15th June | 2021 | Tuesday | 10:00:43 AM

महामारीमा कलाकारको कर्तव्य

गोपिकृष्ण चापागाईं   POSTED ON : बैशाख ३१, २०७८ (८:४७ AM)

महामारीमा कलाकारको कर्तव्य

काठमाडौं । नेपालमा दिनप्रतिदिन कोभिड १९ (कोरोना भाइरस)को संक्रमण तीव्र रूपमा फैलिरहेको छ । दैनिक डेढसय बढीले ज्यान गुमाइरहेको र झण्डै १० हजारको दरले संक्रमण भइरहँदा सरकारलाई व्यवस्थापन गर्न हम्मे परिरहेको छ । सरकारले स्थानीयस्तरबाट जनतालाई आफ्नो सुरक्षा आफंै अपनाउन बारबार आग्रह गरिरहेको छ । सुरक्षा अपनाउँदै गर्दा भइरहेको संक्रमण दर उच्च हुँदा देशभरका अस्पतालमा बेडको संख्या अभाव भइरहेको छ । अक्सिजन ग्यासका सिलिण्डर नपाउँदा विदेशी देशलाई सहयोगको अपिल गरिरहेको छ । दिनप्रतिदिन संक्रमण एकको दुई हुँदै फैलिनुमा जनता आफैं सचेत नहुनु मुख्य दोष मान्न सकिन्छ । सचेतनाको कमी तथा मनोमानी गरेको देखिन्छ । 

सरकारले सञ्चारमाध्याममार्फत सूचना जारी गरिरहँदा अझै गाउँ दूरदराजका जनतामा शिक्षाको कमी छ । यो संक्रमण कसरी फैलिन्छ र कसरी संक्रमणबाट जोगिन सकिन्छ भन्नेमा ज्ञानको कमी छ । सरकारले मात्र नभई विभिन्न बौद्धिक, प्रतिष्ठित तथा कलाकारले यो विषयमा सचेतना फैलाउनुपर्ने हुन्छ । समाजमा कहलिएका व्यक्तित्व तथा कलाकारबाट सम्प्रेषित कुनै सूचना आममानिसले छिटो ग्रहण गर्ने भएकाले कलाकारहरूको भूमिका विशेष रहन सक्छ । 

राष्ट्रलाई अप्ठ्यारो परेको अवस्थामा राष्ट्रका गहना मानिने कलाकारहरू आफ्नो क्षेत्रबाट विभिन्न सन्देश प्रभाव गर्नुपर्ने हुन्छ । गायन क्षेत्रमा रहेकाले गीत गाएर तथा अभिनयमा रहेकाले विभिन्न नाटकको माध्यमबाट सूचना प्रभाव गर्नुपर्ने हुन्छ । यसैबीच नेपालमा फैलिरहेको कोरोना संकटकाबीच केही कलाकारहरूले आफ्नो कर्तव्य निभाइरहेको देखिन्छ तर कतिपय कलाकार पनि अहिलेको विषयमा केही चुई पनि बोलेको पाइँदैन । 

नेपालका निकै लोकप्रिय कलाकारहरू महजोडी अथात् मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्यले कोरोना कहरमा समय–समयमा सकारात्मक सन्देश प्रवाह गरिरहनु भएको छ । हरिवंश आचार्यले केही दिनअघिमात्रै गीत गाउनुभएको थियो । कोरोनाबाट बच्न सकिने उपायहरू गीतमार्फत सन्देश फैलाइएको थियो । पहिलो चरणको कोरोना कहरमा हरिवंश दम्पतीनै संक्रमित हुनुभएको थियो भने अहिले दोस्रो चरणको कोरोना कहरमा मदनकृष्ण श्रेष्ठसहित परिवारका सदस्यनै कोरोनाबाट संक्रमण हुनुभयो । यसका साथै उहाँहरूले भोगेका अनुभव साट्दै सामाजिक सञ्जालमार्फत सन्देश दिइरहनुभएको छ ।

यस्तै अभिनेता राजेश हमाललाई जनताले महानायकका उपाधि दिएका छन् । अभिनेता हमालबाट जनताले धेरै अपेक्षा गरेका हुन्छन् । आर्थिक सहयोगमा अग्रसर नभए पनि हमालले सामाजिक सञ्जालमार्फत सुरक्षित रहन आग्रह गरेको देखिन्छ । तर अभिनेता हमालले एक आग्रह कलाकारहरू भएको हिसाबमा जति गर्नुपर्ने हो त्यो सहयोग खासै देखिन्न । यस्तै नेपाली चलचित्रक्षेत्रका निर्माता तथा कलाकार दीपकराज गिरीले सामाजिक सञ्जालमा सकारात्मक कुराहरूमात्र गर्ने भन्दै स्टाटस राख्नुभएको छ । युवापुस्ताका लोकप्रिय नायक पल शाह केही दिनयता लगातार फिल्डमा उत्रिनुभएको छ । अर्थात् अस्पतालहरूमा अक्सिजन सिलिन्डरको अभाव भइरहँदा ‘हाम्रो टिम नेपाल’ समूहसँग मिलेर पलले अक्सिजन सिलिन्डर उपलब्ध गराइरहनुभएको छ । एक कलाकार भएर देश तथा जनताका लागि सोचेको भन्दै दर्शकले सरहानिय काम भन्दै प्रसंसा तथा धन्यवाद दिएका छन् । यो टिममा गायक तथा मोडल दुर्गेश थापा पनि सक्रिए हुनुहुन्छ । 

गायक सम्राट चौलागाईं र मेरी बास्सैका कलाकार कृष्ण जोशी (वन काइला)ले संयुक्तरूपमा मिलेर विपन्नलाई खाद्यान्न वितरण सुरु गर्नुभएको छ । हास्य कलाकार सीताराम कट्टेल (धुर्मुस) र कुञ्जना घिमिरे (सुन्तली)ले यसअघिको पहिलो चरणको कोरोना कहरको लकडाउनमा घरमै रहेर विभिन्न भिडियो सन्देश बनाउनु भएको थियो । 

यसरी हेर्दा केही कलाकारहरू यस्तो अवस्थामा आफ्नो कर्तव्यबाट नजिक रहेर सहयोग गरिरहनुभएको छ भने कतिपय चर्चित तथा लोकप्रिय कलाकार गुपचुप बसेको देखिन्छ । हुन त यस्तो बेला भीडभाड नगर्ने र घरबाहिर ननिस्किने भनेर सरकारले आग्रह गरेपछि घरमा बसेर साधारण भिडियोको माध्यमबाट आममानिसमा दिन सकिने सूचना धेरै कलाकारले दिएको देखिन्न ।

युवास्टार अनमोल केसी, प्रदीप खड्कालगायत स्टारहरूबाट एक भिडियो सन्देश तथा स्टाटस लेखिएको देखिँदैन । यस्तै अभिनेता भुवन केसीसँगै लोकप्रिय गायकहरू शम्भुजित बास्कोटा, प्रमोद खरेल, शिव परियार, गायिका अञ्जु पन्त, मेलिना राईलगायत दर्शकमाझ लोकप्रिय दर्जनौं कलाकार मौन बसेको देखिन्छ । 


Views: 76