21st June | 2021 | Monday | 12:21:21 PM

चलचित्रकर्मीलाई खोप उपलब्ध गराउने स्वास्थ्य मन्त्रीको प्रतिबद्धता

हिमालय टाइम्स   POSTED ON : जेठ २७, २०७८ (८:२२ AM)

चलचित्रकर्मीलाई खोप उपलब्ध गराउने स्वास्थ्य मन्त्रीको प्रतिबद्धता

नवनियुक्त स्वास्थ्य मन्त्री शेरबहादुर तामाङले नेपाली चलचित्रकर्मीलाई कोरोनाको खोप उपलब्ध गराउने प्रतिबद्धता जनाउनु भएको छ । चलचित्र विकास बोर्डका सदस्य तथा अभिनेता राज कटुवालले गत शुक्रवार स्वास्थ्य मन्त्रालयमा तीन हजार फिल्मकर्मीलाई कोभिड खोप उपलब्ध गराउन माग गर्दै ज्ञापन पत्र बुझाउनु भएको थियो । तर, सोही साँझ स्वास्थ्य मन्त्री हेरफेर भएपछि बुधबार बोर्ड अध्यक्ष दयाराम दाहाल र सदस्य राजले नवनियुक्त स्वास्थ्य मन्त्री तामाङसँग भेट गरेर खोपको माग गर्नुभएको हो । 

फिल्मकर्मीलाई कोभिड खोप उपलब्ध गराउन मन्त्री सकारात्मक रहेको बोर्ड सदस्य कटुवालले बताउनुभएको छ । मन्त्री तामाङले एक साताभित्र आउने नयाँ खोप फिल्मकर्मीलाई उपलब्ध गराउने प्रतिबद्धता जनाएको उहाँको भनाइ छ । ‘बोर्डले तीन हजार खोप माग गरेको हो । त्यसमा थपघट हुनसक्छ । एक हप्ताभित्र फिल्मकर्मीले कोभिड खोप पाउनेमा बोर्ड पूर्ण विश्वस्त छ,’ उहाँले भन्नुभएको छ ।

कोरोनाले सबैभन्दा प्रभावित फिल्म क्षेत्र भएकाले सरकारले खोपको प्राथमिकतामा फिल्मकर्मीलाई राख्नुपर्ने उहाँको भनाइ छ । कोरोनाको दोस्रो लहर सुरु भएसँगै सरकारले फिल्म निर्माण, प्रदर्शन र वितरणमा पूर्णरूपमा रोक लगाएको छ ।


Views: 68