11th April | 2021 | Sunday | 7:21:54 PM

निरन्तर आफ्नो क्षेत्रमा काम र सबैले विश्वास गरिरहनु नै महत्वपूर्ण हो : पुरुषोत्तम पराजुली, छायांकार

  POSTED ON : चैत्र २६, २०७७ (९:४९ AM)

निरन्तर आफ्नो क्षेत्रमा काम र सबैले विश्वास गरिरहनु नै महत्वपूर्ण हो : पुरुषोत्तम पराजुली, छायांकार

एउटा चलचित्र सफल हुनुमा छायांकारको पनि उत्तिकै महत्वपूर्ण भूमिका रहेको हुन्छ । त्यसो त चलचित्रका सबै विधाहरू उत्तिकै महत्वपूर्ण मानिन्छ । त्यस मध्यको छायांकन विधा अझ महत्वपूर्ण विधा हो । समग्र कथावस्तुलाई रिल वा डिजिटल प्रविधिको माध्येमबाट दर्शकमाझ पु¥याउने काम छायांकारको हातमा रहेको हुन्छ । एक दशकको निरन्ततासँगैै छायांकार पुरुषोत्तम पराजुलीले एक दर्जन चलचित्रमा छायांकारका रूपमा काम गरिसक्नुभएको छ । उहाँले चलचित्र जय शम्भु, नेप्टे, विरंगना, रियल रिङ्गेट, पुरानो बुलेटल जस्ता चलचित्रमा काम गर्नुभएको छ । काभ्रे, मण्डनदेउपुरका पुरुषोत्तम पछिल्लो समय निर्माता, निर्देशकको रोजाइमा पर्न सफल छायांकार रूपमा चिनिनुहुन्छ । प्रस्तुत छ छायांकार पुरुषोत्तमसँग हिमालयन टाइम्सका लागि गोपिकृष्ण चापागाईंले गर्नुभएको कुराकानीको संक्षिप्त अंशः–

अहिले के गर्दै हुनुहुन्छ ?

लामोे समयको बन्दाबन्दीका कारण केही अधुरा काम सक्काउने काम भएको छ । एउटा चलचित्रको काममा व्यस्त छु भने केही नयाँ प्रोजेक्टको कुरा आइरहेको छ । 

हल राम्रोसँग खुलेको छैन, चलचित्र छायांकन सुरु भइसक्यो पछि गाह्रो हुन्न ?

कोरोना भाइरस (कोभिड–१९)का कारण संसारै लथालिंग बनेको अवस्थामा हलहरू बन्द रहनु स्वभाविक हो । हलहरू बन्द रहनाले यससँग सम्बन्धित कयौं परिवार प्रभावित बनेका छन् । चलचित्रकोे छायांकन सुरुभए जस्तै हलहरू विस्तारै खुल्ने कुरामा विश्वस्त हुनुपर्छ । अर्को कुरा चलचित्र बनेन भने त हल खुल्ना साथ के देखाउन त दर्शकलाई, त्यस कारण चलचित्र निर्माण सुरुहुनु जरुरी छ ।

तपाईंलाई कस्तो चलचित्रमा काम गर्न मन पर्छ ?

विषयवस्तुको छनौट पहिले नै निर्माता, निर्देशक ज्यूले गरिसक्नु भएको हुन्छ । हाम्रो चयन त पछि हुने हो । तर, व्यावसायिक रूपले भन्नु पर्दा युवा गर्वलाई लक्षित गरेर बनेको चलचित्र मनपर्छ । अर्को कुरा मलाई आर्ट मुभिमा काम गर्ने त्यति कै चाहना छ । अहिले मनोरञ्जनसहितको व्यावसायिक चलचित्र बन्ने क्रम बढेको छ । समयानुसार चल्नै प¥यो ।

पहिलेदेखिको चाहना नै छायांकार बन्ने हो ?

