‘सक्किगोनी’का पाँडेको भित्र पीडा बाहिर हाँसो

गोपिकृष्ण चापागाईं   POSTED ON : आश्विन ९, २०७८ (७:०० AM)

‘सक्किगोनी’का पाँडेको भित्र पीडा बाहिर हाँसो

काठमाडौं । अहिलेको नेपाली टेलिसिरियल क्षेत्रको लोकप्रिय टेलिशृंखला हो ‘सक्किगोनी’ । नेपाल टेलिभिजन हुँदै पछिल्लो समय हिमालय टेलिभिजनमार्फत् प्रसारण हुँदै आइरहेको ‘सक्किगोनी’ मा सबैजसो कलाकार उत्तिकै चर्चामा हुनुहुन्छ । त्यसमध्येको विशेष पात्र हुनुहुन्छ पाँडे । पाँडेको भूमिकामा अर्जुन हुनुहुन्छ । उमेरले युवा भए पनि पर्दामा वृद्धको भूमिकामा देखिनुभएका अर्जुनको पाँडे भूमिका अत्यधिक लोकप्रिय छ । ‘सक्किगोनी’ मा उटपट्याङ गर्ने पाँडेको शैलीलाई दर्शकले अत्यधिक मन पराइरहेका छन् ।

पाँडेलाई पछिल्लो चार महिनादेखि दर्शकले ‘सक्किगोनी’ मा देख्न पाएका छैनन् । प्रत्येक भागमा केही न केही बिठ्याइँ गरेर दर्शकलाई मनोरञ्जन दिइरहने पाँडेलाई एक भागमा पनि देख्न नपाउँदा दर्शकले प्रश्न गर्ने गर्थे । तर, पछिल्लो चार महिनाका १३ वटा भागमा लगातार पाँडे दर्शकसमक्ष देखिनुभएन । सामाजिक सञ्जाल तथा युट्युबमा राखिएको ‘सक्किगोनी’ को कमेन्टमा निकै प्रतिक्रिया आइरहे, ‘पाँडेबिनाको सक्किगोनी नुनबिनाको तरकारी भयो, छिटो चाहियो ।’

दर्शकलाई भने पाँडे अर्थात् अर्जुनमा के बितिरहेको छ पत्तो थिएन । साढे चार महिनादेखि अर्जुनकी आमा अचेत अवस्थामा अस्पतालको बेडमा हुनुहुन्छ । आमाको उपचार र हेरविचारमा अर्जुन अस्पतालमै बस्न थालेको चार महिना भइसक्यो । पारिवारिक समस्याका कारण अर्जुन ‘सक्किगोनी’ मा आउन सक्नुभएन तर दर्शकमा त्यो कुरा जानकारी नहुँदा कतिले पाँडेले ‘सक्किगोनी’ छाडेका हुन् कि टिमसँग मनमुटाव भयो कि भनिरहे । हुन त अर्जुनले केही भागमा आफूलाई दर्शकले नदेख्दा खल्लो मानिरहेका छन् भन्ने बुझेपछि आफ्नो सामाजिक सञ्जाल फेसबुकमार्फत् जानकारी गराउनुभएको थियो । तर, फेसबुकमा जोडिएका बाहेक सबैलाई उक्त जानकारी हुन सकेको थिएन । अर्जुनकी आमालाई मस्तिष्कघात भई  अहिले पनि काठमाडौं वसुन्धरास्थित ग्रिनसिटी अस्पतालको भेन्टिलेटरमा उपचाररत हुनुहुन्छ ।

यस्तै क्रममा गएको बुधबार अर्जुन ‘सक्किगोनी’ को छायांकनस्थलमा देखिनुभयो । हाम्रो टिम छायांकनस्थलमा पुग्दा अन्य समयको जस्तो उहाँको अनुहारमा खुसी थिएन । आमालाई अस्पतालको बेडमै राखेर छायांकनमा आउनुभएका अर्जुन अभिनयसँगै निर्देशनमा व्यस्त हुनुहुन्थ्यो । भाग २२ बाट नदेखेका दर्शकले एकैपटक भाग ३५ मा आएर देख्न पाएका थिए । अर्जुनको अभिनय रहेको पछिल्लो भाग गएको बिहीबार प्रसारण भएको थियो ।

‘अहिले पनि आमाको स्वास्थ्यमा कुनै सुधार आएको छैन तर दर्शकहरूबाट पाँडेको खोजी अत्यधिक भएपछि आउनुपर्छ भन्ने लाग्यो । अस्पतालमा दाइहरूलाई राखेर म छायांकनमा आएको हुँ,’ अर्जुनले बुधबार चाबहिलको छायांकनस्थलबाट हिमालय टाइम्ससँग कुरा गर्दै भन्नुभयो, ‘अब निरन्तर आउने प्रयासमा हुन्छु तर आमाको स्वास्थ्य अवस्था कस्तो हुन्छ भन्नेमा भर पर्छ ।’ पछिल्लो भागको छायांकन मंगलबार काभ्रेमा र बुधबार चाबहिलमा गरिएको थियो । 

छायांकनमा दुई दिन खटिइरहँदा आमाको याद निकै आइरहेको भन्दै उहाँ केही भावुक पनि हुनुभयो । अर्जुन आमाको अवस्था आँखामा झल्झल्ती र मनमा पीडा लिएर पर्दामा हँसाउनका लागि क्यामेराअगाडि हाँसिरहनुभएको थियो । अर्जुन अघि भन्नुहुन्छ, ‘बिहान दिउँसो बेलुका गर्दै आमालाई हेरिरहेको आज दुई दिन भयो हेर्न पाएको छैन । गाह्रो भइरहेको छ । मन सबै अस्पतालमा छ । तर पनि काम हो गर्नैपर्छ ।’ उहाँले तनावका कारण एकैपटकमा बोल्नुपर्ने डाइलग तीन-चार पटकसम्म पनि लिनुपरेको बताउनुभयो । भाग ३५ का लागि छायांकन गरिरहनुभएका अर्जुनको उक्त भाग पनि गएको बिहीबार प्रसारण भइसकेको छ । यसपटकको भागमा पाँडेले गलत तरिकाले काठमाडौंमा एक आयुर्वेद औषधिको काम गरेर बसेको देखाइएको थियो ।

छायांकनस्थलमै रहनुभएका अर्का कलाकार कमलमणि नेपालले अन्य समयको छायांकनको बेलाजस्तो यसपटक खुसीयाली नभएको बताउनुभयो । ‘हामी सुटिङमा धेरै रमाइलो गथ्र्यौं तर अहिले अर्जुनजीकी आमाको स्वास्थ्यमा कुनै पनि सुधार नआउँदा खुसी हुने अवस्थै छैन,’ कमलमणिले भन्नुभयो, ‘सक्कगोनीका मुख्य कलाकार अर्जुन नै हुनुहुन्छ । त्यसैले उहाँलाई दर्शकले अत्यधिक खोजिरहेका छन् ।’ अर्जुनलाई निर्देशनमा अर्का कलाकार हरिश निरौला र कुमार कट्टेलले साथ दिनुभएको छ । अर्जुनको अनुपस्थितिमा कुमार र हरिशले नै कथालेखन र निर्देशनको काम गर्नुभएको थियो । 

प्रस्तुतिः गोपिकृष्ण चापागाईं

Top