हनी सिंहमाथि पत्नीले लगाइन् घरेलु हिंसाको मुद्दा

एजेन्सी   POSTED ON : श्रावण २१, २०७८ (७:४९ AM)

हनी सिंहमाथि पत्नीले लगाइन् घरेलु हिंसाको मुद्दा

मुम्बई । लोकप्रिय र्‍यापर हनी सिंह अर्थात् हृदयेश सिंहविरुद्ध उहाँकी पत्नी शालिनी तलवारले घरेलु हिंसाको मुद्दा दर्ता गर्नुभएको छ । तलवारले दिल्लीको तीस हजारी कोर्टमा मुद्दा दर्ता गर्नुभएको हो । उहाँले घरेलु हिंसाबाट महिलाको सुरक्षा अधिनियमानुसार मामिला दर्ता गरेको बताइएको छ । मुद्दालाई मंगलबारै मुख्य मेट्रोपोलिटन मेजिष्ट्रट तानिया सिंहको कोर्टमा पेसी चढाइएको थियो ।

अदालतले हनी सिंहलाई यस विषयमा २८ अगस्तसम्म जवाफ दिन नोटिस जारी गरेको छ । अदालतले शालिनी तलवारको पक्षमा अन्तरिम आदेश जारी गरेको छ । जसमा हनी सिंहको पत्नीसँग संयुक्त स्वामित्वको सम्पत्ति बेचबिखनमा रोक लगाइएको छ । वकिलहरू सन्दीप कपुर, अपूर्व पाण्डे र जिजी कश्यपले तलवारको पक्षबाट मुद्दा दायर गर्नुभएको थियो । 

हनी सिंह र शालिनी तलवारको सन् २०११ मा दिल्लीस्थित एक गुरुद्वारामा विवाह भएको थियो । सन् २०१४ मा इण्डियाज रकस्टार नामक रियालिटी शोमा हनी सिंहले आफ्नो पत्नीलाई सबैलाई चिनाउनु भएको थियो । पत्नी तलवारले हनी सिंहमाथि शारीरिक र मानसिक हिंसाको आरोप लगाउनु भएको छ ।


Top