इच्छा र चाहना त के–के थियोे । चलचित्रको क्षेत्रमा भित्रिएपछि यस क्षेत्रका साथीहरूसँगको हिमचिमले यतातिर आकर्षित गरायो । त्यसपछि यसै क्षेत्रमा अनुभव र ज्ञान लिनमै बढी समय खर्चेको छु । जेजति समय बिते पनि आफूलाई मन परेकोे विद्यामा अहिले पाएको सफलता नै त्यसको प्रतिफलको रूपमा लिएको छु । अझ राम्रो गर्दै अघि बढ्ने चाहना छ ।

ग्ल्यामर क्षेत्र चर्चा कमाउने सबैभन्दा उचित माध्यम हो भन्छन् नि ∕ यसलाई कसरी लिनु भएको छ ?

काठमाडौंको नजिकको जिल्ला हो काभ्रे । म काभ्रेमा जन्मिएको व्यक्ति हुँ । सानोमा त के बन्नी भन्ने कुरा सोचेको थिइन । विद्यार्थी छँदा कुनै राम्रो काम गरेर ठूलो मान्छे बन्ने सोच थियोे । जब चलचित्र क्षेत्रमा व्यस्त हुन थालियो, अध्यायन पनि कम हुन थाल्यो । कामको चाप यति बढ्न थाल्यो कि समय मिलाउन नै कठिन हुन थाल्यो । राम्रो कामले नै मानिसलाई उचाहिमा पु¥याने हो । चर्चित हुनुभन्दा निरन्तर आफ्नो क्षेत्रमा काम गर्न पाइरहनु र सबैले विश्वास गरिरहनु नै महŒवपूर्ण कुरा हो । अरू क्षेत्रभन्दा ग्ल्यामर क्षेत्र मानिसलाई आम रूपमा परिचित गराउने सजिलो माध्यम हो यसमा दुईमत छैन ।

पछिल्लो समयमा बनिरहेको चलचित्रको विषयवस्तु कस्तो लाग्छ ?

बनाउनकै लागिमात्र नभएर चलचित्र बनिसके पनि दर्शक माझ पुग्दा त्यसले समाजमा केही परिवर्तन ल्याउन सकोस् यस्तो कथावस्तुमा चलचित्र बन्नुपर्छ भन्ने मेरो मान्यता छ । मलाई समाज सुहाउँदो सन्देश मूलक चलचित्रमा काम गर्न मन लाग्छ । एउटा छायांकारको काँधमा थुप्रै जिम्मेवारी हुन्छ । काम गर्दा आइपर्ने विविध खाले समस्यालाई समाधान गर्दै कसरी राम्रो चलचित्र बनाउन सकिन्छ भनेर हरपल चिन्तित हुनुपर्छ । विषयवस्तुको प्रस्तुतीकरणमा विशिष्टता ल्याउँछ र त्यसैका आधारमा गतिलो आम्दानी गर्छ । यी मापदण्डले निर्धारण गरेबाहेक कुनै चलचित्रले उठाएका विषय, सो विषयलाई अड्याउने स्थान–समय र कथा अभिव्यक्त गर्ने पात्रलाई कति गहिराइमा पुगेर सम्बोधन गरेको छ र कति न्यायोचित ढंगले प्रस्तुत गरेको छ भन्नेमा चलचित्रको सबलता मापन हुन्छ जस्तो लाग्दछ मलाई ।

यो क्षेत्रमा काम गरेर बाँच्न गाह्रो हुन्छ भन्छन्, अरू कुनै व्यवसाय गर्नुभा छ कि ?

पहिले, पहिले त्यस्तो अवस्था नभएको भने होइन, अहिले छैन । कामको प्रतिस्पर्धा बढेसँगै आर्थिक रूपले निकै राम्रो भएको छ । मेरो सवालमा भन्नुपर्दा एक दशक बढी समयदेखि यसै क्षेत्रमा काम गर्दै आइरहेको छु । अहिलेसम्म चलचित्र क्षेत्रबाटै जीवनयापन गरिरहेको छु । भविष्यमा यसै क्षेत्रमा निरन्तर लागि रहने विचार छ । 


Views: 55