16th May | 2021 | Sunday | 2:44:44 AM

सपाट आवाजलाई अझ राम्रो बनाउन साउण्ड रेकर्डिष्टको विशेष भूमिका हुन्छ : किशोर थापा, साउण्ड रेकर्डिष्ट

  POSTED ON : बैशाख ११, २०७८ (८:१६ AM)

सपाट आवाजलाई अझ राम्रो बनाउन साउण्ड रेकर्डिष्टको विशेष भूमिका हुन्छ : किशोर थापा, साउण्ड रेकर्डिष्ट

एउटा राम्रो सिर्जना दर्शकसम्म आइपुग्दा पर्दामा देखिने र पर्दापछाडिका थुप्रै कलाकारहरूको मिहिनेत रहेको हुन्छ । पर्दामा राम्रो प्रस्तुतिका लागि पर्दापछाडि धेरैको मिहिनेत र पसिना सिञ्चन हुने गर्दछ । यस्तै पर्दा पछाडि रहेर आफ्ना क्रियसनहरू दर्शकमाझ पस्किरहनु भएको नाम हो– किशोर थापा । २०५५ सालदेखि गीत संगीतको मिक्सिङ तथा माष्टरिङको काम सुरु गर्नुभएको थापाले अहिलेसम्म आइपुग्दा हजारौ गीतमा मिक्सिङ तथा माष्टरिङको कार्य गर्नुभएको छ । यो क्षेत्रमा सबैभन्दा राम्रो साउण्ड रेकर्डिष्टको नाम दर्ज गराउन सफल थापाले थुप्रै पुरस्कार, सम्मान र अवार्ड चुम्न सफल हुनुभएको छ । फत्तेमान राजभण्डारीदेखि पछिल्लो पुस्ताका गायक तथा सङ्गीतकारसम्म काम गर्नुभएका किशोर थापासँग हिमालय टाइम्सको हिँड्दा हिँड्दैका लागि कृष्ण भुसालले गर्नुभएको कुराकानी :

यतिबेला के गर्दै हुनुहुन्छ ?

म गीत संगीतकै क्षेत्रमा नै छु । यसैका काममा आफूलाई संलग्न गराउँदै आएको छु । सर्जजकहरूका प्रस्तुतिलाई अझ राम्रो बनाउने कार्यमा तल्लिन छु । 

कहिलेदेखि हुनुहुन्छ यो क्षेत्रमा ? 

म ०५५ सालदेखि रेकर्डिङ, मिक्सिङ तथा माष्टरिङ कार्यमा आफूलाई निरन्तर प्रस्तुत गर्दै आइरहेको छु । 

सामाजिक कार्यमा पनि हुनुहुन्छ ?

हामी जुन समाजमा छ त्यो समाजका लागि केही न केही योगदान पु¥याउनु हामी सबैको दायित्व हो मैले पनि त्यही गरिरहेको हुँ । मलाई के लाग्छ भने समाजमा रहेपछि समाजका केही दायित्वहरू निर्वाह गर्नुपर्ने हुन्छ । त्यो पूरा गर्ने कोशिस गरिरहेको हुन्छु ।

अहिलेसम्म आउँदा को–को स्रष्टासँग काम गर्नुभयो ? 

धेरै स्रष्टा सर्जकसँग काम गर्ने अवसर जुट्यो । मैले आदरणीय गायक भत्तेमान राजभण्डारीदेखि पछिल्लो पुस्ताका गायक तथा सङ्गीतकारसम्म काम गरिरहेको छु । 

संघ संस्थामा पनि रहेर काम गरिरहनु भएको छ ?

मेरो क्षेत्रसँग सम्बन्धित संघ–संस्थामा रहेर काम गरिरहेको छु । रेकर्डिष्ट एसोसिएसनको महासचिव, गीतकार, सङ्गीतकार संघको आजीवन सदस्य । यस्तै, अन्य संघ संस्थामा पनि संलग्न छु ।

सम्मान, पुरस्कार अवार्ड पनि धेरै नै हात पार्न सफल हुनुभएको छ ?

यो धेरै नै हात पार्न सफल हुनुभएको छ भन्दा पनि काम गर्दै जादा मेरा कर्मले वाहीवाही बटुल्दै गर्दा मान, सम्मान र पुरस्कारहरू प्राप्त भएका छन् । इमेज अवार्ड, म्युजिक खबर म्युजिक अवार्ड, राष्ट्रिय राप्ती म्युजिक अवार्डलगायत थुप्रै प्राप्त भएका छन् । खुसी लाग्छ यो सबैले । यसले अझै राम्रो काम गरौँ भन्ने हौसलास्वरूप लिएको छु मैले ।

यहाँँ राम्रो रेकर्डिष्टसँगै गीतकारका रूपमा पनि आफ्नो परिचय स्थापित गर्न सफल हुनुहुन्छ ? 

