नेशनल डेल्फिक काउन्सिल स्थापना

हिमालय टाइम्स   POSTED ON : आश्विन २६, २०७८ (७:१९ AM)

नेशनल डेल्फिक काउन्सिल स्थापना

काठमाडौं । कला, संस्कृतिमा आधारित खेलकुद तथा कलाका विभिन्न विधाहरूलाई विश्वमाझ चिनाउने प्लेटफर्मको रूपमा उदाएको ‘अन्तर्राष्ट्रिय डेल्फिक काउन्सिल’ को नेपाल च्याप्टर ‘नेशनल डेल्फिक काउन्सिल नेपाल’ स्थापना भएको छ । आइतबार राजधानीमा एक कार्यक्रमबीच उक्त काउन्सिल नेपालमा स्थापना भएको जानकारी गराइयो । श्रीदेव बिएलको नेतृत्वमा काउन्सिलको नेपाल कार्यसमिति गठन भएको हो ।

‘नेशनल डेल्फिक काउन्सिल नेपाल’को उपाध्यक्षमा जीवनकुमार पराजुली, महासचिवमा नरेशध्वज श्रेष्ठ, सचिवमा सूर्यबहादुर रासकोटी, कोषाध्यक्षमा सवेरा नकर्मी श्रेष्ठ, सदस्यहरूमा शारदा खड्का अर्याल र दीपक विष्ट गौली रहनुभएको छ । त्यस्तै, सल्लाहकारमा संस्कृतिविद् बदनलाल न्याछोर, पर्यटनविद् तथा नेपाल पर्यटन बोर्डका पूर्वनिर्देशक कृष्णकुमार अर्याल, नेपाल पर्यटन बोर्डका पूर्वसिइओ दीपकराज जोशी, अधिवक्ता सर्वज्ञराज नायो, कानुनी सल्लाहकारमा आशिष शर्मा रहनुभएको छ ।

जर्मनीको बर्लिनमा ‘अन्तर्राष्ट्रिय डेल्फिक काउन्सिल’को हेडक्वाटर छ । यसका संस्थापक तथा सेक्रेटरी जनरल क्रिष्टियन बि.कर्ष हुनुहुन्छ । कर्षले नेपाल च्याप्टरलाई बधाई र सफलताको भिडियो सन्देश पठाउनुभएको थियो । कार्यक्रममा प्रस्तुत सन्देशमा उहाँले सोह्र सय वर्षदेखि शून्य अवस्थामा रहेको डेल्फिक काउन्सिललाई तीस वर्ष अगाडि पुनः सुचारु गरेको तथा तीस वर्षमा नेपालसम्म आइपुगेकोमा खुशी व्यक्त गर्नुभयो । प्राचीन समयमा ग्रीसबाट ओलम्पिकसँगै सुरु भएको डेल्फिक विभिन्न कारणले बन्द भएको थियो । प्राचीन ग्रीसका शासकहरूद्वारा यी दुवैमाथि रोक लगाइएको थियो । ओलम्पिक सन् १८९४ मा पुनः सुरु भयो भने डेल्फिक त्यसको एक सय वर्षपछि सन् १९९४ मा पुनः सुचारु भएको थियो । प्राचीन ग्रीसको डेल्फी भनिने स्थानबाट डेल्फिक सुरु भएको मानिन्छ । 

त्यस्तै, चलचित्र क्षेत्रबाट नेपालको पहिलो नायिका भुवन चन्द, हास्य साम्राज्ञी वसुन्धरा भुसाल, वरिष्ठ अभिनेत्रीहरू मिथिला शर्मा, शर्मिला मल्ल र सूर्यमाला खनाल, वरिष्ठ अभिनेताहरू शिव श्रेष्ठ, भुवन केसी, धीरेन शाक्य, सरोज खनाल र कृष्ण मल्ल, कलाकार संघका अध्यक्ष रविन्द्र खड्का र वरिष्ठ निर्देशक मोहन निरौललाई मानार्थ सदस्यता प्रदान गरियो भने चित्रकलाबाट जया शर्मा, जात्रा तथा संस्कृतिविद् मनोज नेवा र उपन्यासकार निजिरोष श्रेष्ठलाई मानार्थ सदस्यता प्रदान गरिएको छ । 

काउन्सिलको सद्भावनादूतको रूपमा वरिष्ठ कलाकार क्याप्टेन विजय लामा नियुक्त हुनुभएको छ । नेपालसहित यो काउन्सिलको १ सय ४७ देशमा स्थापना भइसकेको छ ।

Top