तेस्रो पूर्वाञ्चल लिटिल स्टार हुने

हिमालय टाइम्स   POSTED ON : कार्तिक ९, २०७८ (७:०१ AM)

तेस्रो पूर्वाञ्चल लिटिल स्टार हुने

काठमाडौं । ‘पूर्वाञ्चल लिटिल स्टार’ तेस्रो संस्करण पुनः सुरु हुने भएको छ । पहिलो अडिशन सक्काएर दोस्रो अडिशनको तयारीमा आयोजक टिमहरू जुटेका छन् ।

इटहरीमा पूर्वलाइन मिलन चोकमा अवस्थित पूर्वाञ्चल इन्ष्टिच्युट अफ फिल्म एण्ड टेलिभिजनको सभा हलमा अडिशन हुँदैछ । यस्तै धरानमा महेन्द्र पथमा अवस्थित मुनाल सांस्कृतिक कला केन्द्रको सभा हल, विराटनगरमा जलजला चोकमा अवस्थित डेजल म्युजिक एण्ड फिटनेसको सभा हल र विर्तामोडमा भद्रपुर रोडको अन्नपूर्ण चोकमा अवस्थित साई प्यालेसमा अडिशनको तय गरिएको हो । 

तेस्रो संस्करणको अडिशन यही कात्तिक १३ गते हुने बताइएको छ । चारवटै ठाउँमा एकैदिन अडिशन हुन लागेको हो । संस्करणको सेमिफिनाले भने प्रदेश-१ को चार ठाउँमा हुने बताइएको छ । जहाँबाट छानिएका उत्कृष्टलाई फाइनल प्रतिस्पर्धामा लगिनेछ । चार ठाउँबाटै छानिएका उत्कृष्ट प्रतिस्पर्धीबाट एक बृहत् कार्यक्रमको आयोजना गरी पूर्वाञ्चल लिटिल स्टार तेस्रो संस्करणको विजेता घोषणा गरिने आयोजकले जनाएको छ ।

विजेताले ५१ हजार नगद पुरस्कार वा दुई लाख बराबरको म्युजिक एल्बमको मौका पाउनेछन् । त्यस्तै प्याजेण्टमा सहभागी सम्पूर्णले हिन्दी गीतको अफिसियल म्युजिक भिडियोमा अभिनय गर्ने मौका पाउनेछन् । यस्तै यही आयोजक कम्पनी साइमन फिल्म्स एण्ड इण्टरटेन्मेण्टले विग बजेटमा निर्माण गर्न लागेको फिल्म ‘प्रधान द लिडर’मा समेत शोका सम्पूर्ण सहभागीले मौका पाउनेछन् । जुन फिल्म नेपाली, हिन्दी, राजवंशी र भोजपुरी गरी चार भाषामा तयार हुँदैछ । यस फिल्मका लागि नेपाली अभिनेता सौगात मल्ललाई आयोजकले अनुबन्ध गर्ने तयारी गरेको छ भने बलिउडका वरिष्ठ अन्नु कपुरलगायत कलाकारहरूको अभिनय रहने आयोजकले जनाएको छ ।


Top