फिल्मी शैलीमा इन्दिराको इन्गेजमेन्ट

हिमालय टाइम्स   POSTED ON : आश्विन ९, २०७८ (७:०१ AM)

फिल्मी शैलीमा इन्दिराको इन्गेजमेन्ट

काठमाडौं । चर्चित गायिका इन्दिरा जोशीको फेसन डिजाइनर शरद केडियासँग इन्गेजमेन्ट भएको छ । बिहीबार खुम्बु पुगेर इन्दिरालाई शरदले इन्गेजमेन्ट औंठी लगाइदिनुभएको हो । सगरमाथा आधार शिविरमा बिहीबारदेखि सुरु भएको एक फेसन शोमा भाग लिन जानेक्रममा शरदले ‘फिल्मी शैली’ मा घुँडा टेकेर इन्दिरालाई औंठी लगाएको भिडियो क्याप्टेन विवेकले आफ्नो टिकटक खातामा पोस्ट गर्नुभएको छ । 

गत वर्ष इन्दिराले सामाजिक सञ्जालमा प्रेमी (शरद केडिया) ले रिङ लगाइदिएको एक तस्बिर पोस्ट गर्दै आफूहरू विगत दुई वर्षदेखि प्रेममा रहेको जानकारी दिँदै जिन्दगीको अन्तिम सास रहेसम्म एकसाथ रहने वाचा गर्नुभएको थियो । गायिका इन्दिराले शुक्रबार आफ्नो सामाजिक सञ्जाल फेसबुकमा लेख्नुभएको छ, ‘उसले सोध्यो-मसँग विवाह गर्छौं ? मैले भनें, एस ¤ आई लभ यु शरद केडिया, हरेक दिन माया दिएकोमा धन्यवाद । मेरो तारा ।’

इन्दिराले यसअघि पनि लेख्नुभएको थियो, ‘मलाई म तिम्रो स्टार र तिमी मेरो चन्द्रमा भन्छन् । हामी दुई वर्षदेखि एकसाथ छौं र कैयौं वर्षदेखि एकसाथ अगाडि बढ्ने वाचा गरेका छौं ।’ 

‘चौबन्दी चोली अनि रातो घाँघर’ गीतबाट चिनिनुभएकी इन्दिरालाई चलचित्र ‘लुट’ को ‘उध्रेको चोली’ गीतले ठूलो ख्याति दिलाएको थियो । त्यसयता उहाँले एक से एक लोकप्रिय गीतमा आफ्नो आवाज दिइसक्नुभएको छ । इन्दिराका ‘ठूली’ को ‘म त मर्छु क्या हो’, ‘कथा काठमाण्डू’ को ‘रातको कुरा’, ‘प्रेमगीत २’ को ‘मोटरसाइकलमा’, ‘मुखौटा’ को ‘एक चोटिमा’ जस्ता हिट गीत छन् । इन्दिरा नेपाल आइडलको पहिलो र दोस्रो सिजनको निर्णायक पनि हुनुहुन्थ्यो । 


Top