म व्यावसायिक रूपमा साउण्ड रकेर्डिष्ट नै हुँ । मेरो अर्को लगावको क्षेत्र भनेको गीत लेखन पनि हो । केही रकेर्ड भएका पनि छन् । 

कतिजति गीत लेख्नुभयो होला, कस्ता गीत लेख्न मनपर्छ ? 

दुई दर्जनभन्दा बढी गीत लेखियो होला । अलिक बढी आधुनिक गीत लेखेको छु । 

कस्ता विषयले गीत लेख्न प्रेरित गर्छ ?

गीत लेख्न प्रेरित गर्ने यस्तै विषय हुन्छ भन्ने लाग्दैन । देखेका, भोगेका कुराहरूले हृदयमा जब छोइन्छ । केही अनुभूति हुन्छ र लेखूँ लेखूँ लाग्छ अनि गीत लेख्ने गर्छु । लेख्छु भनेर लेख्दिनँ जब हृदयले लेख भन्छ अनि अलिकति मस्तिष्क मिसाएर गीत लेख्छु ।

प्रतिक्रिया चाहिँ कस्तो पाउनुभएको छ ?

मेरो जति पनि बनि सकेको छ त्यसको प्रतिक्रिया चाहिँ श्रोताहरूबाट राम्रै आएको छ । धेरै श्रोताले रुचाइदिनुभएको छ । समग्रमा सबैले मन पराइदिनुभएको छ । खुसी लाग्छ ।

तपाईं आफूलाई कस्ता गीत बढी मनपर्छ ?

मन त सबै प्रकारका गीत मनपर्छ तर आधुनिक गीत अलिक बढी सुन्छु । 

निकै व्यस्त हुनहुुन्छ ?

फुर्सद अलि कम हुने गर्छ । तर, फुर्सदलाई पनि विशेष काममा नै सदुपयोग गर्छु ।

साउण्ड रेकर्डिष्टका रूपमा लामो समयदेखि हुनुहुन्छ, आम पाठकले बुझ्ने गरी भन्नुहोस् न यो साउण्ड रेकर्डिष्ट भनेको के हो ? 

यो साउण्ड रेकर्डिष्ट भनेको साउण्ड इञ्जिनियरङको एक पाटो हो । चलचित्र वा गीतको रेकर्डिङ, मिक्सिङ तथा रिप्रोडक्सनसँग जोडिएको विषय हो । यो क्षेत्र अरू क्षेत्रभन्दा चुनौतीपूर्ण रूपमा रहेको हुन्छ । तर, धेरै राम्रो क्षेत्र पनि हो यो । स्पीच, म्युजिक र स्टुडियोको साउण्डलाई हाई क्वालिटी बनाउनु हो । यसका लागि चलचित्र, रेडियो र टेलिभिजनमा धेरै प्रकारका टेक्निकल इस्टुमेन्ट प्रयोग गर्ने गरिन्छ । साउण्ड रेकर्डिष्टले सपाट आवाजलाई खुबसुरत बनाउन विशेष भूमिका निभाउने गर्दछन् । गीतको ठहराव र गतिलाई नियन्त्रित गर्ने गर्दछन् । 

यहाँ एक सफल का साथै सबैको रोजाइमा पर्न सफल साउण्ड रेकर्डिष्टका रूपमा हुनुहुन्छ, सफलताले मान्छेले कस्तो बनाउँछ ? 

काम गर्दै जाँदा धेरैले मन पराउनुभएको छ । मलाई के लाग्छ भने सफलताले मान्छेलाई सहिष्णु र विनम्र बनाउँछ । अझै राम्रो कसरी गर्ने भन्ने चिन्ता चाहिँ हुन्छ । म सीमित सफलतामा रमाएर बस्ने र केही समस्या हुँदा अत्तालिने गर्दिनँ । अझ राम्रो कसरी गर्र्न सकिन्छ भन्नेमा नै आफूलाई लगाइरहन्छु ।

अन्त्यमा केही छ कि ? 

मलाई सम्झेर यो हिँड्दा हिँड्दैमा केही प्रश्न राखेर मेरा केही कुरा सार्वजनिक गर्ने मौका दिनुभयो खुुसी छु । यो विपत् र महामारीमा सबै दाजुभाइ दिदीबहिनीमा स्वस्थताको कामना गर्दछु । रोगबाट आफू पनि बचौं अरूलाई पनि बचाऔं भन्न चाहन्छु । कोविड–१९ पोजेटिभ नै देखिएका आफन्त र साथीहरूप्रति पनि मानवीय व्यवहार गरौं । संवादको यो अवसरका लागि यहाँलाई हार्दिक धन्यवाद ।


Views: 70