11th April | 2021 | Sunday | 7:41:55 PM

अनमोललाई ७५ लाख !

  POSTED ON : चैत्र २१, २०७७ (९:५४ AM)

अनमोललाई ७५ लाख !

काठमाडौं । नेपाली चलचित्रको पछिल्लो समयका डिमाण्डेड अभिनेता हुनुहुन्छ अनमोल केसी । उहाँले काम गरेका अधिकांश चलचित्र सफल छन् । चकलेटी नायकका रूपमा चिनिने अनमोललाई केही संस्थाले मेघास्टारको उपाधि पनि दिइसकेका छन् । अनमोलले अहिलेसम्म आठवटा चलचित्रमा काम गरिसक्नुभएको छ । जसमध्ये एक–दुईवटाले व्यावसायिक सफलता हासिल गर्न सकेनन् भने अन्य हिट चलचित्र छन् । 

अनमोलले अहिलेसम्म ‘होस्टेल, जेरी, ड्रिम्स, गाजलु, कृ, क्याप्टेन र ए मेरो हजुर–४ (प्रदर्शन बाँकी) मा अभिनय गर्नुभएको छ । अनमोलले काम गरेका चलचित्रमध्ये कतिपय चलचित्र ‘होम प्रोडक्सन’का छन् तर घरबाहिरका अन्य ब्यानरमा हत्तपत्त काम नगर्ने अनमोलले राम्रो पारिश्रमिक लिएर काम गर्नुहुन्छ भन्ने चर्चा निकै हुन्छ । यसअघि अनमोललाई एक चलचित्रमा काम गरेको ५० देखि ६० लाखसम्मको पारिश्रमिक दिन तयार भएको खबर बाहिरिरहँदा अहिले भने एक चलचित्रका लागि ७५ लाख दिन तयार भएको खबर बाहिरिएको हो ।

एक मल्टिस्टार चलचित्रका लागि निर्देशक मुकुन्द भट्टले अनमोललाई अफर गर्नुभएको हो । एक्सन प्रधान यस चलचित्रको छायाङ्कन युरोप र अमेरिकामा हुनेछ । यो नयाँ चलचित्रका लागि ७५ लाख अफर गरिएको अनमोलले स्वीकार्नुभएको छ । तर, आफूसँग पारिश्रमिकको विषयमा छलफल नभएको अनमोलको भनाइ छ । अनमोलले ‘ए मेरो हजुर–४’ को छायांकन सकेपछि अनमोल चलचित्र पारसमा काम गर्ने तयारीमा हुनुहुन्छ । 

यसैले आफ्नो सम्पूर्ण ध्यान नै पारसमा रहेको बताउँदै अनमोलले हतार नगर्ने पनि उल्लेख गर्नुभएको छ । अनमोललाई अफर गरिएको चलचित्रमा सौगात मल्ल खलपात्रका रूपमा देखिने बताइएको छ । चलचित्रमा पुष्प खड्का र निश्चल बस्नेत पनि मुख्य भूमिकामा रहनुहुनेछ । उक्त चलचित्रमा काम गर्न अनमोल सकारात्मक भए पनि गर्ने वा नगर्ने टुंगो भने लागिसकेको छैन । 

नेपाली चलचित्रका अन्य युवास्टार प्रदीप खड्का, पल शाह पनि ‘हाई डिमान्डेड’ अभिनेता हुनुहुन्छ । प्रदीप र पललाई ४० देखि ५० लाख पारिश्रमिक दिन तयार भएको पाइन्छ । तर, अनमोललाई अहिलेसम्मकै उच्च पारिश्रमिक ७५ लाख दिन तयार हुँदा नेपाली चलचित्रमा चर्चा निकै चलेको छ । 


Views: 59