सफलताको बाटोमा सरिता भारती

गोपिकृष्ण चापागाईं   POSTED ON : आश्विन ११, २०७८ (८:०८ AM)

सफलताको बाटोमा सरिता भारती

काठमाडौं । ‘असारै मास साइँला पर्‍यो दर्के पानी, त्यही पानीले भिज्दै लेखिदेउ कहानी’ यो गीत हालैमात्र बजारमा आएको हो । बुढासुब्बा डिजिटलले यस गीतलाई बजारमा ल्याएको हो । राजेन्द्र बजगाईंको संगीतमा तयार भएको यस गीतलाई गायिका सरिता भारती र गायक अलिफ खानले गाउनुभएको हो । काँठे भाकाको यो गीतलाई अहिले निकै मन पराइएको छ । गीतले राम्रो प्रतिक्रिया पाएको छ । यो गीत बजारमा आएपछि काँठे भाकामासमेत गायिका सरिता भारती स्थापित हुनुभयो ।

हुन त यसअघि पनि सरिताले काँठे भाका गाइसक्नुभएको हो । उहाँले अघिल्लो वर्ष नै रेकर्ड गराएर दशैँसम्बन्धी गीत यसपालिको दशैँ...बजारमा ल्याउनुभएको थियो । यो गीत दशैँमा निकै बजेको थियो । बियोगान्त शैलीमा गायिका भारतीको यो पहिलो भाका थियो । यसअघि संयोगान्तमात्र गीत गाउनुभएकी उहाँले वियोगान्त भावमा पनि आफूलाई यस गीतबाट स्थापित गर्नुभयो । सरिताले यस गीतमा अभिनयसमेत गर्नुभएको छ । 

यी दुईमात्र होइन सरिताका थुप्रै लोक शैलीका गीतले श्रोताको मन जित्न सफल भएको छ । पाँच महिनाअघिमात्र सरिताकै स्वरमा देउडा गीत हे गाजली बजारमा आएको थियो । जसमा उहाँलाई हिमालय राजले स्वरमा साथ दिनुभएको थियो । उहाँको हे गाजली गीत नेपाल म्युजिक एण्ड फेशन अवार्डदेखि क्वालिटी इन्टरटेनमेन्ट अवार्डसम्ममा चयन भयो ।

गायिका सरिताले आफूलाई लोक भाकामा स्थापित गर्नुभएको छ । गायन यात्राको यो आधा दशकमा डेढ दर्जन गीत आफ्नो स्वरमा रेकर्ड गराईसक्नुभएको छ । ती सबै लोक शैलीकै छन् । स्टेजबाट गायन यात्रा सुरु गरेको केही वर्षपछि उहाँले आफ्नो स्वरमा पहिलो लोक पप गीत मेरो जवानी बजारमा ल्याउनुभएको थियो । पहिलो गीतबाटै सगरमाथा म्युजिक अवार्डमा उत्कृष्ट डेब्यु लोक पप गायिकाको अवार्ड जित्न सफल भएपछि उहाँको गायन यात्राले फड्को मारेको हो ।

गायनमा चलिआएको पारम्पारिक शैलीभन्दा फरक ढंगले गीत प्रस्तुत गर्नु सरिताको विशेषता छ । विगत गायिकाहरूले दोहोरी साँझमा बसेर गाउने तरिकाले गीत प्रस्तुत गर्दै आएका थिए । तर गायिका सरिताले आफ्ना गीतहरू स्टेजमा आफैंले नाचेर प्रस्तुत गरी दर्शकलाई प्रत्यक्ष नचाउन थाल्नुभयो । यो क्रम अहिले जारी छ र यस्तो शैलीमा उहाँको योगदान रहेको छ । 

यतिमात्र होइन, गायिका सरिताले आफ्ना हरेक गीतको भिडियोमा आफैंले नृत्यसहितको अभिनय गर्दै आउनुभएको छ । पेशाले गायिका भए पनि उहाँ आफैं अभिनयमा स्थापित मोडल र नायिका भन्दा कम हुनुहुन्न । उहाँले आफ्ना लोक भाकाका चर्चित गीतहरू लुडो र तास..., रातो सारी लरक्कै..., पहिलो भेटमै..., यसपालिको दशैँ..., बजाई देउन बाजा..., हे गाजली..., असारै मास (झरी) जस्ता थुप्रै गीतमा आफैंले नृत्यसहित अभिनय गर्नुभएको छ । 

जसमाध्ये उहाँले आफ्नो लोकभाकाको तीज गीत रातो सारी लरक्कैबाट छायाँ छवि तीज गीत अवार्ड र यसपालिको दशैँबाट उहाँले दोस्रो शृंखलाको नाट्यश्वर म्युजिक अवार्ड हासिल गर्नुभएको छ । उहाँले रिवन इन्टरटेनमेन्टबाट राष्ट्रिय संगीतकर्मी सम्मान, रोज सीप विकास तालिम केन्द्रबाट राष्ट्रिय गायिका सम्मान, नेशनल पावर मिडियाबाट राष्ट्रिय श्रष्टा सम्मानसहित विभिन्न सम्मान हासिल गरिसक्नु भएकी सरिता आफ्नो गायन कर्ममा विश्वास गर्ने बताउनुहुन्छ । 

अवार्डबारे सरिताले भन्नुभएको छ, ‘पहिलो गीतबाटै नवगायिकाको अवार्ड जितेपछि गायनमा ऊर्जा थपिएको हो । यसपछि पनि गायनबाट प्राप्त अवार्ड सम्मान र राम्रो कमाइले गायनमा निरन्तर लागिरहेको छु ।’ संगीतकार दीपक शर्माको शब्द तथा संगीत र राजेन्द्र बजगाईंको संगीत संयोजनमा गायिका सरिताको नयाँ गीत सुन मायाँ बजारमा आउँदैछ । उहाँको लोकशैलीको यो गीत हालै रेकर्ड भएको छ । अब यो गीतको भिडियो दशैँपछि बजारमा आउने उहाँले बताउनुभएको छ । 


Top