खत्रीको ‘जुलुंगो’लाई युनिसेफ आइरिस अवार्ड

हिमालय टाइम्स   POSTED ON : कार्तिक ९, २०७८ (७:१२ AM)

खत्रीको ‘जुलुंगो’लाई युनिसेफ आइरिस अवार्ड

काठमाडौं । निर्देशक राजेशप्रसाद खत्रीद्वारा निर्देशित फिल्म ‘जुलुंगो’ (अ स्केरक्रो)ले युनिसेफ इनोचेन्टी फिल्म फेस्टिभल २०२१ (युआइएफएफ)मा ‘युनिसेफ आइरिस ७५’ अवार्ड जितेको छ ।

युनिसेफको अनुसन्धान कार्यालय-इनोचेन्टीले आयोजना गरेको महोत्सवले वर्तमान समयमा बालबालिका हुनुको अर्थ के हो भन्ने कुरा कुशलतापूर्वक देखाइएका फिल्महरूको उत्सव मनाउँछ । इटालीको फ्लोरेन्समा २१ देखि २४ अक्टुबरसम्म आयोजित महोत्सवमा २९ देशबाट ३९ वटा फिल्म विशेष प्रदर्शन भएका थिए ।

यस वर्ष महोत्सवको दोस्रो संस्करणमा १ सय १४ देशबाट कुल १७ सय फिल्म प्राप्त भएको आयोजकले जनाएको छ । बालबालिकाबारे सिनेमा निर्माणमा उत्कृष्टताको पहिचान गर्न र संसारभरी बाल्यावस्थालाई विषयवस्तुको रूपमा अन्वेषण गर्न प्रोत्साहित गर्न युआइएफएफले आइरिस अवार्ड स्थापना गरेको हो । 

युनिसेफको ७५औं वार्षिकोत्सवको अवसरमा ‘युनिसेफ ७५ आइरिस’ संसार भरी मनाइने युआइएफएफको उत्कृष्ट सम्मान हो । अन्तर्राष्ट्रिय निर्णायक मण्डलीबाट स्वशिक्षा प्राप्त नेपाली फिल्म निर्माता राजेशप्रसाद खत्रीद्वारा लिखित र निर्देशित ‘अ स्केरक्रो’लाई शीर्ष पुरस्कारका लागि चयन गरिएको थियो । राजेश खत्री एक विद्यालयका शिक्षक पनि हुनुहुन्छ । र उहाँको यस चलचित्रले किशोरीलाई शिक्षा प्राप्त गर्नबाट रोक्ने सांस्कृतिक बाधाहरूलाई सही ढंगले चित्रण गर्छ ।

निर्णायक मण्डलीले ‘ए स्केयरक्रो’लाई भिजुअल सिम्बोलिजम र बालअधिकारसम्बन्धी महासन्धिलाई समर्थन गर्ने महत्वपूर्ण सन्देशको कारण चयन गरेको बताएको छ । निर्देशक खत्रीको यो फिल्मले नेपाल इन्टरनेसनल फिल्म फेस्टिभल (निफ)मा उत्कृष्ट लघु फिल्मको अवार्ड जितेको थियो । यो फिल्म कोरियाको बुसान फिल्म फेस्टिभलमा पनि लघु फिल्म विधामा प्रतिस्पर्धामा रहेको थियो ।


Top