काँडेतारमा रेविका अनुबन्धित

हिमालय टाइम्स   POSTED ON : कार्तिक ९, २०७८ (७:१४ AM)

काँडेतारमा रेविका अनुबन्धित

काठमाडौं । नयाँ चलचित्र ‘काँडेतार’ मा अभिनेत्री रेविका गुरुङ अनुबन्धित हुनुभएको छ । नवल खड्को निर्देशन रहने भनिएको यो चलचित्रको मुख्य अभिनेत्रीको रूपमा गुरुङ फाइनल भएको खड्काले जानकारी दिनुभएको छ । ‘मारुनी’ चलचित्रबाट अभिनयमा डेब्यु गर्नुभएकी रेविकाको यो दोस्रो चलचित्र हो । टिभिसीबाट अभिनयमा डेब्यु गर्नुभएकी उहाँसँग र्‍याम्प सो, टिभिसी र बंगाली म्युजिक भिडियो अभिनय गरेको अनुभव छ ।

चलचित्रको मुख्य भूमिका लागि यसअगाडि अभिनेता गौरव पहारी, रविन्द्र रञ्जन झा, राजेन्द्र भगत, पन्नालाल सिकदार, प्रकाश अनुराग, प्रेम कार्कीलगायत अनुबन्धित हुनुभएको थियो । निर्देशक खड्काको समेत मुख्य अभिनय रहने चलचित्र खड्काले शंकर कार्कीसँग मिलेर बनाउन लाग्नुभएको हो । 

नेपाल र भारतको सीमालाई व्यवस्थापन गर्नुपर्ने कथावस्तुमा निर्माण हुनलागेको चलचित्र राष्ट्रभक्तिले ओतप्रोत हुने निर्देशक नवलको भनाइ छ । यसअघि राष्ट्रियताको बिषयमा दशगजा, भीमदत्तलगायत चलचित्र बनाउनुभएका खड्काले डेढ करोड लागतमा चलचित्र निर्माण गर्न लाग्नुभएको हो । चलचित्रको छायांकन मिति भने तय गरिएको छैन । 


Top