‘आँधी तुफान-२’ को छायाँकन पुनः सुरु

हिमालय टाइम्स   POSTED ON : श्रावण १२, २०७८ (७:०० AM)

‘आँधी तुफान-२’ को छायाँकन पुनः सुरु

काठमाडौं । चलचित्र ‘आँधी तुफान-२’ को छायाँकन पुनः सुरु गरिएको छ । कोरोनाको दोस्रो लहर सुरु भएसँगै गरिएको निषेधाज्ञाका कारण बीचमै रोकिएको चलचित्र ‘आँधी तुफान–२’ को छायाँकन पुनः सुरु गरिएको हो । मौनता श्रेष्ठको लेखन एवं निर्माण रहेको यो चलचित्रकोे छायाँकन आइतबारदेखि पुनः सुरु गरिएको छ । ‘१५ प्रतिशतमात्रै छायाँकन गरेपछि निषेधाज्ञाका कारण छायाँकन रोक्नुपरेको थियो,’ मौनताले भन्नुभयो, ‘अब छायाँकन पूरा सक्ने तयारीका साथ निस्किएका हौं ।’ सोमबार काभ्रेको धुलिखेल आसपासमा छायाँकन भइरहेको श्रेष्ठले बताउनुभयो । 

१४ वर्षअघि महेन्द्र बुढाथोकीको निर्देशनमा तयार भएको ‘आँधी तुफान’ को सिरिजका रूपमा ‘आँधी तुफान–२’ को निर्माण गरिएको हो । 

मदन घिमिरेको निर्देशन रहेको चलचित्रमा आरती आचार्य, सोनी बिसी, याङसु श्रेष्ठ, रवि गिरी, धु्रव कोइराला, कनिज कोइराला, अनामिका कार्कीलगायतको अभिनय रहनेछ । चलचित्रको निर्मातामा चक्र घर्तीमगर हुनुहुन्छ । चलचित्रमा रामशरण उप्रेतीको छायाँकन, सुरेश अधिकारीको संगीत र कमल राईको नृत्य रहनेछ ।


Top