण हुन लागेको हो । यस चलचित्रमा रामशरण उप्रेतीको छायांकन, प्रेम चुल्ठेको एक्सन, सुरेश अधिकारीको संगीत, हरि उप्रेती र दिनेश सुवेदीको गीत, रानी शाक्यको स्वर, कमल राईको नृत्य रहनेछ । 

कोरोना भाइरस (कोभिड–१९)का कारण सिनेमाघर बन्द प्रायः छन् । सिनेमाघर खुले पनि दर्शक चलचित्र हेर्न गएका छैनन् । यस्तोमा यहाँले नयाँ चलचित्र बनाउँदै हुनुहुन्छ नि ?

हो, तपाईं हामी सबै विगत एक वर्षदेखि कोरोना कहरमा छौं । फेरि पनि यस्तै त नहोला । आशा गरांै, केही समयपछि राम्रा दिनहरू पक्कै आउनेछन् । हामी चलचित्रकर्मी पनि विगत एक वर्षदेखि ठप्प भएर बसेका छांै । अब त केही गर्नुपर्छ भनेर हामी आएका छ। 

पछिल्लो समय नेपाली चलचित्र क्षेत्रलाई कस्तो पाउनुहुन्छ ?

नेपाली चलचित्रलाई हिजोभन्दा धेरै विकसित र परिष्कृतरूपमा देख्छु । यसको बजार पनि विस्तार भएको छ । भारतीय त्यो पनि बलिउडका दुई सय, चार सय करोड भारुमा बन्ने चलचित्रकै दाँजोमा बढीमा एक–डेढ करोड नेपाली रुपैयाँमा नेपाली चलचित्र बन्ने माहौल बनेको छ । नेपाली दर्शकले नेपाली चलचित्रलाई पनि भारतीय चलचित्रकै स्तरमा हेर्न पाइरहेका छन् । यो राम्रो प्रगति हो नेपाली चलचित्र जगत्को ।

राम्रा नेपाली चलचित्र बन्दाबन्दै पनि व्यापार भने राम्रो नहुनुको कारणचाहिँ के हो नि ?

यसका धेरै कारण छन् । एक त हामीले सबै नेपालीसामु नेपाली चलचित्र पु¥याउन सकेका छैनौं । धेरै जिल्ला छन्, जहाँ एउटा पनि सिनेमा घर छैन। दोस्रो, हामी चलचित्र बनाउँछौं तर प्रचारप्रसारमा कञ्जुस्याइँ गर्छौं । तेस्रो, चलचित्र वितरकहरू एकमत छैनन्, होडबाजीमा छन् । जसले गर्दा राम्रो चलचित्रले हल पाउँदैन, पाए पनि विदेशी या स्वदेशी नै ३–४ वटा एउटै टाइममा लन्च गरिन्छ । चौथो, राम्रो चलचित्र निकै कम बन्छन्, हावादारी र सिकारुले बनाएका चलचित्र धेरै छन्, जसले गर्दा राम्रा चलचित्र पनि माथ खान्छन् र व्यापार राम्रो हुँदैन । 

कलाक्षेत्र मनोरञ्जनमात्रै हो त ?

होइन, कलाक्षेत्रअन्तर्गतका नाटक, टेलिफिल्म र चलचित्र त समाजलाई बाटो देखाउने, नैतिकता सिकाउने, हिम्मत बढाउने, दोषीले उन्मुक्ति नपाउने, माया–प्रेम नै मानव समुदायको पहिचान हो भन्ने कुराको बोध गराउने माध्यम हुन् । यस्ता सन्देशलाई कलाक्षेत्रले मनोरञ्जनात्मक तवरले प्रस्तुत गर्छ ।

नेपाली दर्शकले कस्तो चलचित्र बढी मन पराउँछन् ?

नेपाली दर्शकले सबै प्रकारका चलचित्र मन पराउने गरेको पाएकी छु मैले । मुख्य कुरा त हामीले दर्शकमाझ के पस्किरहेका छौं त्यो महŒवपूर्ण कुरा हो । नेपाली दर्शक पारिवारिक र प्रेमवियोग अनि वीर भावका चलचित्र बढी मन पराउँछन् भन्ने मेरो अनुभव छ । सामाजिक जीवनमा आइपर्ने सकारात्मक कथा नै नेपाली दर्शकको रोजाइ भएको देखिन्छ । हाम्रो आफ्नो मौलिकता झल्किएका चलचित्र पस्किनुपर्छ अनि दर्शकले मन पराउँछन् ।

के भइदिए नेपाली चलचित्र क्षेत्र अझ राम्रो हुन्थ्यो होला ?

नेपाली कथा, उच्च प्रविधि र व्यावसायिक धारको चलचित्र बन्नुप¥यो । कथावस्तुमा नवीनता नहुनु पनि चलचित्रप्रति रुचि घट्नुको अर्को पाटो हो । अलिक बढी शिक्षामूलक, चेतनामूलक र प्रयोगात्मक साथै हाम्रो मौलिकपन भएका चलचित्र बनाउनका लागि नीतिको खाँचो छ । त्यसका लागि सरकारले उचित किसिमको नीति अख्तियार गर्नुपर्छ । यसमा चलचित्र विकास बोर्डको भूमिका पनि महŒवपूर्ण हुन्छ । सरकार, चलचित्र विकास बोर्ड, स्क्रिप्ट राइटर, निर्माता, निर्देशक, कलाकारलगायत सबैको सही विवेकले मात्रै चलचित्र उद्योगलाई माथि लान सकिन्छ । 

तपाईं यो क्षेत्रमा आफूलाई सफल मान्नुहुन्छ ?

मैले आफैंले आफैंलाई सफल÷असफल भन्नेभन्दा पनि मैले लेखेका, निर्माण गरेका कति चलचित्र सफल भए भन्ने कुराले यसको पुष्टि गर्दछ । मैले राम्रो काम गर्ने अर्थात् राम्रो चलचित्र बनाउने कोसिस गरेकी हुन्छु । मैले गरेका केही चलचित्रले अवार्डहरू पाएका छन् । सफल÷असफल भन्ने जिम्मा दर्शककै हो भन्ने मलाई लाग्छ ।


Views: 84